‘यहाँको ‘इम्प्रुभ’भन्दा राम्रो व्यवस्थापनले लोडसेडिङ हटेको हो’

सूर्यनाथ बास्तोला, इञ्जिनियर तथा जलस्रोत विज्ञ

‘यहाँको ‘इम्प्रुभ’भन्दा राम्रो व्यवस्थापनले लोडसेडिङ हटेको हो’

सूर्यनाथ बास्तोला विसं २०१४ सालमा नोकरी सुरु गरेर २०४२ सालमा सेवानिवृत्त भएका हुन् । अहिलेको नेपाल विद्युत् प्राधिकरणको डाइरेक्टर इन चिफ भएका उनी विशिष्ट श्रेणी पदमा पुगेर सेवानिवृत्त भएका हुन् । जलस्रोत क्षेत्रका बारेमा लामो समयदेखि कलम चलाउँदै आएका इञ्जिनियर सूर्यनाथ बास्तोला अहिले पनि उत्तिकै सक्रिय भएर चासो राख्छन् । प्रोजेक्ट इन्चार्ज भएर पनौती, मध्य मर्स्याङ्दी, देवीघाटलगायत विद्युत् आयोजना निर्माण उनैले गरेका हुन् ।

यसैगरी कन्काइ विद्युत् आयोजनाको सर्भेको काम पनि बास्तोलाले नै गरेका हुन् । सेवानिवृत्त भएपछि केही समय अमेरिका बस्दा बास्तोलाले मेरील्यान्डमा त्यहाँको विश्वविद्यालयमा अन्डर ग्राजुयट इन्जिनियरहरूलाई पढाउने कामसमेत गरे । विदेशमा बस्दा नेपाल र नेपालप्रतिको अघात मायाले आफ्नै मुलकमा अझै केही गर्नुपर्छ भन्ने सोच राखेर फर्केको उनले बताए । पञ्चायत हुँदै मुलुक गणतन्त्रमा पुग्दा समेत नेपालका राजनीतिक दलको मुलुक बनाउने कुरामा सोच बदलिन नसकेकोमा उनलाई दुःख लागेको छ । मुलुकले सोचेजति विकास गर्न नसक्नुमा राजनीतिक अस्थिरता पनि एउटा कारण भएको उनको बुझाइ छ ।

दुई वर्षदेखि मुलुकमा स्थिर सरकार भएकोले अब मुलुकमा केही गरेर देखाउने बेला आएको उनले बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अठोट पनि देखाएको उनको बुझाइ छ, प्रधानमन्त्रीले लिएको अठोटलाई सबै राजनीतिक दलहरूले साथ दिएर मुलुकको विकास गर्न ढिलो गर्न नहुने उनको तर्क छ । नेपालको विकासमा जलस्रोत, पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्न उनले सुझाए । नेपालको जलस्रोत अर्थतन्त्रका बारेमा केन्द्रित रहेर उनै बास्तोलासँग आर्थिक दैनिकका लागि रामहरि चौंलागाईंले गरेको कुराकानीः

तपाईंले लामो समय जलस्रोतसँग सम्बन्धित रहेर काम गरिसक्नुभएको छ, त्यसबेला तपाईंले गरेका उल्लेखनीय र महत्वपूर्ण कामहरूको बारेमा केही बताइदिनुहोस् न ?

म २०१४ सालमा भारतबाट इलेक्ट्रोनिक इञ्जिनियर गरेर आएपछि नोकरीमा प्रवेश गरेको हुँ । त्यो बेला मुलुकभरिका खोलानालाका बारेमा अध्ययन गरेर रिपोर्ट तयार गर्दै कति बिजुली उत्पादन गर्न सकिनेरहेछ भनेर सर्भे गर्ने काम भयो । त्यतिबेला जलस्रोत क्षेत्रमा काम गर्ने चार जना मात्र इञ्जिनियरहरू थिए । यिनै चार जनाबाट त्यो काम गरियो । त्यसपछि म रुसमा पढ्न गएँ ।

मलाई सरकारले नै पढ्न पठाएको हो । मैलै त्यहाँ चार वर्ष पढेर मास्टर्स डिग्री गरेर फर्केँ र पुनः विद्युत् प्राधिकरणमा काम सुरु गरेँ । त्यसपछि मैले सुरुमा कन्काइ आयोजना गरेको हो । त्यो आयोजना जापान सरकारको सहयोगमा सर्भे भयो । त्यसपछि नुवाकोटको देवीघाट आयोजना सर्भे भएर बनाउने तयारी गरियो । तरपछि भारतले नै सो आयोजना बनाउने भनेपछि उसैलाई सुम्पियौँ । त्यसलगत्तै म मर्स्याङ्दी आयोजना बनाउन खटिएँ । त्यो आयोजना पनि विदेशी सहयोगमा पाँच वर्षमा तयार भएको हो ।

