सर्वेन्द्रको पुलिस राजमा यस्तै यस्तै !

सर्वेन्द्रको पुलिस राजमा यस्तै यस्तै !

काठमाडौं, मंसिर १५
महानिरीक्षक सर्वेन्द्रनाथ खनालले नेपाल प्रहरीको मर्यादा र प्रतिष्ठाप्रति आँखा चिम्लिएर दायाँबायाँ हात लम्काएपछि मातहतका प्रहरीले पनि प्रहरीको बर्दीलाई कमाउ धन्दाको रक्षा कवच बनाएका छन् । यसको पछिल्लो उदाहरण कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह । सेवाग्रहीसँग ९० हजार रुपैयाँ घुसा लिँदालिँदै उनी बिहीबार जनकपुर–८ स्थित सीता प्यालेस होटलबाट पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै प्रहरी हिरासतमा रहेका जीप चालकको गत आइतबार रहस्यमय रुपमा निधन भएको छ । डोटीको जोरायल गाउपालिका गैराबजारस्थित गैरा प्रहरी चौकीमा जीप चालक २१ वर्षीय गणेश पालीको रहस्यमय रुपमा निधन भएको हो । उनी से १ ज २९२ नम्बरको जीप चलाउँथे । आइतबारै जीप चालकहरुबीच विवाद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । प्रहरीले हिरासतमा चालक पालीको हत्या गरेको आशंका गरिएको छ । मृतक गढोशका पिताले किटानी जाहेरी दिएपछि दुई प्रहरी जवान शंकर खड्का र दीपक सामन्तलाई प्रहरीले निलम्बन गरी नियन्त्रणमा लिएको छ ।

खनाल आईजीपी बनेपछि समाजमा यस्ता घटना नित्यकर्मजस्तै बनेका छन् । आईजीपी आफैँले सर्लाहीमा प्रहरी हिरासतमा रहेका कुमार पौडेललाई हत्या गर्न निर्देशन दिएको कुरा राष्ट्रिय मानव अधिकार आयोगले पुष्ठी गरिसकेको छ । उनी आईजीपी बनेपछि भएको निर्मला पन्तको बलात्कार र हत्याकाण्डका दोषीलाई उनले अहिलेसम्म पक्राउ गरेका छैनन् ।

बाराको गन्ज भवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जयसंकरप्रसाद कलवार गत १० गते सेवा ग्राहीसँग घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका थिए । गत ५ गते इलाका प्रहरी कार्यालय गड्डा चौकी, कन्चनपुरमा कार्यरत प्रहरी दीपक चौधरीले सेवा ग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीबाट पक्राउ परेका थिए । अख्तियारले अस्थायी प्रहरी पोष्ट कठुधार महोत्तरीमा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध सेवाग्रहीसँग १३ हजार घुस लिएको आरोपमा गत २ गते पक्राउ गरेको थियो ।

गत असोज ६ गते अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपाल थोक, दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । त्यस्तै, गत असोज २ गते काठमाडौँ थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका थिए ।

सर्वेन्द्र खनाल आईजीपी हुनुअघि दरबारमार्गमा ड्युटीमा रहेको एक ट्राफिक प्रहरीले यो मान्छे आईजीपी भए कुनै कल्याण नहुने र झन् दुःख कस्ट पाइने बताएका थिए । उनले खनाल अहिले ट्राफिकमा आउँदा मुखले यो गर्छु, त्यो गर्छु भने तर जाडोभरि ड्रेस धुन र फेर्न पाइएन । यस्तो मान्छे आईजीपी भएर हामीलाई केही गर्दैन भनेका थिए । अहिले ड्युटी गरेर मात्रै खाने प्रहरीका लागि उनले भनेजस्तै भएको छ । तर, आईजीपीका नजिकका प्रहरीले जे गरे पनि हुने अवस्था छ ।

आईजीपीका भतिजो पर्ने इन्सपेक्टर प्रदीप खनालले केही गर्न बाँकी नराखेको भुक्तभोगी प्रहरी अधिकृतहरु नै बताउँछन् । स्वयं आईजीपी खनाल जग्गा दलाल, गुण्डाका नाइके, विभिन्न धन्धामा मुछिएका व्यक्तिहरु र आपराधिक क्रियाकलापमा लागेका व्यक्तिहरुको साँठगाँठमा चलेका छन् । तर, मुखले रामनाम जप्न उनले छाडेका छैनन् र आफूले प्रहरीमा सुशासन कायम गरेको र कुनै अपराधीलाई नछाड्ने डिङ हाँक्न पनि छाडेका छैनन् । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस