‘अकुपेन्सी शून्य, कर्मचारीलाई बिदा दिने तयारीमा छौं’

साजन शाक्य महासचिव, होटल एसोसिएशन अफ नेपाल (हान)

‘अकुपेन्सी शून्य, कर्मचारीलाई बिदा दिने तयारीमा छौं’

यो सिजन नेपालमा पर्यटकहरूको खचाखच हुने समय हो । तर, अहिले तारे होटलहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ । पाँच तारे होटललगायत अन्य साना र मझौला होटलका कोठाहरू यो सिजन पूरै भरिभराउ भइसकेका हुन्थे । हालै विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण बुकिङ भएका कोठाहरूसमेत धमाधम रद्द भइरहेका छन् । सरकारले नेपालमा घुम्न आउने हरेक पर्यटकहरूलाई एयरपोर्टमा नै दिँदै आएको अनअराइवल भिषा दिने कार्य रोकेसँगै पर्यटकको संख्या ह्वात्तै घटेर शून्यमा झरेको छ । यसैगरी तेस्रो मुलुक भएर नेपाल प्रवेश गर्ने पर्यटकहरूले समेत १४ दिनसम्म क्वारेनटाइनमा बस्नैपर्ने बाध्यकारी नियम लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालको पूरै पर्यटन क्षेत्र र सँगसँगै होटलहरूमा परेको छ ।

यही कारण अहिले सानाठूला होटल, रिसोर्ट, दुई तारेदेखि पाँच तारे होटलहरूका कोठाहरू प्राय पूरै खाली भएका छन् । यसरी होटलहरू खाली भएपछि त्यहाँ कार्यरत कर्मचारी र कामदारलाई के गर्ने भन्ने पिरलो होटल सञ्चालहरूलाई परेको छ । तत्कालै होटलमा कार्यरतहरूलाई केही राहतको प्याकेजसहित बिदा दिने तयारी भइरहेको छ । त्यसको लागि सरकारसँग पनि छलफल चलिरहेको जानकारी होटल एसोसिएशन अफ नेपालका महासचिव साजन शाक्यले दिएका छन् । सरकारसँग यो विषयमा छलफल चलिरहेको र निष्कर्षमा पुग्नासाथ कामदारहरूलाई बिदा दिने उनको भनाइ छ । कोरोना संक्रमणको डरका कारण अहिले देनिक करोडौँ रकमबराबरको नोक्सान भइरहेको र त्यसलाई सरकारले कुनै न कुनै उपाय लगाएर भए पनि सम्वोधन गर्नुपर्ने उनको तर्क छ । हाल तारे होटलहरूले भोगिरहेको समस्या, सामाधान, यसको दीर्घकालीन असर र सरकारले यो क्षेत्रलाई तत्काल गर्नुपर्ने राहतका सम्बन्धका विषयमा केन्द्रित रहेर महासचिव शाक्यसँग आर्थिक दैनिकका लागि रामहरी चोलागाईंले गरेको कुराकानीः

हाल विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोनाका कारण नेपालको पर्यटनका साथै होटल क्षेत्रमा कस्तो असर परेको छ ?

कोरोना भाइरसको प्रभावले गर्दा अहिले होटल क्षेत्रमा त्यसको असर ठूलो परेको छ । मुलुकभरि हाम्रा १४ वटा च्याप्टरहरू छन् । एक महिनाअघि हामीले यी च्याप्टहरूसँग सम्पर्क गरेर बुझ्दा १५ प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी पाएका थियौँ । तर, अहिले त्यो क्रमशः घटदै गएको मात्र होइन, ठप्प प्राय भएको अवस्था छ । कोरोनाको उच्च जोखिममा नेपाल पनि रहेको कुरा विश्व स्वाथ्य संगठनले जानकारी गराएपछि झन् नेपालमा घुम्न आउने पर्यटकको संख्या ठप्पै भएको छ । पर्यटक आउने क्रम ठप्प रोकिएपछि त्यसको प्रत्यक्ष हिलो असर होटल क्षेत्रलाई परेको हो ।

सरकारले नेपालमा घुम्न आउने पर्यटकहरूलाई एयरपोर्टबाट नै दिँदै आएको अनअराइवल भिषा दिन रोकेपछि त्यसको असर नेपालको पर्यटन क्षेत्रका साथै मुलुकका अन्य क्षेत्रमा पनि परिरहेको छ । यदि विदेशी पर्यटक नेपाल आयो भने पनि उसले १४ दिनसम्म क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी नियम सरकारले लागू गरेपछि त हालत थप चौपट भएको छ । यी माथि उल्लेखित नयाँ नियमले गर्दा होटलको अकुपेन्सी जिरो नै हुने अवस्था पुगेको छ । हिजो अस्तिका दिनसम्म ४–५ प्रतिशत रहेको अकुपेन्सी पर्यटक आउने मुख्य बाटो नै ब्लक भइदिएपछि स्थिति थप जटिल बन्दै गएको छ । संक्रमण फैलिन नदिन घुम्न आउने पर्यटकले १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने भएपछि ऊ किन घुम्न आउने ? हाम्रो व्यवसाय उनीहरू नआएसम्म अगाडि बढ्ने कुरै भएन ।

तपाईंहरूलाई परेको यो समस्याको बारेमा सरकारलाई जानकारी गराउने काम समयमै किन गर्नुभएन ?

धेरैजसो होटलहरू अहिले पनि भाडामा सञ्चालन भइरहेका छन् । यसैगरी बैंकबाट ऋण लिएर सञ्चालन पनि गरिएका छन् । कोरानाका कारण होटल बन्द भएपछि घरभाडा, स्टाफ खर्च र बैंकको ब्याज तिर्नसक्ने अवस्था अहिले छैन । मासिक किस्ता र ब्याजबापत बैंकहरूलाई तिर्नुपर्ने रकम हामीहरूले कहाँबाट ल्याएर तिर्ने ? तिर्नसक्ने अवस्था छैन । दुई तारे, पाँचतारे, रिसोर्ट र अन्य होटलहरूको समग्र अवस्था यही हो । अहिले हाम्रो एसोसिएशनमा तीन हजार मेम्बर रहेका छन् । दुई तारे होटलहरू धेरै भाडामा सञ्चालन हुँदै आएका छन्, उनीहरूले घर भाडा घटाइदिन घरधनी र सम्बन्धित निकायहरूसँग हारगुहार पनि गरिरहेका छन् ।

यसैगरी बैंकको ब्याज मिनाहा गर्न पनि उनीहरूले माग गरेका छन् । यसैगरी घर जग्गा र वार्षिक कर पनि मिनाहा हुनुपर्ने माग पनि सदस्यहरूले उठाएका छन् । तत्काल यी मागहरूलाई सरकारले सम्बोधन गरिदिनुप-यो भन्ने विषयमा हामीले उपप्रधान एवं रक्षा मन्त्री तथा कोरोना भाइरस संक्रमण, रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत समितिमा रहेका मन्त्रीसमक्ष कुरा राखेका छौँ । हामीले राखेको समस्याबारे उहाँहरू सकारात्मक हुनुहुन्छ । उच्चस्तरीय संयन्त्रमा रहेका नौ जना मन्त्रीहरूले छिटै हाम्रा मागका विषयमा केही न केही सम्बोधन भएर आउने विश्वास हामीले लिएका छौँ । मन्त्रीज्यूहरूले पनि हामीहरूलाई आश्वासन दिनुभएको छ । हामीलाई भोग्नुपरेको समस्या र मर्काका बारेमा लिखितरूपमा दिन पनि मन्त्रीज्यूहरूले निर्देशन गर्नुभएको पनि छ ।

सरकारले तपाईंहरूले अगाडि सारेका माग सम्बोधनको लागि आश्वासन दिएको रहेछ, तपाईंहरूलाई चाहिँ के–के गरिदियोस् भन्ने लागेको छ ?