सो आयोजना सम्पन्न भएपछि म सरकारको विशिष्ट श्रेणीमा बढुवा भएको हो । मेरो बढुवासँगै म विद्युत् प्राधिकरणको निर्देशक भएँ । त्यसपछि म प्लानिङ कमिसनमा रहेर दुई–तीन वर्ष काम गरेँ । विभिन्न क्षेत्रमा काम गरेको अनुभवहरूलाई मैले किताब निकालेर पनि सार्वजनिक गरिदिएको छु । सकेसम्म सबै नेपालीले मेरो अनुभवलाई थाहा पाऊन् भनेर यसो गरिएको हो । यो कुरालाई अहिलेका राजनीतिक दलका नेताहरूले पनि बुझून् भन्ने मेरो अभिप्राय छ ।

तत्काल नेपालले जलस्रोतबाट लाभ लिनका लागि गर्नुपर्ने मुख्य कामहरू के–के हुन सक्छन् ?

जलस्रोत नेपालको लागि विकासको लागि एउटा महत्वपूर्ण अंग हो । यसबाट मुलुकले दीर्घकालीन फाइदा लिनसक्छ । तर, यस विषयमा सुरुमा त योजनाबारे खाका नै बनाउन आवश्यक छ । त्यसका लागि विद्युत्सम्बन्धी ठूल–ठूला योजना बनाएर भारत, बंगलादेशलगायत छिमेकी मुलकहरूसँग सहकार्य गरेर नेपालबाट उत्पादित बिजुली निर्यात गर्न सकिन्छ । यसैगरी नेपालको अर्को छिमेकी मुलुक चीनसँग पनि यस विषयमा छलफल गर्न आवश्यक छ । उनीहरूसँग सहकार्य गरेर लगानी भित्र्याउनेको लागि नेपालले रणनीति तयार गर्नुप-यो ।

नेपालमा उत्पादित बिजुली अरु मुलुकको तुलानामा सस्तो पनि हुनेछ । अहिले पनि हाम्रा छिमेकी मुलुकहरू नेपालमा उत्पादन हुने बिजुली किन्नको लागि तयार छन् । जस्तो माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्छु भनेर सम्झौता पनि भइसकेको छ । मैले यस्ता खालका ठूला आयोजनाहरू बनाउनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आइरहेको पनि छु । सरकारले पनि गर्ने भनेको पनि छ तर डिसिजन मेकरहरूले बोल्ड निर्णय गर्न नसकेको कारण बन्न सकिरहेको छैन । उनीहरूले पनि विभिन्न स्वार्थले गर्दा बोल्ड निर्णय गर्न नसकेका कारण पनि ठूला आयोजना बन्न नसकेको हो । नेपालको सन्दर्भमा भन्नुपर्दा धेरै लामो समयको अन्तरालपश्चात् भारतबाट बिजुली आयात गरेर लोडसडिङको अन्त्य गरिएको छ । यहाँ इम्प्रुभ भएर लोडसेडिङ हटेको भन्दा पनि मेनेजमेन्ट राम्रो गरिएको कारणले हटेको हो ।

प्रजातन्त्र पुनर्स्थापनापछि राजनीति अस्थिरताका कारण मुलुकमा ठूला आयोजना बन्न नसकेको भन्ने गरिन्छ, तपाईं त पञ्चायतकालमा पनि काम गरिसकेको मान्छे, त्यो बेलामा चाहिँ किन यो क्षेत्रमा सोचेजति विकास हुन किन नसकेको हो ?

पञ्चायतमा पनि काम नभएको होइन, भएका थिए । त्यो बेला लोडसेडिङ थिएन । मुलुकका लागि आवश्यका मात्रामा उत्पादन भएको थियो । विदेश निर्यातको लागि सरकारको बीचमा कन्ट्रोभर्सी भयो । जहाँबाट ठूला निर्णयहरू हुन्थे, त्यही नै त्यस्तो देखियो । त्यो बेलाका विज्ञहरू पनि बिजुली बेच्नु हुँदैन भन्थे । यो नेपालको मुख्य धन हो, उनीहरू नै निहुरिएर आउँछ भन्ने भ्रममा परे । पछि भारतले नेपालसँग बिजुली आयात गर्नुभन्दा पनि न्यूक्लियर पावर उत्पादन ग-यो । यसको मुख्य कारण भनेको हामीहरूसँग समझदारी नमिलेकोले नै हो । यो कुरामा भारतसँग लेनदेनका विषयमा समझदारी गर्न सकेको भए यो क्षेत्रले ठूलो फड्को मारिसक्ने थियो ।

नेपालसँग समझदारी हुन नसकेपछि भारतले भुटानसँग सहकार्य गरेर त्यता लगानी गरेको भन्न खोज्नुभएको हो ?

हो, मैले माथि पनि भनेँ नि यही कुरा नमिलेपछि न्यूक्लियरतर्फ उसले हात अगाडि बढायो । थर्मल पावरहरू बनाए । त्यसपछि उनीहरूले नेपालको बिजुलीलाई खासै महत्व दिएनन् । बरु उनीहरूले भुटानसँग समझदारी गरेर हात अगाडि बढाए । अबको १० वर्षपछि भारतको नर्दन क्षेत्रमा पानीको अभाव हुने निश्चित छ । यसकारण नेपालको पानी नलिइकन उसलाई सुखै छैन । उसले कुनै पनि हालतमा नेपालको पानी लिनको लागि प्रयत्न गर्नेछ । मेरो विचारमा बरु नेपालले अहिले नै बुद्धि पु-याएर समझदारी गर्न सक्नु नै बुद्धिमानी हुनेछ । यसबाट नै नेपालले लाभ लिएर समृद्ध बन्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अहिले मुलुकमा पाँच वर्षको लागि स्थायी सरकार रहेको छ तर जनताका अपेक्षाबमोजिमको काम हुन नसकेको गुनासो छ । यही अवस्थामा सरकारले अगाडि सारेको योजना सफल होलान् त ?

म प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्छु । किनभने उहाँले मुलुक बनाउने सपना देख्नुभएको छ । जसरी पनि यो मुलुकलाई समृद्ध बनाउनुपर्छ भनिरहनुभएको छ । यसअघिका सरकारले विकास गर्न नसकेको कारण भनेको स्थायी सरकार नभएकैले हो । राजनीति नै स्थिर थिएन । यसबीचमा विकास नभएको पनि होइन, भइरहेको पनि छ । तर, जनताले चाहेअनुसारको काम हुन सकिरहेको छैन ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य प्रतिकूलताका बावजुद पनि ठूलो अठोट गर्नुभएको छ । मेरो पाँचवर्षे कार्यकालमा मुलुकलाई समृद्ध बनाउँछु भनेर लागिरहनुभएको छ । उनको यो अठोट र संकल्प पूरा हुन पनि सक्छ । किनभने हिजोका दिनमा नेपाली जनताले धेरै दुःख पनि पाइसकेका छन् । ब्युरोक्रेसी र ब्युरोक्याट्सले पनि धेरै दुःख पाइसकेका छन् । तर, उनीहरूले पनि भनेजस्तो गर्न पाइरहेका छैनन् र सकेका थिएनन् । हिजोका दिनमा राष्ट्रिय स्वार्थभन्दा पनि दलगत र व्यक्तिगत स्वार्थहरू बढी हाबी भए । अब अहिले समय बदलिएको छ । मुलुकमा स्थायी सरकार छ । अब उनीहरूले आफ्नो सोच बदल्नुपर्छ । प्रधानमन्त्री ओलीजीलाई मेरो सुझाव के छ भने नेपाली जनता र राजनीतिक दलहरूलाई व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय स्वार्थ बोकेर काम गर्नको लागि प्रेरित गराउन सक्नुपर्छ । तब मात्र यो मुलुकको विकास हुनसक्छ ।

समृद्ध मुलुक बन्नका लागि तपाईंंले देखेका समृद्धिका आधारहरू के–के हुन् ?

जलस्रोत, पर्यटन, कृषि, जडीबुटीलगायतका क्षेत्रको विकास गर्न सकियो भने नेपाल स्वीजरल्याण्ड बन्न सक्छ । त्यसका लागि उदार मन र दिल भएको मानिस चाहियो । त्यहीअनुसारको राजनीतिज्ञ र विज्ञहरूको पनि आवश्यकता हुन्छ । त्यसैगरी उनीहरूमा मुलुकप्रतिको बफादारिता पनि चाहियो । विदेशी लगानी भित्र्याउन पहल गर्नसक्ने क्षमताका मानिसहरू पनि चाहियो । नेपालको पैसाले मात्र हामीले देखेको र सोचेको विकास गर्न सकिँदैन । त्यसको लागि विदेशी लगानी ल्याउनै पर्छ । नेपाली बैंकहरूमा भएको पैसाले पनि गर्न सकिँदैन र पुग्दैन पनि ।

विदेशी लगानी ल्याउनको लागि उनीहरूलाई बिश्वासमा लिन आवश्यक छ । त्यसपछि उनीहरूलाई प्रतिफल दिन सकिने विषयमा पनि विश्वास दिलाउन सक्नुप-यो । जनताको विकासका लागि उनीहरूलाई पनि उत्साहित पार्न सक्नुपर्दछ । अहिले जनतामा निराशा उत्पन्न भएको अवस्था छ । कुनै पनि व्यवस्था र राजनीतिज्ञले गरेनन् भन्ने उनीहरूमा परिरहेको छ । त्यो निराशा हटाउनको लागि पनि अहिलेको राजनीतिक नेतृत्वले जनतामा उत्साह जगाउन आवश्यक रहेको छ साथै विदेशी संघसंस्थाहरूलाई पनि हामी राम्रो काम गर्न सक्छौँ भनेर विश्वास दिलाउन सक्नु पर्दछ ।

मुलुकमा दश–दश वर्षमा राजनीतिक परिवर्तन भइरहेका छ । यसको मतलव मुलुक विकास नभएको भन्ने होइन र ? राजनीति गर्नेहरूले राम्रो काम गरेनन् । जनताको माग सम्बोधन भएनन् । त्यसपछि उनीहरूले परिवर्तन खोजिरहेका हुन् । अब भने त्यस्तो निराश बन्नुपर्ने अवस्था मैले देखेको छैन । मुलुकमा स्थायी सरकार छ । यतिबेला पनि हुन नसकेको विकास अब कहिले पनि हुन सक्दैन । भोलि कस्तो दिन आउँछ भन्न सकिँदैन । यो सरकारको लागि काम गरेर देखाउने मौका पनि हो । यही मौकामा मुलुकलाई समृद्धिको बाटोमा लैजान आवश्यक छ ।

प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा अगाडि सार्दा अहिले त्यो आवश्यक नभएको भन्नेहरूको जमात बढी छ । तपाईंको विचारमा अहिले त्यो नेपाल र नेपालीको आवश्यकताको विषय हो कि होइन ?

हामी जहिले पनि योजना बनाउँदा छोटो अवधिलाई हेरेर मात्र बनाउँछौँ । योजना आयोगले पनि पाँच वर्षलाई नै टार्गेट गरेर काम गरिरहेको छ । अब हामीले जलस्रोतलगायत जुनसुकै विषयको योजना बनाउँदा २० देखि २५ वर्षको लागि बनाउनुपर्छ । त्यस्ता योजना बनाउनको लागि त्यही विषयका विज्ञहरूको राय सुझाव लिन आवश्यक छ । अनुभव भएका, बुढापाका, विदेशीहरू ल्याएर भए पनि त्यो काम गर्नुप-यो । सर्ट टाइमका काम गर्नेहरूले पनि आफ्नो काम गरिरहनपर्छ । तर, दीर्घकालीन योजनाका लागि त्यही किसिमको प्लान गर्नुपर्छ । अनि पानीजहाज कुन नदीमा सञ्चालन गर्न सकिन्छ त्यो कुरा निर्धारण गर्न सकिन्छ । कुन नदिलाई कुन ठाउँमा मिसाउँदा त्यस्ता काम सजिलै गर्न सकिन्छ त्यस बारेमा अध्ययन अनुसन्धान पनि गर्न सक्नुपर्दछ ।

भारतले नर्दन क्यानेल भनेर दक्षिण भागबाट बंगालसम्म क्यानल बनाउन लागेको छ । लङट्रम योजनाका साथ त्यो काम गरिरहेको छ । त्यहाँ गएर नेपालका नदिहरू जोडिन्छन् । हो, अब हामीले उनीहरूलाई भन्न सक्नुप-यो हाम्रो पानी तिमीहरूले प्रयोग गर तर हामीलाई बिजुली उत्पादनमा सहयोग गर र बिजुली पनि किन । यी विषयमा हामीहरूको बीचमा छलफल हुनुप-यो । भारतले अहिले ग्यालजेन नदिमा ठूल्ठूला पानीजहाज ल्याउने भनेर विश्व बैंकसँग ऋण लिएर योजना बनाइरहेको छ । उसको प्लानसँग हाम्रो प्लान पनि मिसाएर छलफल गनुप-यो ।

