विद्यार्थीलाई उच्च तहमा पुग्ने हैसियतको बनाउनु शिक्षकको कर्तव्य हो

विद्यार्थीलाई उच्च तहमा पुग्ने हैसियतको बनाउनु शिक्षकको कर्तव्य हो

तारा प्रसाद छन्तेल
अध्यक्ष, दुर्गा मावि, तिलोत्तमा नपा, रुपन्देही


२०२४ सालमा मलेशियामा जन्मिएका तारा प्रसाद छन्तेल दुर्गा मावि तिलोत्तमा नगरपालिका–१३, दुर्गानगर रुपन्देहीका अध्यक्ष हुन । बाल्यकालको चार बर्ष सम्म मलेशिया बसेका छन्तेलको पुख्र्यौली घर बागलुङको धम्जा सायाकोट भन्ने ठाउँमा हो । दश बर्षको उमेर सम्म पुख्र्यौली ठाउँमा बसेका छन्तेलले उक्त ठाउँमा कक्षा तीन सम्म अध्यन गरेका थिए । २०३४ सालमा रुपन्देहीको साविक टिकुलीगढ गाविसको दुर्गानगरमा बसाईसरी आएका छन्तेलले कक्षा १० सम्म स्थानिय टिकुलीगढ माविमा अध्यन गरेका थिए । भैरहवा बहुमुखि क्याम्पसबाट कर्मसमा स्नातक गरेका छन्तलले पूर्वाञ्चल विश्वविद्यालयबाट शिक्षामा स्नाकोत्तर गरेका छन् । २०४६ सालमा तत्कालिन दुर्गा प्राविबाट अस्थाई शिक्षकको रुपमा शैक्षिक पेशामा प्रवेश गरेका छन्तेल २०४८ सालमा प्रअको जिम्मेवारी सहित स्थाई रुपमा शैक्षिक पेशालाई निरन्तरता दिएका थिए । २०६२ सालमा प्राविबाट निमावि र २०६६ सालमा माविमा स्तरोन्नती गराउन सफल छन्तेलको कार्यकुशलताकै कारणले विद्यालयले श्रोत केन्द्रमा आफ्नै पहिचाहन बनाउन सफल भएको छ । २०७५ जेठ सम्म प्रअको जिम्मेवारी सम्हालेका छन्तेल सेवा अवकासको तीन महिना पछि पुन सोही विद्यालयमा अध्यक्षको जिम्मेवारी सम्हालेका हुन । विद्यालयमा शिक्षक, प्रअ हुँदै अध्यक्षको जिम्मेवारी सम्हाल्न सफल विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष तारा प्रसाद छन्तेल सँग  पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः


शिक्षक, प्रअ हुँदै विद्यालय व्यवस्थापन समीतिको अध्यक्षको पदिय जिम्मेवारीमा हुनुहुन्छ, यो कसरी सम्भव भयो ?
सम्भवको मुख्य आधार भनेको कार्यकुशलता हो । इमान्दारी र विश्वसनीय तरिकाले काम गर्दै जाँदा सफलताले आफै बाटो पहिल्याउँछ । शिक्षक भएर शैक्षिक संस्थामा प्रवेश गरे, प्रअको प्रस्ताव राख्नु भयो प्रअ भए । लामो समय सम्म विद्यालयको बृद्धि विकासमा ईमान्दारिताका साथ दिन रात मिहेनत गरेर शैक्षिक संस्थालाई एउटा उचाईमा पु¥याउन प्रयासरत रहिरहे । अवकाश लिएपछि पुन स्थानियहरुले तपाईं नै विद्यालय व्यस्थापन समीतिको अध्यक्ष बन्नुपर्छ भन्नु भो । शिक्षक विद्यार्थी अभिभावक सबैको चाहना र प्रस्ताव अनुसार विद्यालय व्यवस्थापन समीतिको अध्यक्ष बनेको हुँ । संक्षिप्तमा भन्नुपर्दा संस्था प्रतिको मेरो मिहेनतको श्रेय हो ।


२७ बर्ष लामो समय सम्म प्रअको जिम्मेवारीमा रहनु भयो, विद्यालयको लागि यहाँले के कस्ता योगदान दिनु भयो त ?
मेरो कामको योगदान कति थियो थिएन भन्ने कुरा यहाँका स्थानियहरुले मुल्याङकन गर्नु भएको छ । त्यहि मुल्याङकनकै एउटा उदाहरण हो शिक्षण पेशाबाट अवकास पछि पनि शैक्षिक संस्था छोड्नु हुँदैन अध्यक्षमा रहेर काम गर्न अवसर दिनु । समग्रमा भौतिक पूर्वाधारको विकास, गुणस्तरिय शिक्षाका लागि दिएको योगदान र आर्थिक श्रोत बलियो बनाउनका लागि अगाडी सारेका विभिन्न योजनाहरु, अक्षकोष स्थापना, विद्यालयको स्तरोन्नतीमा खेलेको भूमिका लगायत धेरै कामहरु भएका छन् ।


अवका योजनाहरु के के छन् त ?
धेरै कामहरु त प्रअको जिम्मेवारीमा रहँदा भएका छन् । अबको योजना भनेको समय अनुसारको परिवर्तन गर्नु हो । अहिले अग्रेजी माध्यमको पढाई आवश्यकता छ । कक्षा दश सम्म अग्रेजी माध्यममा अध्यापन गराउने योजना छ । व्यावहारिक शिक्षाको लागि उपयुक्त प्राविधिक शिक्षाको पठन पाठनको व्यवस्था गर्ने, आवश्यक पूर्वाधारको विकास मुख्य लक्ष्य रहेको छ ।


प्राविधिक शिक्षा प्रति आकर्षित हुनुको कारण के होला ?
अहिले प्राविधिक शिक्षाको आवश्यकता बढ्दै गएको छ । शिक्षा आर्जन गरिसकेपछि जो कोहीले पनि उक्त शिक्षालाई व्यावहारिकतामा ल्याउन खोज्छ जुन स्वभाविक पनि हो । सबैको चाहना प्राविधिक शिक्षा तर्फ बढेकोले उक्त शिक्षाको व्यस्था गर्नु शैक्षिक संस्थाको कर्तव्य हो । प्राविधिक शिक्षाले यहाँका किसानका छोराछोरीले गाउँमा बसेर सिक्ने र काम गर्न सक्ने वातावरण सृजना हुन्छ । जसले गर्दा भोली बजारमा विक्न सक्ने अवसरहरुको सृजना भई भविष्यलाई उज्वल बनाउन सक्ने आधारहरु निर्माण हुन्छन् ।


बेला बेलामा महायज्ञ गरेर आर्थिक संकलन गर्नुहुन्छ, विद्यालयमा आर्थिक श्रोत नभएर होकी श्रोत बलियो बनाउनका लागि हो ? लक्ष्य के हुन सक्छ ?
भैलो खेलेर, चिठ्ठा कार्यक्रमहरुबाट सानातिना आवश्यकताहरुलाई पुर्ती गर्दै आएका छौं । महायज्ञको मुख्य उद्देश्य अंग्रेजी माध्यमबाट अध्यापन गराउनुका साथै विद्यार्थी बोक्नको लागि सवारी साधनको खरिद गर्नु अहिलेको मुख्य आवश्यकता हो । त्यसैगरी व्यवस्थित चमेना गृह, व्यावसायिक प्रायोजनको लागि सटर सहितको भौतिक संरचना निर्माण गर्ने छ । मुख्य उद्देश्य दश कक्षा सम्म अंग्रेजी माध्यममा अध्यापन गराउने र प्राविधिक शिक्षाको व्यवस्था गर्ने रहेको छ ।


महायज्ञबाट कति संकलन गर्नु भयो त ?
हाम्रो लक्ष्य ५० लाखको थियो । सम्पूर्ण हिसाब किताब भै नसकेको हुँदा लक्ष्यकै सेरोफेरोमा छौं जस्तो लाग्छ ।


उक्त रकमले यहाँहरुका योजनाहरु सफल बनाउन पर्याप्त हुन्छ ?
पर्याप्त नभएपनि केहि योजनाहरुलाई सफल बनाउन सम्भव हुन्छ ।


विद्यालयमा अन्य आम्दानीका श्रोतहरु पनि छन् ?
खासै छैनन् । माछा पोखरीबाट बार्षिक केही रकम आउँछ । दाउरा बेचेर र कक्षा छ देखि दश सम्मका कक्षाबाट संकलन हुने सामान्य शुल्क नै हो ।


अहिलेको अवस्थामा विद्यालयमा विद्यार्थी संख्या कति छ ?
तीन सय ५० जना विद्यार्थीहरु रहेका छन् । घट्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै अग्रेजी माध्यमलाई अगाडी सार्ने योजना बनाएका हौं । प्ले गु्रप र नर्शरी कक्षा सञ्चालन सँगै विद्यार्थीको संख्या बृद्धि हुँदै गएको ।


कक्षा ११ र १२ सञ्चालन गर्ने कुनै योजनाहरु बनाउनु भएको छैन ?
छैन, किन राखिएको छैन भन्दा पछिल्लो समयमा प्राविधिक शिक्षा तर्फ आकर्षण बढ्दै गएको छ । विद्यालयले अबको एक दुई बर्षमै प्राविधिक शिक्षा ल्याउने योजना बनाएकोले नौं कक्षा देखि १२ कक्षा सम्म सोही विषय पढाउने योजना बनाएका छौं । कक्षा ११ र १२ सञ्चालनको लागि मुख्य समस्या भनेको यहि शैक्षिक संस्थाबाट पास भएका विद्यार्थीहरुको रोजाई अन्य विद्यालय पर्नु नै हो । अर्को हामी सँग दरबन्दी पनि नहुँदा समस्या देखिएको हो । मावि तर्फ अनुदानका दुईवटा कोटा मात्र छन् यस्तो अवस्थामा कसरी सम्भव हुन्छ कक्षा ११ र १२ सञ्चालन गर्न ।


अहिले शिक्षक कर्मचारीको संख्या कति छ ?
२१ जना हुनुहुन्छ । त्यसमा दरबन्दी माविमा एक वटापनि छैन । अनुदानमा एक वटा नगरपालिकाबाट र एक वटा जिल्लाबाट मात्र छ । निमाविमा तीन वटा राहत, प्राविमा पाँच जना स्थाई, बालविकासमा दुई जना शिक्षक हुनुहुन्छ भने अरु सबै निजीश्रोतबाट राखेका छौं ।


समग्र जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजामा विद्यालयको अवस्था कस्तो छ ?
मुख्य गरेर श्रोत केन्द्र स्तरिय हुन्छ । श्रोत केन्द्र स्तरमा तिलोत्तमा नगरपालिकामा अहिलेको अवस्थामा हामी तेश्रो स्थानमा छौं । यत्तिमा मात्र सिमित हुनुहुँदैन अझै सुधार गर्नुपर्छ भन्ने मान्यता अनुरुप सञ्चालित भएकोले गुणस्तरिय शिक्षामा जोड दिएका छौं ।


शिक्षककै कारण सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षामा ब्रेक लागेको आरोप लगाईन्छ नी यहाँलाई के लाग्छ ?
केहीहद सम्म त्यो कुरा सहि छ । तर सबैलाई पोल्नुपर्ने अवस्था पनि हैन । जहाँ शिक्षक ईमान्दार भएर मेरो कर्तव्य, मेरो डिउटी हो भनेर राम्रो सँग अध्यापन गराएको अवस्थामा यस्ता प्रकृतिका कुराहरु आउँदैनन् । “राजाको काम कहिले जाला घाम” भनेर आफ्नो जिम्मेवारी भुलेको अवस्थामा त्यसले धेरैको भविष्यमा आघात पु¥याएको हुन्छ । विद्यार्थीलाई ज्ञान दिनु भन्दा व्यक्तिगत स्वार्थ हावी भयो भने त्यसले नकारात्मक असर पार्न सुरु गर्दछ । त्यस्ता शिक्षकहरु पनि धेरै भएको पाईन्छ । मैले विद्यार्थीलाई सिकाउनु पर्छ, राम्रो बनाउनु पर्छ । मैले अध्यापन गराएको विद्यार्थीलाई देशकै उच्च तहमा पुग्नेगरी तयारी गराउनु पर्छ भन्ने मानसिकताको विकास गरी सोही अनुसार पठनपाठन गराउनु पर्छ । राज्यले पनि यो कुरा प्रति बढी चासो दिएर लाग्नु पर्ने अवस्था देखिन्छ । समय समयमा पाठ्यक्रम परिवर्तन गर्नु पर्ने देखिन्छ । पाठ्यक्रम परिवर्तनले शिक्षकलाई मिहेनती बनाउनुको साथै विद्यार्थीमा पनि समय अनुसारको नयाँ ज्ञान प्राप्त गर्ने अवसर सृजना हुन्छ ।


अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
सर्व प्रथम त यहाँलाई विशेष धन्यवाद । व्यक्तिगत तथा संस्थागत कुराहरु राख्ने अवसर प्रदानगर्नु भएकोमा । शिक्षा भनेको निरन्तर चलिरहने प्रक्रिया हो । यसमा अभिभावक शिक्षक विद्यार्थी सबैले शिक्षाको महत्व बुझ्नु जरुरी छ । अभिभावक ज्यूहरुले आफ्नो बच्चालाई कस्तो बनाउने, बच्चाको ईच्छा के छ, विचार कस्तो छ, ईच्छालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ । शिक्षकहरुले पनि आफ्नो जिम्मेवारीलाई राम्रो सँग बहन गर्दै कर्तव्यनिष्ठ भएर लाग्नु पर्छ । जसले गर्दा शिक्षकको नाम रहनुको साथै सम्मानित हुने अवसर पनि प्राप्त हुन्छ । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट

 



प्रतिकृया दिनुहोस



विविध

Techie