मैलै माथि पनि भनेँ, हाम्रो मुख्य समस्या भनेकै बैंकको किस्ता र ब्याज, घरभाडा, स्टाफ खर्च हो । यसैगरी घर जग्गा घर र वार्षिक कर पनि छुट दिनुपर्छ भन्ने हो । तत्काल कर्मचारीलाई छुट्टी दिँदा पनि सरकारले सामाजिक कोषमार्फत सहयोग गरिदियोस् ।

होटलमा कार्यरत मजदूर कामदारको व्यवस्थापन गर्नको लागि तपाईंहरूले तत्काल के–कस्तो योजना ल्याउने तयारी गरिरहनुभएको छ ?

होटलहरूको अकुपेन्सी नै जिरो भएपछि हामीले कामदारहरूलाई पालिराख्न सक्ने अवस्था रहेन । अब उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि हामीहरू बीचमा छलफल चलिरहेको छ । हाम्रो सोचाइ के छ भने जसरी एयरलाइन्स सञ्चालकहरूले २५ प्रतिशत सेवा सुविधा दिएर कामदारलाई बिदामा बस्न भनेका छन् । हामीले पनि यस्तै प्रस्ताव अगाडि सार्न लागेका छौँ । त्यसको लागि हामीले सरकारसँग केही शर्त पनि अगाडि सार्नेभएका छौँ । त्यो प्रस्ताव के हो भने साढे १२ प्रतिशत सरकारले सोसल सेक्युरिटी फण्डबाट उपलब्ध गराओस्, बाँकी साढे १२ प्रतिशत हामी होटल सञ्चालकहरूले बेहोर्नेछौँ ।

सरकारलाई तपाईंहरूले वार्षिकरूपमा कति रकम कर तिर्दै आइरहनुभएको छ ?

एउटै पाँच तारे होटलको वार्षिक कारोबार नै एक अर्बबराबर हुन्छ । यस हिसाबले एउटैले करोडभन्दा बढी रकम सरकारलाई करबापत तिरेको देखिन्छ । यस हिसाबले भन्नुपर्दा अर्बौं रूपैयाँ यो क्षेत्रबाट सरकारले कर उठाउँदै आएको छ । नगरपालिकाहरूलाई पनि घरजग्गा करबापत एउटा पाँच तारे होटलले वार्षिकरूपमा ७० देखि ८० लाख कर तिर्दै आएको छ । यो हिसाबले भन्नुपर्दा सरकारले यो क्षेत्रबाट अर्बौं रकम राजस्व पाएको छ । होटलहरू बन्द भएपछि सरकारले पनि अर्बौं राजस्व गुमाउन सुरु गरिसकेको अवस्था छ ।

यो क्षेत्रमा अहिले के–कति जनशक्तिले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् ? उनीहरूको रोजरोटी खोसिँदा पर्ने प्रभावका बारेमा केही सोच्नुभएको छ ?

मुलुकभरिको सवालमा कुरा गर्नुपर्दा १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था थियो । अब होटलहरू बन्द भएर कामदारलाई बिदा दिनुपर्दा उनीहरूको आश्रित परिवार बिचल्लीमा पर्ने भएका छन् । उनीहरूलाई खाली हात घर पठाउने हो भने उनीहरू र उनीहरूको परिवारको पेटमाथि नै लात हानेको ठहरिनेछ । यसकारण पनि सरकारले नयाँ ढङ्गले सोच्नुपर्ने समय आइसकेको छ । उनीहरूको जीवन निर्वाहको लागि पनि सरकार र होटल सञ्चालक दुवैले नयाँ ढङ्गले सोच्न आवश्यक हुन्छ ।

सरकारका प्रतिनिधि अर्थात् मन्त्रीहरूसँग भएको कुराकानीमा यी र यस्ता विषयमा कुनै छलफल भएको छ कि छैन ?

नेपालमा कृषिपछि सरकारलाई महत्वपूर्ण योगदान दिँदै आएको अर्को महत्वपूर्ण क्षेत्र भनेकै पर्यटन हो । यो क्षेत्रलाई जे–जसरी भएपनि अहिलेको अवस्थामा बचाउन आवश्यक छ भन्ने उनीहरूको धारणा रहेको पाएका छौँ । यो क्षेत्र अरुभन्दा भिन्न पनि छ । यो क्षेत्रमा खर्बौं लगानी भइसकेको पनि छ । नेपाली जनताको पैसा बैंकहरूसँग ऋणमा लिएर लगानी भएको हो । कृषि क्षेत्रको तुलनामा बैंकको ब्याज पनि महँगो छ । कम्प्रमाइज गरेर भए पनि यो सेक्टरलाई तत्कालका लागि बचाउन आवश्यक छ भन्ने उनीहरूको धारणा रहेको हामीले पाएका पनि छौँ । यो संक्रमणको त्रास लामो समयसम्म नरहला । दुई/चार महिनाभित्रमा त कस्तो समाधान नहोला । त्यसपछि फेरि यसले आफ्नो गति समाउला ।

अहिलेको महामारीका कारण होटल क्षेत्रले वार्षिकरूपमा कति रकम गुमाउने आँकलन छ ?

समग्रमा भन्नुपर्दा खर्बौं रकम घाटा हुने निश्चित भइसकेको छ । एउटा पाँच तारे होटलको वार्षिक कारोबार नै अर्बभन्दा बढी हुन्छ । यस हिसाबले भन्नुपर्दा वार्षिकरूपमा यसको आकार निकै ठूलो हुन्छ ।

अहिले यो क्षेत्रमा परेको घाटा पूर्ति गर्न कति समय लाग्ने अनुमान गर्न सकिएला ?

महामारी कति समयसम्म रहला त्यसपछि मात्र परिस्थितिको मूल्याङ्कन गरेर भन्न सकिन्छ । अहिले नै यति नै नोक्सान भइहाल्छ भनेर आँकलन गर्नु हतार हुन्छ । यसलाई छिटोभन्दा छिटो सेफल्याण्डिङ गर्नेतिर लाग्नु प-यो । भूकम्पको जस्तो अहिले संरचना लडेका र भत्किएको अवस्था होइन । केही समयको लागि सर्भाइव गर्ने वातावरण सरकारले बनाइदियो र महामारी नियन्त्रण छिटो भयो भने त यसले फेरि गति लिइहाल्छ । यो माहामारी नियन्त्रणमा आइसकेपछि त बिस्तारै यसले आफ्नो गति लिनेछ ।

मुलुक अर्धलकडाउनको स्थितिमा छ, अब तपाईंहरूको भावि योजना र रणनीति के–कसरी अगाडि बढ्नेछन् ?

हामीले यस विषयमा छलफल गर्नको लागि १४ वटै च्याप्टरका अध्यक्ष, त्यसैगरी नेपालभरिका हानमा आबद्ध सदस्यहरू, रिसोर्ट सञ्चालक र होटल व्यवसायीहरूको भेला सम्पन्न गरिसकेका छौँ । सो भेलाले बैंकको ब्याज छुट, घर जग्गा कर, बिजुलीलगायत कर्मचारीलाईको लागि तत्कालको लागि राहत प्याकेजसहित छुट दिनको लागि सरकारलाई लिखितरूपमा माग गर्ने निर्णय भएको छ । भेलाको म्यान्डेटअनुसार नै हामी अगाडि बढ्नेछौँ ।

सरकारले संक्रमणका कारण आर्थिक क्षेत्रमा परेको संकट टार्न केही न केही राहतका योजना ल्याउने संकेत देखाइसकेको छ, यदि तपाईंहरूको माग सम्बोधन भएन भने कसरी अगाडि बढ्नुहुन्छ ?

त्यस्तो परिस्थिति आउला भन्ने कल्पना हामीले अहिले गरिसकेको छैनौँ । सरकारले हामीलाई परेको मर्कालाई सकारात्मक हिसाबले हेर्ने बचन पनि दिएको छ । अहिले हस्पिाटालिटी क्षेत्रमा ठूलो समस्या छ । अब हामीलाई के–कस्तो सहुलियत सरकारले दिनेछ त्यसको पर्खाइमा हामी छौँ । जस्तोः हाम्रो केही दिनअघि सम्पन्न भलाल पाँच बुँदे निर्णय गरेर सरकारलाई बुझाएका छौँ । निर्णयअनुसार होटलहरूको विद्युत् महसुल दरमा आगामी छ महिनासमम शत प्रतिशत छुट हुनुपर्ने भनेका छौँ र होटलहरूलाई नन डोमेस्टिक ग्राहयस्थ समूहबाट औधोगिक समूहमा वर्गीकरण गरी आगामी २ वर्षसम्मको लागि विशेष छुटसहितको दरमा छुट्टै विद्युत् महसुल कायम हुनुपर्छ भनेका छौँ ।

होटल सञ्चालनको लागि चाहिने सञ्चालन खर्च वर्किङ क्यापिटल सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, स्थानीय निकायले लिँदै आएको एकीकृत सम्पत्ति करमा दुई वर्षसम्म छुट दिनुपर्ने, घरजग्गा बहालमा लिई होटल सञ्चालन गर्नेहरूका लागि प्रकोप नियन्त्रण नभएसम्मका लागि घर र जग्गा बहालमा छुट दिनुपर्ने र घरबहाल करसमेत छुट दिनुपर्ने, गत वर्ष भुक्तानी गरेको भ्याट रकमलाई हालको संकटकालीन विषम परिस्थितिमा होटल सञ्चालन गर्नका लागि भ्याट रकम फिर्ता गरिनुपर्ने र नेपाल सरकारद्वारा पुनरावलोकन गरिने न्यूनतम पारिश्रमिक निर्धारण आगामी दुई वर्षको लागि स्थगन गरिनुपर्ने रहेका छन् । बैंकबाट लिएको कर्जामा ब्याज सहुलियत दिने हो कि, घरवालाहरूलाई होटलहरूले तिर्नुपर्ने भाडामा सरकारले कर मिनाहा गरेर भए पनि केही न केही गर्ला नै । हामी सरकारले घोषणा गर्ने राहतको पर्खाइमा बसेका छौँ । यदि सरकारले केही पनि गरेन भने त्यपछि कसरी अगाडि बढ्ने हो त्यसबारे अहिले निर्णय गरिहाल्ने बेला भइसकेको छैन ।

होटल सेक्टरले हिजोका दिनमा राष्ट्रिय कुल ‘जीडीपी’मा के–कसरी योगदान दिएको थियो ?

सरकारले भन्दा तीन प्रतिशत गरेको भन्ने गरेको छ । तर, इनडाइरेक्ट पनि यसले सहयोग पु-याएको हुन्छ । एउटा पर्यटक नेपालमा आउँदा उसले प्रत्यक्ष र अप्रत्यक्ष १०–१२ जनालाई रोजगारी दिएको हुन्छ । होटललाई मात्र फाइदा पुग्ने होइन । होटलबाट बाहिर निस्केर टयाक्सी चढ्छ, घुमफिरमा जान्छ, सपिङ गर्छ, रेष्टुरेण्टमा जान्छ खाना खान्छ । उनीहरूले पनि उसलाई आवश्यक पर्ने माछा, मासु, अण्डा, सागसब्जीलगायत सबै वस्तुहरू खरिद गरेर ल्याउनुप-यो । यसले पनि धेरै कुरा बुझ्न सकिन्छ कि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरैले रोजगारी पाइरहेकै हुन्छन् ।

प्रतिकृया दिनुहोस



विविध

Techie