निर्वाचन सकियो : संहिता उल्लंघनको दाग कायमै

निर्वाचन सकियो : संहिता उल्लंघनको दाग कायमै

काठमाडौं, मंसिर १५
हिजो उपनिर्वाचन त सकियो तर, यसले सत्तापक्ष आगामी दिनमा हुने जुनसुकै निर्वाचनमा के–कसरी बल प्रयोग गरेर शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको धज्जी उडाउने क्रममा छ भन्ने संकेतहरू रेकर्डका लागि कायम भएका छन् । निर्वाचनको आघिल्लो दिन पैसा बाँडिएका, निर्वाचनका दिन बुथकै छेउमा भोजभतेर गरिएका लगायतका विषय त छँदै छन्, निर्वाचन आचारसंहिताको कसरी उल्लंघन भयो भन्ने अर्को रेकर्ड कायम भएको छ । यही बीचमा सत्तपक्षका विद्यार्थीहरूले शिक्षण संस्थामा गरेका आक्रमण पनि चर्चामा आएको छ ।

निर्वाचनको अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलले खबरदारी नै गर्न प-यो । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार – ‘त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय छ । शुल्कवृद्धिका विरुद्ध आवाज उठ्नु सही छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद मात्रै होइन दण्डनीय छ । त्रिचन्द्रमा सम्मानित गुरुमाथि आक्रमण गर्ने संगठनकै सदस्यहरूले नेपाल कमर्श क्याम्पस, मिनभवमा नेविसंघका सदस्यहरूमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सिना र निरज शाहलाई घाइते बनाएका छन् ।

कालापानीलगायतको प्रकरणमा सिंगो राष्ट्र एक ढिक्का भई उभिनु पर्ने समयमा नेपाली कांग्रेसले एकातिर आफूनिकटका विद्यार्थीलाई फेरि पनि संयमित रहन निर्देशन गरेको छ । तर, सत्तापक्षमा त्यो ढंगको संस्कार नदेखिनु दुःखद छ । घटनाका दोषीहरूलाई कारबाही गर्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।’  सो पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा भनिएको छ –

स्वास्थ्यलाभ कामना : प्रधानमन्त्री केपी ओली गम्भीररूपले अस्वस्थ भई यतिबेला अस्पतालमा उपचारत हुनुहुन्छ । नेपाली कांग्रेस उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । आचारसंहिताको उलंघनको प्रश्न– मंसिर १४ को उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट कयौँ स्थानमा आचारसंहिताको उल्लंघन भइरहेको विवरण केन्द्रीय कार्यालयमा प्राप्त भइरहेको छ ।

– आचारसंहिताका विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न । कयौं स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग ।

– दोगडाकेदार गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि भौतिक आक्रमण नेकपाका कार्यकर्ताहरूद्वारा ।

– चितवन खैरहनी नगरपालिका वडा नं. ४ मा मंसिर ६ गतेको चुनावी सभामा ३९ युवासहित ४६ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । आफ्नो समुदायका थुप्रैलाई कांग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका स्थानीय प्रखर युवा टेकबहादुर परियारलाई मंसिर ९ गते राति भौतिक आक्रमण गरिएको छ ।

– निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने कार्य भएको छ । मौन अवधि सुरु भएपछि पनि कास्कीको वैदामका डीएसपीलाई सरूवा गरिएको छ ।

– अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजनामै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौँ भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।

– महोत्तरीको पिपरामा बम विष्फोटपश्चात मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधिहरू भएका छन् ।आचारसंहिता उल्लंघनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न हामी मतदाताहरूमा अपील गर्दछौँ । अन्तिम घडीमा अझ बढ्न सक्ने राज्य नियन्त्रित यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई विशेषरूपले सचेत गराउन चाहन्छौँ ।

कालापानी प्रकरण : नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पियाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका बावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो ।

हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विषर्जित हुँदै गएको चित्रले जनसमक्ष वास्तविकता उजागर त गर्दै छ नै तर कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको छ । नेपाली कांग्रेस यो विषयमा गम्भीर भएर गम्भीर पहलकदमी गर्न सरकारलाई सार्वजनिक रूपले आह्वान गर्दछ ।

मेलम्चीको कुरा – वर्तमान सरकारको रवैयाका कारण मेलम्ची खानेपानी परियोजनाबाट इटालिएन कम्पनी फर्किएर जाँदा त्यसले एकातर्फ मेलम्ची आउने समयावधि लम्बिन पुग्यो भने अर्कातर्फ बाह्य जगतमा नराम्रो सन्देश गयो । पछिल्लो समय त्यस्तो घटना दोहोरिएको छ ।

वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नुभएको बनेपा बर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरिनतर्फ लाग्नु दुःखद छ । सरकारले आफ्नो रबैया सच्याएर तत्काल अनुकूल वातावरण निर्माण गर्न र गलत सन्देश सम्प्रेषण हुनबाट रोक्न नेपाली कांग्रेस अपील गर्दछ ।

अर्बौँ ऋण लिएर मकै गोड्ने एक रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढंगले मुलुकको चार अर्ब रूपैयाँ स्वाहा बनाएको थियो । त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लाग्दै छ । नेपाली कांग्रेस स्थायी रोजगारी सृजनाको क्षेत्रमा नवीन सोचका साथ अघि बढ्न सरकारलाई अपिल गर्दै यसरी अनुत्पादक ढंगले अघि बढ्ने कर्मप्रति सरकारलाई सर्तक र सचेत गराउन चाहन्छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस