‘मोबाइल व्यवसाय धरापमा छ’

पुरुषोत्तम बस्नेत अध्यक्ष, नेपाल मोबाइल व्यवसायी संघ

‘मोबाइल व्यवसाय धरापमा छ’

सहरमा मात्र होइन, ग्रामीण बस्तीमा समेत मोबाइल फोन प्रयोग नगर्ने आजकल सायद कमै मानिस भेटिन्छन् होला । यतिसम्म कि एउटै परिवारका सदस्यहरूसँग फरक–फरक कम्पनीका मोबाइल उपलब्ध छन् । तर, मोबाइल व्यवसाय सञ्चालन गर्नेहरू भने यो व्यवसायबाट सन्तुष्ट बन्न सकिरहेका छैनन् । किन ? नेपालमा प्रयोग हुने अधिकांश मोबाइल फोन विदेशबाट आयात हुँदै आएका छन् र व्यवसायीहरूले आयातकर्तासँग नगद तिरेर बजारमा भने उधारोमा कारोबार गनुपर्ने भएकोले पनि व्यवसाय धरापमा पर्दै गएको बताउँछन् संघका अध्यक्ष पुरुषोत्तम बस्नेत ।

उनका अनुसार अहिले नेपालमा विभिन्न मुलुकबाट फरक–फरक कम्पनीले उत्पादन गरेका मोबाइलहरू भित्रिरहेका छन् । तीमध्ये पनि नेपालमा हुवावे, समासुङ र एप्पल कम्पनीका मोबाइलले नै बजारलाई धानिरहेको छ । मुलुकभर करिब १८ हजार मोबाइल पसल सञ्चालनमा रहेको बस्नेतको भनाइ छ । यो क्षेत्रमा करिब ५० हजारले प्रत्यक्षरूपमा रोजगारी पाएको उनले बताए । हाल मोबाइल व्यवसायको अवस्था, बजारीकरण र यस क्षेत्रका समस्याका बारेमा केन्द्रित रहेर उनै बस्नेतसँग आर्थिक दैनिकका लागि कृष्णप्रसाद लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :

अहिले मोबाइल व्यवसाय कसरी चलिरहेको छ ?

नेपालमा हाल मोबाइल व्यवसायको अवस्था त्यति राम्रो छैन । किनभने नगदमा भन्दा पनि उधारोमा कारोबार गर्नुपरेकोले पनि व्यवसाय दिनप्रतिदिन ओरालो लागेर धारासायी भइरहेको छ । बजारमा धेरै कम्पनीका मोबाइलहरू दिनप्रतिदिन भित्रिरहेका छन् । त्यसमा प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढी भइरहेको छ । मार्जिन पनि निकै कम रहेको छ । यही कारण व्यवसीहरूलाई व्यवसाय धान्न पनि मुस्किल परिहेको छ । डिस्ट्रिव्युटरले बजारमा जति पनि सामान उधारोमा दिएको हुन्छ, तर त्यसको पेमेन्ट पनि उठ्न कठिन छ । यसकारणले गर्दा व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

व्यवसायमा देखिएको समस्या समाधानको लागि संघले कस्तो पहल गरिरहेको छ ?

व्यवसाय सुरक्षित गर्नको लागि क्यासमा नै कारोबार गर्न आवश्यक छ । होइन भने चेकमा भए पनि कारोबार गर्नको लागि पहल गरेका छौँ । त्यसो गर्न सकियो भने व्यवसायी पनि सुरक्षित हुन्छ । अहिलेसम्मको ट्रेन हेर्दा उधारोमा कारोबार बढी हुने गरेको र उनीहरूले समयमा पेमेन्ट नगर्दा व्यवसायीहरू धेरै नै मर्कामा पर्दै आएका छन् । कतिपय पसलेहरू पसल बन्द गरेर भाग्ने गरेका पनि छन् । उनीहरूको कारण हामी व्यवसायी बढी मर्कामा परेका छौँ ।

अहिले बजारमा बढी प्रयोगमा आएको मोबाइल र ग्राहकहरूले रुचाएको कम्पनी कुन हो ?

बढी चल्तीमा आएका भनेको एनड्रोइड नै हुन् । यसमा पनि विभिन्न ब्राण्डहरू छन् । हुवावे, एप्पल, ओप्पो, सामसुङलगायतका नै बढी प्रयोगमा आइरहेका छन् । नेपालमा मोबाइल फोन भित्रिँदा कम्पनीभन्दा पनि मोबाइल मात्र हेरिने गरिन्थ्यो । तर, आजकल मानिसहरूको ब्राण्ड नै राजाइमा पर्ने गरेको छ ।

सबै ब्राण्डका मोबाइल विदेशी कम्पनीका भएकोले आयतको स्थिति कस्तो छ ?

आयातमा पनि सरकारको मनोपोली छ । निश्चित वर्ग र समुदायको मात्र पहुँच हुनेगरी नीति बनेको छ । लाइसेन्सहोल्डरले मात्र आयात गर्ने व्यवस्था रहेको छ । भन्सार नीति पनि त्यस्तै किसिमको छ । जस्तो दूरसञ्चार प्राधिकरणबाट टाइप अफ एप्रुबलको सर्टिफिकेट लिनुपर्ने र त्यो लाइसेन्स भएपछि मात्र एलसी खोलेर आयात गर्न पाउने भन्ने प्रावधान त्यसमा रहेको छ । त्यसैगरी उत्पादक कम्पनीले अथोराइजेसन सर्टिफिकेट दिएपछि मात्र आयात गर्न सकिने भन्ने कुरा राखिएकोले समस्या देखिएको हो ।

उदाहरणको लागि कोहीकसैले दुवई, कोरिया वा चाइनाबाट ओरिजिनल सामान ल्याउने अधिकार त व्यवसायीलाई हुनुप-यो नि । तर, उत्पादक कम्पनीसँग नै लिनुपर्ने, टाइप अफ एप्रुबलको प्रमाणपत्र भएपछि मात्र भन्सारबाट सामान छुटाउन सकिने भन्ने खालका अफ्ठ्यारा प्रावधान राखिएका छन् । त्यो कारणले गर्दा केही सीमित व्यक्तिलाई एकाधिकार दिन खोजेको देखिएको छ । यसमा नेपाल दूरसञ्चार प्राधिकरणले सुधार गर्नुपर्छ ।

यही प्रावधानका कारणले खुला मार्केटलाई एकदमै असर पु-याएको अवस्था छ । यो नीतिले गर्दा केही सीमित मानिसलाई एकलौटी र मनमौजी रूपमा काम गर्न सजिलो पार्ने काम गरेको छ । साना व्यवसायी र कम पुँजी भएकाहरूले आयात गर्न नसक्ने गरी बनाइएको नीतिले प्रतिस्पर्धाको बजारलाई नै प्रभावित गरेको छ । प्रतिस्पर्धाको मार्केटमा सरकारले निर्णय गरेर सीमित व्यक्तिलाई मात्र आयातको लाइसेन्स दिँदा त्यसको मार उपभोक्तासम्ममा परेको छ ।

प्राधिकरणको भन्सार छलेर वा झोलामा सामान ल्याएर बेच्नेहरूका विरुद्धमा त राम्रो होइन र ?

त्यही अंकुशले गर्दा साना व्यवसायीहरूले भन्सार छलेर सामान ल्याएका हुन् । यसरी अंकुश लगाइएको थिएन भने त उनीहरूले पनि भन्सार तिरेर ल्याइहाल्थे । भन्सार तिरेर ल्याउने वातावरण नै नभएपछि अवैधरूपमा त्यसरी बजारमा भित्रिएको हो जस्तो मलाई लाग्छ । यदि व्यवसायीलाई भन्सार तिरेर आयात गर्नको लागि सहज वातावरण बनाएको खण्डमा अवैध ढंगले हुने गतिविधिमा स्वतः कमी आउन सक्छ ।

भन्सार छलेर वा अवैध ढंगले पनि नेपालमा मोबाइल भित्रिरहेका छन् भनिन्छ, यसमा कतिको सत्यता रहेको देख्नुहुन्छ ?

चोरी गरेर त आउने सम्भावना नै छैन । अहिले मोबाइलबाट नै धेरै कुराको निगरानी गर्न सकिने भएकोले पनि यसमा सत्यता छैन । भन्सार छलेर अवैध ढंगले ल्याउनेहरूको गिरोह सक्रिय रहेको समाचारहरू त बेलाबखत बाहिर आइरहेका छन् । त्यसलाई नियन्त्रण गर्ने काम सरकारको हो । हामी व्यसायीले त आवाज मात्र उठाउने हो । सरकारले नीति बनाएर व्यवस्थित गर्न चाहेको खण्डमा त्यो पनि नियन्त्रण हुन सक्छ ।

तपाईंलाई सरकारले के गरेको खण्डमा व्यवसाय फस्टाउन सक्छ भन्ने लागेको छ ?

सरकारले दुई दशमलव पाँच प्रतिशत भन्सार शुल्क लिइरहेको छ । एउटा ठूलो साइजको मोबाइल ल्याउने र सानो साइज अर्थात् मूल्य कम देखाएर न्यून बिजकीकरण गर्नु भएन । भ्याट फिर्ता दिने गरेको थियो त्यसलाई अहिले बन्द गरिएको छ । त्यसैगरी मोबाइल टेस्ट गर्ने ल्याब नै छैनन्, तर सरकारले ल्याब टेष्ट गर्नुपर्ने प्रावधान राखिदिएको छ । यसैगरी आयतको लागि एप्रुबलको प्रावधान राखिएको छ । त्यसको आवश्यकता नै छैन ।

साथै सबै किसिमका व्यवसायीले भन्सार तिरेर सजिलैसँग आयात गर्नको लागि वातावरण बनाइएको खण्डमा बजारमा प्रतिस्पर्धा पनि बढी हुन्छ र मूल्य पनि कम पर्न जान्छ । त्यसपछि उपभोक्ताले कम मूल्यमा गुणस्तरीय सामान पाउनेछन् । सामान बेच्नेले नै सर्भिसको व्यवस्था गर्नुपर्ने भएकोले आयातकर्तालाई जोखिम छैन । यसको जोखिम व्यवसायीले लिनुपरिरहेको अवस्था छ । यस विषयमा सरकारले ध्यान पु-याएको खण्डमा मोबाइल व्यवसाय सजिलोसँग अगाडि बढाउन सकिन्छ ।

यो व्यवसायमा अहिले कति संख्या आबद्ध भएको पाउनुभएको छ ?

अहिले १८ हजारभन्दा बढी त पसल नै खुलेका छन् । मेरो विचारमा यो व्यवसायमा ४०/५० हजारले नै रोजगारी पाएका छन् ।

व्यवसायीहरूका तत्कालीन समस्याहरू के–के छन् ?

धेरै कुरा त मैले माथि पनि बताइसकेको छु । हाम्रो मुख्य समस्या भनेको उधारोमा बेचेको सामानको समयमा भुक्तानी नहुनु नै हो । हामीले नगदमा किनेर ल्याएको सामानलाई बजारमा उधारोमा बेच्नुपरेको छ । त्यसको पैसा समयमा नउठेपछि हामी समस्यामा परेका छौँ । बजारमा सामानभन्दा पनि माग बढी छ ।

व्यवसायी संघमा कति व्यवसायीहरू आबद्ध भएका छन् ?

संघमा अहिले दुई सयभन्दा बढी सदस्य बनेका छन् । यसलाई पनि हामी सातै प्रदेशमा विस्तार गर्ने योजना बनाइरहेका छौँ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie