‘दश वर्षभित्र पूर्वदेखि पश्चिमसम्म रेल चल्छ’

‘दश वर्षभित्र पूर्वदेखि पश्चिमसम्म रेल चल्छ’

काठमाण्डौं,फागुन २२
नेपालसँग रेलको सम्बन्ध जोडिएको झण्डै सय वर्ष बितिसकेको छ । भारतमा ब्रिटिस सरकारले शासन गरिरहेको समयमा रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म रेल सञ्चालनमा रहेको थियो । यसैगरी भारतको जयनगरदेखि जनकपुरसम्म पनि रेल चलिरहेको थियो । ०७० सालसम्म पनि सञ्चालन भइरहेको रेल सेवा अहिले पूर्णरूपमा बन्द भएको छ । यसरी बन्द हुनुको एक मात्र कारण नेपालले रेल सेवालाई प्राथमिकता दिन नसक्नु रहेको देख्छन् रेल विभागका महानिर्देशक बलराम मिश्र । नेपालजस्तै भूगोल भएका युरोपका स–साना मुलुकले पनि सजिलैसँग रेल सञ्चालन गरिरहेका छन् । तर, नेपालमा भने रेलमार्गको विषयलाई तत्कालीन सरकारहरूले प्राथमिकतामा नै दिएनन् । यसअघिका सरकारले महत्व नदिएकै कारण काम हुन नसकेको उनको बुझाइ छ । पहिलो पटक ०७२ सालमा प्रधानमन्त्री भएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल सेवालाई आवश्यकता ठानेर उच्च प्राथमिकता दिएपछि अहिले भने यसले सार्थक रूप लिने क्रममा रहेको छ । नेपालमा रेलसेवाको सम्भावना, यसको भविष्य, आवश्यकता र हाल विभागले सम्पादन गरिरहेको कामका बारेमा केन्द्रित रहेर आर्थिक दैनिकका लागि रामहरी चौलागाईंले महानिर्देशक मिश्रसँग गरेको कुराकानीः


विभागले नेपालमा रेल ल्याउन के–के काम गरिरहेको छ ?

रेल विभागको गठन २०६८ सालमा भएको हो । त्यसबेला देखि नै विभागले केही न केही काम त गरिरहेकै थियो । म यस विभागमा आएपछि पनि यस अगाडि तय भएका कामलाई निरन्तरता दिदै नयाँ काम पनि अगाडि बढाइरहेको छु । एउटा सत्य कुरा केहो भने सडक बनाए जस्तो रेलको लिक बनाउन त्यति सजिलो छैन । यो अलिक जटिल संरचना पनि हो । यसको डिजाईनिङ, सञ्चालन, इन्जिनियरिङ, सर्वेलगायतको काम केही जटिल र फरक छ । यसका लागि आवश्यक प्रर्याप्त जनशक्ति पनि नेपालमा छैन । अहिलेसम्म रेलसम्बन्धी जे–जति अध्ययन, अनुसन्धानका कामहरू भइरहेका छन्, ती सबै काम विदेशी मरामर्शदातामार्फत नै भइरहेको छ । यसबीचमा रेल विभागले धेरै फड्को पनि मारिसकेको अवस्था छ । जस्तोः पूर्वदेखि पश्चिमसममको भण्डै एक हजार किलोमिटर विद्युतीय रेलमार्गको डीपीआर तयार भइसकेको छ । यसैगरी पूर्व–पश्चिम खण्डको बीचको केही भागमा काम पनि अगाडि बढिरहेको अवस्था छ । छिमेकी मुलुक भारत सरकारसँग भएको सहमतिअनुसार उसकै सहयोगमा ५ वटा बोर्डर प्वाइन्टमार्फत रेलवे मार्ग बनाउने भनिएकोमा दुईवटामा पार्सियल रूपमा काम भइरहेको र एक ठाउँमा रेल सञ्चालनको लागि अन्तिक तयारी भइरहेको अवस्था छ ।

तपाईंले रेल सञ्चालनको काम अन्तिम तयारी पुगेको भनिरहँदा भारतमा निर्माण भएको भनिएको रेल नेपालमा ल्याउने काम किन हुन सकिरहेको छैन ?

हो, रेल निर्माणको काम हाल भारतमा भइरहेको छ । रेल तयार भइसकेको पनि छ । तर, हाम्रो आफ्नै आन्तरिक कारणले गर्दा त्यो ल्याउन सकिरहेका छैनौँ । आन्तरिक कारण भनेको केहो भने रेल सञ्चालनको लागि त आवश्यक विज्ञ मेनपावर त चाहियो तर त्यसको व्यवस्थापन गर्ने क्रममा अहिले हामी लागिरहेका छौँ । साथै, केही स्वदेशी र केही विदेशी मेनपावर लिएर हामी सञ्चालनको काम अगाडि बढाउने गरी तयारी अगाडि बढाउँदै छौँ । हामीलाई स्वदेशी वा विदेशी जुन मेनपावर सस्तो पर्न जान्छ, त्यसलाई नै अहिले उपयोग गर्ने हो ।
विभागले अर्को विषयमा पनि फडको मारेको अवस्था छ । यति ठूलो लागानी गरेपछि त्यसलाई आइसोलेसन गर्नु हँुदैन । त्यसको लागि आन्तरिकरूपमा दुई देशकको इन्टर कनेक्टीभिटी भएन भने त्यसवाट जे फाइदा लिनुपर्ने हो त्यो लिन सकिँदैन । त्यसका लागि चीनले केरुङदेखि काठमाडौँ र भारतले रक्सौलदेखि काठमाडौँसम्म रेलमार्ग जोडने तयारीलाई तीव्र बनाएका छन् ।

नेपालका दुवै छेमेकी मुलुकहरू चीन र भारतले नेपाललाई रेलमार्गसँग जोड्नको लागि तीव्ररूपमा प्रतिस्पर्धा गरिरहेका छन् । यसलाई हामीले कसरी र कुन रूपमा बुझ्न आवश्यक छ ?

हाम्रा दुईवटै छिमेकी मुलुकहरूले रेलवे मर्गको प्रारम्भिक अध्ययनको कामको साथसाथै विस्तृत अध्ययनको काम पनि छिटै थाल्ने तयारी गरिरहेका छन् । अहिले चीनमा फैलिएको कोरोना महामारी सक्रमणका कारण यो काममा केही शिथिलता आएको छ र त्यसले काममा केही बाधा पनि पु¥याएको छ ।
अर्को हामीले संघीय राजधानी काठमाडौँमा ट्राफिक जामको सहजीकरणको लागि मेट्रो रेल सञ्चालन गर्ने विषयमा पनि अध्ययन गरिरहेका छौँ । त्यसको लागि सुरुमा ५ स्थानका लागि पूर्वसम्भाव्यता अध्ययनको काम भएको छ । त्यसमध्ये अहिले दुईवटा स्थानको लागि डीपीआर अध्ययनको काम भइरहेको त्यसमध्ये एउटा खण्डको कामको काम लगानी बोर्डमार्फत भइरहेको छ । जस्तो, काठमाडौँको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको काम उसले गरिरहेको छ । यस्तै काठमाडौँकै बुढानिलकण्ठदेखि चोभारसम्मको काम रेल विभागमार्फत अगाडि बढिरहेको अवस्था छ । यी ठाउँको केही भागको कामका बारेमा सम्झौता भइसकेको पनि छ । चाइनिज परामर्शदातामार्फत यो काम भइरहेको थियो । तर, हालै चीनमा फैलिएको कोरोना भाइरसले काममा केही बाधा पु¥याएकोले काममा केही ढिला हुने अवस्था देखिएको छ । एक वर्षभित्रमा उसले अध्ययनको काम सकेर हामीलाई प्रतिवेदन बुझाउने गरी सम्झौता भएको थियो ।
यसैगरी पोखरादेखि काठमाडौँ जोडने रेलमार्गबारे अध्ययन गर्ने काम पनि रेल विभागमार्फत भइरहेको छ । यसैगरी पोखरा लुम्बिनी सम्भाव्यता अध्ययनको काम सकिएको छ । मुख्यगरी अहिले निजगढदेखि बर्दिबाससम्मको कन्ट्रक्सनको काम रेल विभागले अनुभवको लागि भनेर पनि केही काम गरिरहेको छ । भारतीय रेल नआउञ्जेलसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्म जोडने गरी काम अगाडि बढाएका छौँ ।
नेपालमा रेलको इतिहास लामो भए पनि नेपालीहरूले खासै रेल चढ्न पाएका छैनन्, अब त्यो सपना कहिलेसम्म पूरा होला ?
नेपालीको लागि रेल नौलो होइन । तर, हामीले रेलसम्बन्धी कामलाई प्राथमिकतामा राख्न नै सकेनौ । सन १९२७ इस्वी सम्वतदेखि नेपालमा रक्सौल हुँदै बारा जिल्लाको अमलेखगञ्जलसम्म रेल चल्दथ्यो । यो झण्डै सय वर्षको इतिहास हो । यसैगरी भारतको जयनगर हुँदै १९४९ देखि जनकपुरसम्म रेल सञ्चालन भइरहेको थियो । यति लामो इतिहास भए पनि नेपालले यसबीचमा थप काम अगाडि बढाउन सकेन ।
मेरोबीचारमा यी दुईवटै रेलमार्गले नेपाल र भारतलाई जोडने काम भारतमा ब्रिटिस सरकार रहेको समयमा भएको हो, उसले नै बनाइदिएको हुनुपर्छ । यी दुई रेल सेवामध्ये रक्सौल अमलेखगञ्ज पूर्णरूपमा विस्थापित नै भइसकेको छ भने जयनगर जनकपुरसम्म सञ्चालन रहेको रेल पनि गत ०७० सालदेखि बन्द भएको छ तर त्यो टेक्नोलोजी पनि निकै पुरानो भएकोले पनि बन्द भएको हो । सोही ठाउँमा भारत सरकारको सहयोगमा नयाँ सिस्टम विकास गरेर आधुनिक रेल सञ्चालन गर्ने तहमा हामी पुगेका छौँ ।

०६८ सालमा स्थापना भएको रेल विभागले झण्डै एक दशक पुग्न लाग्दासमेत आजसम्म कुनै पनि एक ठाउँको काम पूरा गरेर रेल सञ्चालन गर्न किन सकिरहेको छैन ?

मैले माथि पूर्वाधारको बारेमा धेरै कुरा बताइसकेँ । अहिले जयनगर जनकपुर, बिजुलपुरा कुर्थासम्मको सम्पूर्ण काम सकिएको र रेल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । मेनपावर व्यवस्थापनको लागि पनि सरकारले विभागलाई स्वीकृति दिइसकेको छ । अब कर्मचारीको नियुक्ति छिटै हुनेछ र त्यसपछि रेल सञ्चालनमा आइहाल्छ ।

विभागले भारतमा निर्मित रेल नै ल्याउन नसकेको कुरा बाहिर आएको छ नि ?

रेल ल्याउन नसेकको होइन । यसको आफ्नै प्रोसेस हुन्छ । समय पनि बाँकी छ । हामीले दिएको समय अझै एक महिना बाँकी नै रहेको छ । दुईवटै रेल तयार भएर टेस्टिङमा रहेका छन् । ल्याउन सकिएन भन्ने कुरा सत्य होइन । हामी ल्याउने प्रक्रियामा छौँ ।

नेपालमा चाँडै नै सञ्चालनमा आउन लागेको रेलको यात्रु क्षमताको बारेमा पनि सर्वसाधरणलाई जानकारी गराइदिनुुहोस् न ?

हाल निर्माण भइरहेको रेल पाँचवटा डिब्बाका अर्थात् कार हो । यो आधुनिक रेल पनि हो । यसमा बसेर चारदेखि पाँच सय मानिसले सजिलै यात्र गर्न सक्छन् भने अलि कोचाकोच र उभिएर झण्डै १२ देखि १३ सय जनाले यात्रा गर्न सक्नेछन् ।

नेपालमा ल्याउनको लागि तयारी अवस्थामा रहेको ट्रेनको लागत मूल्य कति हो त ?

दुईवटा रेलको कुल मूल्य ८४ करोड ६५ लाख हो । खरिद प्रक्रिया नेपाल र भारत सरकारबीच भएको जीटुजी सम्झौताअनुसार गर्न लागिएको हो ।

रेल नेपालमा भित्रिएपछि सञ्चालनको लागि आवश्यक जनशक्ति पनि भारतबाट ल्याउने हो कि नेपालमा त्यो जनशक्ति उपलब्ध छ ?

नेपालमा भएको पुरानो मोडलका रेल नै विस्थापित भइसकेको छ । रेलवे कम्पनी त छँदै छ । त्यसमा थोरै कर्मचारी पनि छन् । तर, आधुनिक रेलको लागि आवश्यक जनशक्ति हामीसँग छैन अर्थात् रेल चलाउने, मर्मत गर्ने र व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ । सिस्टम नै सबै नयाँ आइसकेको छ । भारतको कुरा गर्नुपर्दा स्टेशनमा आधुनिक प्रविधि वा डिजिटल सिस्टमको विकास भइसकेको छ । हामी पनि ढिलोचाँडो त्यसरी नै अगाडि नबढी सुखै छैन । त्यही भएर अहिले हामीले २६ जना विदेशी र करिब दुई सय जति नेपाली कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छौँ ।

रेल संरचना निर्माणको लागि विभागभित्र पनि कर्मचारीको अभाव रहेको कुरा बाहिर आएको छ, वास्तविकता के हो ?

एउटा कुरा के हो भने नयाँ किसिमको संस्था स्थापना हुँदा जुनसुकै ठाउँमा यस्तो समस्या आउँछ । जस्तो नेपालमा २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना हुँदा विदेशी मेनपावर ल्याएर नै काम गराइएको थियो । रेडियो नेपालको पनि हालत त्यस्तै थियो होला । सडक विभागको कुरा गर्नुपर्दा पनि भारतले नै मेनपावर पठाएर नेपालमा सुरुमा सडक बनाएको इतिहास छ । अहिले विश्व नै प्रविधिमार्फत ग्लोबोलाइज भइरहेको समयमा मेनपावरलाई ठूलो समस्याको रूपमा लिनुहँुदैन । विस्तारै नेपालमा पनि जनशक्ति टे«न भइरहेको छ । डिजाइनतर्फमा अहिले पनि यस्तो जनशक्तिको खाँचो रहेको छ । तर, रेल विभागमार्फत हुने र भइरहेका अन्य कामहरूको लागि अहिले सडक विभागबाट मेनपावर ल्याएर काम गरिरहेको अवस्था छ । अहिले रेल विभागमा काम गरिरहेका सबै कर्मचारी प्राय सडक विभागबाट यता आएका हुन् । रेल, सडक र सिभिल इन्जिनियरको काम प्राय मिल्दाजुल्दा नै छन् । जस्तो पुल, सडक त्यहाँ पनि बनाउनुपर्छ, यता पनि बनाउनुपर्छ । उता कालोपत्रे बिच्छ्याइन्छ भने यता लिक हुन्छ । अब रह्यो मेकानिकलको कुरा, सडकमा पनि मेनाकिल छन्, त्यही जनशक्ति यता आएर काम गरिरहेको छ । लेनको काम गर्ने जनशक्ति तालिमको लागि बाहिर पठाएका छौँ । रेलवे इन्जिनियरको पढाइ नै फरक हुने हैन ।
हामी भारतमा रेलवेसम्बन्धी इन्जिनियरिङ पढेर आएकाहरू नै सडक विभागमा रहेर काम गरेका हौँ । सडक निर्माणको काम सिभिल इन्जिनियरिङ पढेकाहरूले नै गर्न सक्छन् । मात्र लिकको कामको लागि मात्र रेलवेसम्बन्धी पढेकाहरूको आवश्यकता पर्दछ । यी सबै कामको लागि बिस्तारै मेनपावर पनि तयार हँुदै जानेछ । पाठ्यक्रममा पनि यो विषय समेटिने यससम्बन्धी पढाइ गर्न तयारी पनि भइरहेको छ । मैले भन्न खोजेको केहो भने मेनपावर कमी हँुदैमा काम रोकिनेवाला छैन । अहिले पनि डीपीआरको काम थोरै विदेशी र धेरै नेपाली पनि सँगसँगै लागेर गरिरहेका छौँ । यसकारण टेक्नोलोजी पनि बिस्तारै ट्रान्सफर हुँदै जानेछ । यससँगसँगै हाम्रा दुई छिमेकी मुलुकले पनि हामीलाई भरपुर सहयोग गरिरहेका छन् । यसकारण पनि जनशक्तिको अभाव हुनेछैन ।

नेपाली जनताले मुलुकभित्र सहजरूपमा रेल चढेर पूर्वदेखि पश्चिमसम्मको यात्रा कहिलेसम्म गर्न पाउलान् ?

सरकारले रेलमार्गको डीपीआर तयार गर्ने जिम्मेवारी रेल विभागलाई सुम्पेको छ । पूर्व–पश्चिम रेलमार्गको काम सकाउन लगानी पनि ठूलै किसिमको आवश्यक पर्छ । यसको लागत झण्डै–झण्डै ९ देखि १० खर्ब पर्न जान्छ । यो मार्ग भनेको पूर्वको काँकडभिट्टादेखि पश्चिम महेन्द्रनगरको गड्डाचौकीसम्मको हो । यसको लम्बाई ९ सय ४५ किलोमिटरको हुनेछ । यो रेलवे मार्ग निर्माणको सुरुमा त एकैचोटी अनुमानित रकम आवश्यक पर्नेछैन । यो एकैचोटी निर्माण हुने पनि होइन । बहुवर्षे रूपमा काम गर्दै जाने हो । अहिले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी पनि राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गकै मोडमा नै बन्दै जाने हो । सुरुमा करिब एक खर्बजति सरकारले उपलब्ध गरायो भने पनि काम अगाडि बढाउन सकिन्छ । सुरु फेज भनेको प्रिपरेसनको अवस्था भएकोले धेरै ठूलो रकम आवश्यक पर्दैन र क्रमशः काम गर्दै जाँदा लागत रकम पनि बढ्दै जाने हो । मेरो भनाइ केहो भने सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्न सक्यो भने आगामी दश वर्षभित्रमा नेपालीले रेल चढेर पूर्व–पश्चिमको यात्रा गर्न सक्छन् ।

तपाईंहरूलाई काम गर्न अहिले के कुराले समस्या पारेको छ त ?

हाम्रा समस्याका बारेमा हामीले माथि पनि चर्चा गरिसकेका छौँ । पहिलो समस्या त विभागसँग रेलसम्बन्धी दक्ष, अनुभवी जनशक्तिको अभाव रहेको छ । सडक विभागसँग कर्मचारी मागेर काम गर्नुपरेको छ । सडक विभागलाई नै इञ्जिनियर अपुग रहेको भनेर सञ्चार माध्यममार्फत बाहिर आइरहेका छन् । उसलाई नै कर्मचारी अपुग भएपछि हामीलाई उसले कहाँबाट दिन्छ ? हामीले १० जनाको माग गर्दा मुस्किलले ४ जना पाइरहेका छौँ । साधनस्रोतको पनि कमी नै छ । भौतिक पूर्वाधार भने राम्रो छ । रेल विभागको आफ्नै सुविधासम्पन्न भवन छ । विभागसँगै रहेको सडक आयोजना निर्देशनालय आफ्नै भवनमा जाँदै छ । त्यसपछि त्यो ठाउँलाई रेल विभागले नै प्रयोग गर्नेछ । यसैगरी डिजाइनको काम सकिए पनि अब काम अगाडि बढाउनको लागि स्पष्ट नीति चाहियो । सरकारले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरेर हामीलाई निर्देशन दिनुप¥यो । नत्र जति ढिला हुन्छ त्यसको निर्माण मूल्य पनि त्यति नै बढ्दै जान्छ ।अहिले हामीले रेलमार्गको लागि भनेर जग्गा रोकेर राखेका पनि छैन । भोलि त्यो ठाउँमा कुनै उद्योग, करकारखाना स्थापना भयो भने के गर्ने ? यस्तो परिस्थिति आयो भने यस्को लागत मूल्य झन् बढ्छ । जग्गाको स्वरूप परिवर्तन हुँदै जाने र सरकारले पनि यस्ता विषयलाई समयमा ख्याल गर्न सकेन भने समस्या झन् जटिल बन्दै जानेछ । त्यसकारण डीपीआर तयारसँगै कामलाई अगाडि बढाउन पाइयो र सकियो भने समयमा काम गर्न सिकाउन पनि पनि सजिलो पर्नेछ । साथै निर्धारित लागत मूल्यमा काम सम्पन्न गर्न सजिलो पर्छ । साथसाथै जनताले प्रतिफल पनि प्राप्त गर्नसक्नेछन् ।अर्को कुरा, रेलसम्बन्धी आवश्यकताको विषयलाई लिएर धेरै बहस र छलफलहरू चल्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन । नेपालमा किन रेल आवश्यक छ र भन्ने टाइपका अनावश्यक हल्लाहरू नै बढी बाहिर आइरहेको पाइएको छ । रेल किन र केका लागि आवश्यक छ भनेर पनि बहस चल्नुपर्छ । यसबाट हुने फाइदाका विषयलाई लिएर आम मानिसमा चर्चा हुनुप¥यो । यसलाई नकारात्मक नभएर सकारात्मकरूपमा लिँदै आवश्यकता हो भने छिटो बनाउनु प¥यो । युरोपका सानो–सानो मुलुकमा रेल सञ्चालनमा छन् । तर, नेपालमा चाहिँ रेल नै आवश्यक छैन भनेर हल्ला चलाउनु भएन । अहिले सानो वा ठूलो मुलुक जुन भए पनि रेल अनिवार्य यातयातको अत्यावश्यक साधन बनिसकेको छ । हाम्रोजस्तो भू–बनोट भएका मुलुकहरूमा पनि रेल चलिरहेका छन् । जनकपुमा यसअघि सञ्चालनमा रहेको रेलमा पनि सजिलै करिब एक हजारले यात्रा गर्न सक्थे । त्यति मानिसलाई यात्रा गराउनको लागि कतिवटा सवारी साधन आवश्यक पर्ला, त्यसको कल्पना गरौँ त । त्यो पनि आधा घण्टाको समयमा लामो दूरीको यात्रा गर्न सकिन्छ । यसबाट धेरै कुराको बचत हुनेछ ।

(आर्थिक दैनिक बाट)

 

प्रतिकृया दिनुहोस



विविध

Techie