“कर्मचारी आउन नमान्नु विकट क्षेत्रको विडम्बना हो ”

“कर्मचारी आउन नमान्नु विकट क्षेत्रको विडम्बना हो ”

बिर बहादुर घर्ती मगर
अध्यक्ष थबाङ गाउँपालिका, रोल्पा

२०३० सालमा भारतको नागालयमा जन्मिएका विरबहादुर घर्ती मगर थवाङ गाउँपालिका रोल्पाका अध्यक्ष हुन । जनतालाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने मान्यता राख्दै लामो समय सम्म संघर्षरत मगर २०४४ सालको विद्यार्थी जिवनबाट अखिल क्रान्तिकारीको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका हुन । २०४६ सालको जनआन्दोलनमा जनमोर्चामा आवद्ध भई नियमित रुपमा विद्यार्थी संगठनमा सक्रियता जनाउँदै अगाडी बढेका घर्ती मगरले २०४९ सालमा वाईसिएलमा पनि आवद्धता जनाएका थिए । जनताका अधिकारहरुलाई स्थापित गर्न शक्ति संघर्षको रुपमा २०५२ सालमा सांगठनिक रुपमा जनयुद्धको घोषणा गरी भूमिगत बनेको तत्कालिन माओवादीमा स्वसेवक दल, लडाकु दल, छापामार दलको विभिन्न सफल जिम्मेवारी सम्हालेका घर्ती मगर एक कुशल राजनीतिज्ञको रुपमा रोल्पामा परिचीत छन् । २०६२/६३ सालको जनआन्दोलनको समयमा जनमुक्ति सेनाको ब्रिगेट कमाण्डरको जिम्मेवारी सम्हालेका घर्तीमगरले शान्ति प्रक्रियापछिको सेना समायोजनमा स्वच्छिक अवकास लिएर राजनीतिक धार समातेका थिए । तत्कालिन समयमा राज्य कमिटी सदस्य रोल्पा निर्वाचन क्षेत्र नं. १ को संयोजक भई पदिय पार्टीगत जिम्मेवारी सम्हालेका घर्तीमगर हाल नेकपाको जिल्ला कमिटी सदस्य र थवाङ गाउँपालिकाको अध्यक्ष छन् । जनप्रतिनिधी जनताकै भएकोले जनताको बीचमा रहेर काम गर्नु पर्ने धारणा राख्ने विर बहादुर घर्ती सँग पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश ः

थवाङ गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

भने जस्तो तरिकाले गति लिन सकेको अवस्था छैन । हिजोको तुलानामा विकासले फड्को मारेको छ । वडा कार्यालय सम्म सडकको पहुँच, सबै वार्डहरुमा स्वास्थ्य संस्था, विकट क्षेत्रहरुमा सामुदायिक स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् । एक घर एक धाराको अवधारणाले द्रुत गति लिएको छ । कृषि र पर्यटकीय क्षेत्रको विकासको लागि आवश्यक योजनाहरु तर्जुमा गर्दै अगाडी बढेका छौं । शिक्षा क्षेत्र सुधार हुँदै गएको छ । यातायातको पहुँच बढ्दो छ । समग्रमा विकास निर्माणको क्षेत्रमा जग बसिसकेको छ । समयक्रम सँगै पूर्णतापाउनेमा आशावादी छौं ।

आम्दानीका श्रोतहरु के–कस्ता छन् ?

खासै छैैनन् । निर्वाहमुखी कृषि प्रणालीले गर्दा आयात नगरी जिविकोपार्जन हुँदैन । उद्योग कलकारखाना तथा अन्य रोजगारमूलक क्षेत्रहरु नहुँदा विदेशीनु पर्ने बाध्यता छ । प्रत्येक घरबाट एक वा सो भन्दा बढी दोश्रो र तेश्रो मुलुकमा रोजगारीको लागि गएको अवस्था छ । एक अर्थमा भन्नुपर्दा रेमिट्यान्सले धानिएको छ । चाहेर पनि कृषि क्षेत्रको विकास दु्रत गतिमा गर्न नसक्नु सबै भन्दा विडम्बनाको कुरा हो ।

कृषि क्षेत्रमा विकास गर्न नसक्नुको मुख्य कारण के हुन सक्छ ?

रोल्पा धेरै चिसो ठाउँ हो । ढिलो उत्पादन हुनु यहाँको सबैभन्दा मुख्य समस्या हो । चिसो ठाउँमा ढिलो उत्पादन हुने हुँदा खेती किसानी तर्फ आकर्षण बढ्न सकेको छैन । उत्पादन र उत्पादकत्व बृद्धि नै गाउँपालिकाको मुख्य चुनौती हो ।

विदेशमा रहेको युवा शक्तिलाई गाउँमै परिचालन गर्ने कुनै योजनाहरु बनाउनु भएको छैन ?

छैन, राख्नु पनि कसरी । न कृषि क्षेत्रमा लगाउने पर्याप्त आधारहरु छन् न त उद्योग कलकारखाना नै छन् । अलि ठुलो योजना बनाऔं भनेपनि बजेटको पर्याप्तता छैन । भौगोलिक विकटता, यातायातको समस्या जस्ता केही कारणहरुले रोजगारीका अवसरहरु सृजना गर्न सक्ने अवस्था न्यून हुँदा समस्या देखिएको छ ।

गाउँपालिकाको विकासमा यहाँले देखेका मुख्य चुनौती र विकासका के–कस्ता छन् ?

चिसोले कृषि क्षेत्रको विकास गर्न नसक्नु एउटा चुनौती हो भने, यातायात अर्को चुनौती हो । तीन चार महिना लगाएर सडक बनायो बर्खामा पहिरोले सबै मिहेनत बगाउँछ । प्याकेज बनाएर कृषि क्षेत्रको विकास र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनात्मक विकास नै एउटा आधार हो ।

चालु आवमा कति बजेटमा के–कस्ता योजनाहरु कार्यान्वयनमा ल्याउनु भएको छ ?

चालु र पुँजीगत गरी करिब १८ करोड जति बजेट विनियोजन भएको छ । त्यसमा संघीय सरकार, प्रदेश सरकारका विभिन्न शिर्षकका अनुदानहरु पनि रहेका छन् । उक्त बजेटको पुँजीगत बजेटबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन लगायतका क्षेत्रहरुका योजनाहरु रहेका छन् ।

सानो क्षेत्रमा उक्त बजेट पर्याप्त छैन र ?

छैन, जनसंख्याको हिसाबले सानो देखिएता पनि यहाँका आवश्कताहरु धेरै छन् । पहिल्यै देखि पछाडी परेको क्षेत्र हुँदा अगाडी ल्याउनको लागि धेरै संघर्ष गर्नु पर्ने हुन्छ । त्यसमा पनि सीमित बजेट ब्रेकर बन्दछ । बजेट न्यून हुँदा आवश्यकताहरु स्वतः खुम्चिन्छन् जसले दु्रत गतिमा काम गर्न सक्ने सम्भावना पनि कम नै हुन्छ ।

गाउँपालिकाका मुख्य समस्याहरु के के हुन् ?

भौगोलिक विकटता आफैमा समस्याको विषय हो । उज्वल भविष्यको निर्माण गर्ने शिक्षा क्षेत्रमा पनि उत्तिकै समस्या छ । अहिलेको समयमा पनि तीन/चार घण्टाको यात्रा गरेर अध्यापन गर्न जानु पर्ने बाध्यतात्मक अवस्थाले साना साना नानीबाबुको भविष्य प्रति हामी गम्भिर बनेका छौं । उज्यालोको समस्या पनि उत्तिकै छ । उक्त समस्यालाई समाधान गर्न सौर्य उर्जा प्रयोगमा ल्याउँदै राष्ट्रिय प्रसारण लाईन पनि जोड्नु पर्नेमा जोड दिएका छौं । सानो सानो क्षेत्रफलमा खेती र छाडा चौपायाले पु-याउने नोक्सानीहरु प्रमुख हुन ।

साक्षरताको अवस्था कस्तो छ ?

सरदरमा ३०/३५ प्रतिशत छ । अहिले सम्म एक जनाले पनि खरिदारमा नाम निकालेर निजामति सेवामा सेवारत रहेको अवस्था छैन ।

विगतका दुई आर्थिक बर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

राम्रै रह्यो । पहिलो बर्ष कार्यसम्पादनमा देखिएको केहि अन्योलता, कर्मचारी अभाव, अनुभवी कर्मचारीको अभावले केहि समस्या पारेतापनि निर्धारित समयमै करिब ८५ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सफल भयौं । दोश्रो बर्ष ९५ प्रतिशत बजेट खर्च ग-र्यौं भने चालु आवमा पनि ९५ प्लस खर्च गर्ने लक्ष्यका साथ अगाडी बढेका छौं ।

नीति नियम, कार्यविधी कति जति निर्माण भएका छन्र ?

सबै गरेर १७ वटा जति बनाएका छौं । मुख्य समस्या भनेको ग्रामिण क्षेत्रमा कर्मचारी आउन नमान्नु र आएका कर्मचारीले सिकाउलान भन्दा सिकाउनु पर्ने हुँदा द्रुत गतिमा चाहेर पनि काम गर्न नसक्ने अवस्था छ । सबैले सुविधा सम्पन्न क्षेत्र र शहरमात्र रोजाईमा पार्ने हुँदा ग्रामिण तथा पहाडी र हिमाली क्षेत्रको विकासको लागि सरकार बढी सक्रिय हुनु पर्ने देखिन्छ । जसले जता रोज्छ त्यहि पठाउने गलत परम्पराको अन्त्य नहुँदा सम्म पीछडिएका क्षेत्रहरुको विकास हुन सक्दैन ।

हाल सम्म बनेका नीति नियम ऐन कानून तथा कार्यविधीहरु पर्याप्त छन् त ?

छैनन्, आवश्कता अनुसार निर्माण गर्दै जाने रणनीति बनाएका छौं । कर्मचारी अभावकै कारणले गर्दा सोचे जस्तो सफलता पाउन सकिएको अवस्था छैन् । काम गर्दै जाँदा एक दिन गन्तव्यमा पुग्न सकिनेमा आशावादी छौं ।

पाँच बर्षे कार्यकालमा कस्तो गाउँपालिकाको कल्पना गर्नु भएको छ ?

सबैका चाहना र आवश्यकताहरु त असीमित र महत्वाकांक्षी हुन्छन् । हामी पनि त्यसैका उदाहरण्ीय पात्रहरु हौं । सीमित श्रोत र साधनको बन्धनमा बाँधिनु पर्ने बाध्यताले सोचे जस्तो सफलता पाउन त कठिन नै हुन्छ तरपनि बलियो जग बसाल्ने गरी कार्यसम्पादन गरेका छौं । जग बलियो भएपछि त्यस भन्दा माथिको प्रक्रियामा जसले पनि अगाडी बढाउन सक्छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

यहाँ र यहाँको अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकलाई विशेष धन्यवाद । गाउँपालिकाको बारेमा पत्रिका मार्फत केही शब्दहरु राख्ने स्थान दिनु भएकोमा । जुन सुकै क्षेत्रमा पनि बलियो जगको आवश्यकता हुने हुँदा जग बसाल्नु महत्वपूर्ण उपलब्धी हो । सम्भावनाहरुलाई कार्यन्वयन गर्दै श्रोत र साधनको अत्याधिक परिचालन गरेर अगाडी नबढेसम्म विकास निर्माणमा फड्को मार्न सकिंदैन । विकास हरेक क्षेत्रको आवश्यकता भएकोले विकास निर्माणमा एक भएर लाग्नु पर्छ । गर्दै नगर्नु एउटा कुरा हो भने, गर्दा गर्दै नहुनु अर्को कुरा हो । गर्दा गर्दै तत्काल नहुने कुरा भविष्यमा हुन्छ भने
नगरी भएन भनिएको काम जिवपन भर हुन सक्दैन । वास्तवमा सफलता पनि काम गर्दागर्दै असफलता र चुनौतीहरुलाई छिचोलेपछि प्राप्त हुने भएकोले मिहेनत सबै भन्दा महत्वपूर्ण हुन्छ । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट

 

प्रतिकृया दिनुहोस


Techie