हाम्रो कोशी, गण्डकीलगायत नदीहरू भारतको गंगा नदीमा गएर मिसिन्छन् । यसकारण पनि पानीजहाज चल्न सक्छ । त्यसका लागि पनि विदेशी लगानी भित्र्याउन यो योजना भारतसँग मिलाउन सक्नुपर्छ । अर्को कुरा नेपालको बिजुली भारत र बंगलादेशले किन्छ नै । त्यसको लागि उनीहरूसँग नेगेसियट गरेर कुन–कुन आयोजनाको कति मेघावाट बिजुली किन्न सक्छन् भन्ने विषयम इन्टेनसिभ नेगोसिएसन गर्न सक्नुपर्छ ।

अहिले मुलुकमा लोडसेडिङ छैन, यसको मतलब नेपालको उत्पादनले आवश्यक माग धानेको हो कि लोड मेनेजमेन्ट मात्र गरिएको हो । तपाईंं विज्ञ भएको नाताले के देख्नुहुन्छ ?

साना–साना प्रोजेक्टहरू बैंक तथा फाइनान्सहरूको लगानीमा बनेकोले पनि केही राहत पक्कै भएको हो । त्यसैगरी भारतबाट पनि नेगोसियट गरेर आयात भएको र प्राधिकरणको वितरण मेनेजमेन्ट राम्रो गरिएकोले पनि सुधार भएको हो । यसअघिको प्राधिकरणको मेनेजमेन्टले बिजुली उद्योगलाई फोकस गरेर उपभोक्तलाई कम बिजुली दिएको कारण पनि बढी लाडेसेडिङ भएको हो । अहिलेको कार्यकारी निर्देशकले उद्योग र उद्योगीलाई भन्दा पनि यतातिर प्रायोरिटी दिएकोले आम उपभोक्ताले उज्यालोमा बस्न पाएका हुन् ।

नेपालमा अत्यधिक बिजुली उत्पादन गरेर प्रयोगमा ल्याउन सकिएको खण्डमा इन्धनमा भइरहेको अर्बौं लगानी नेपालमा नै राख्न सकिने अवस्था छ कि छैन ?

नेपालमा दुई किसिमको इलेक्ट्रिक पावर प्रयोग गर्न सकिन्छ, एउटा इलेक्ट्रिक र अर्को ट्र्याक्सन । ट्र्याक्सन भनेको पूर्व–पश्चिम हाइवेमा बिजुलीको रेल कुदाउन सकिने थियो । बाटो नभएको कारण त्यो हुन सकेन । बिजुलीबाट सस्तो पर्दथ्यो । ट्र्याक्सन हिमालसम्म नै चढ्न सक्छ । त्यो काम भारतले गरेको पनि छ । त्यसबाट बस, गाडी कारहरू चल्छन् । बिजुलीबाट सबै काम गर्न सकिन्छ । त्यसको लागि लगानी ल्याएर काम गर्न सक्नुपर्छ । त्यसपछि इन्धन आयात स्वतः घटेर गइहाल्छ नि ।

बिजुली निर्यात गर्न सकिने खालका अहिले नेपालमा बनिरहेको विद्युत्सम्बन्धी ठूला आयोजनाहरू पनि निर्धारित समयमा बन्न सकिरहेका छैनन् । रकम अभाव वा नीति निर्माणमा भएकोे कमजोरी के कारणले ढिला भएको देख्नुहुन्छ ?

विदेशी लगानी कहीँबाट ल्याउन सकिएको छैन । भारतसँग पनि नेगोसिएट गर्न सकिएको छैन । उत्पादनपछि कसले किन्ने भन्ने विषयमा कसैसँग समझदारी भएकै छैन । अनि कसरी ठूला आयोजना बन्न सक्छन् ? नेपालमा दशवटा ठूला आयोजना बन्न सक्छन् । त्यो पनि धेरै सस्तोमा । हामीले योजना विकास गरेर छलफलमा भारतलाई बोलायो भने ऊ आउँछ पनि ।

तपाईंले धेरै विदेशी लगानीको कुरा गर्नुभयो तर अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराउन लागेको परियोजना (एमसीसी) समेत विवादमा परेको छ नि ?

उसले ट्रान्समिसन लाइन निर्माणमा सहयोग गर्न खोजेको हो । आर्थिक हिसाबले त्यो नराम्रो होइन । तर, शर्तहरू के–के छन्, त्यो मुख्य विषय हो । मुलुक विकास गर्ने हो भने त उनीहरूको केही न केही शर्त त हामीहरूले मान्नै पर्छ । तर, उनीहरूको हात माथि पर्नेगरी होइन । मुलुकको इज्जत बचाएर ऋण लिनुपर्छ । लगानी भित्र्याउनुपर्छ । नयाँ लगानी नल्याइकन मुलुकको विकास छोटो समयमा गर्न पनि सकिँदैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie