‘राम्रो कामको विरोध वितण्डा मच्चाएर स्वार्थ लुट्नेहरूले मात्र गर्दछन्’

मोहन चापागाईं अध्यक्ष, नेकपा, तिलोत्तमा नगर कमिटी, रूपन्देही

‘राम्रो कामको विरोध वितण्डा मच्चाएर स्वार्थ लुट्नेहरूले मात्र गर्दछन्’

सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिकलगायत बहुक्षेत्रहरूमा सक्रिय आबद्धता जनाएका मोहन चापागाईं तिनै क्षेत्रहरूको परिस्कृत विकासमा कलम चलाउने एक पत्रकार पनि हुन् । पत्रकारितालाई साथसाथै डो-याउँदै उदयमान राजनीतिज्ञको रूपमा चर्चा बटुल्दै अगाडि बढेका चापागाईं २०३० सालमा रूपन्देहीको संकरनगरमा जन्मिएका हुन् । बुटवल क्याम्पसबाट स्नातक गरेका चापागाईंले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका चापागाईं २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलन सक्रिय भूमिका निर्वाह गर्ने क्रममा १७ दिन हिरासतको यातना भोगेका छन् ।

२०५१ सालमा कार्यमूलक पत्रकारिताबाट सञ्चार जगतमा पाइला राखेका चापागाईंको तत्कालीन समयमा राजनीति र पत्रकारिता सँगसँगै चलेको थियो । विद्यार्थी जीवनमा इलाका कमिटी इन्चार्ज, जिल्ला कमिटी सदस्यलगायत विभिन्न विभागीय क्षेत्रहरूमा रही कार्यसम्पादन गरेका चापागाईं हाल नेकपाको रूपन्देही जिल्लाको प्रचारप्रसार विभाग संयोजक तथा तिलोत्तमा नगरपालिकाको नगरक मिटीमा अध्यक्ष भई पार्टीगत जिम्मेवारी सम्हालेका छन् । नेपाल पत्रकार महासंघ रूपन्देही शखाको पाँचौँ अध्यक्षसमेत बनेका चापागाईं रेडियो प्रचारक संघ र रेडियो लुम्बिनीको निवर्तमान अध्यक्षका साथै दैनिक लुम्बिनी पत्रिकाको वर्तमान अध्यक्षको रूपमा कार्यरत छन् ।

२०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता लिएर राजनीतिक यात्रालाई थप ऊर्जावान बनाएका चापाईंगाई सञ्चार क्षेत्रको सक्रियताले राजनीतिक यात्रालाई पछाडि छोडेको थियो । विद्यार्थी जीवनमा अखिलको केन्द्रीय सदस्यसम्म बनेका चापागाईं पत्रकारिता क्षेत्रको सक्रियताले जिल्ला तथा अञ्चलमा प्रचारप्रसार विभाग संयोजकसम्मको पदीय भार सम्हाल्न सफल भएका थिए । पछिल्ला चार/पाँच वर्षहरूमा राजनीतिमा सक्रिय भूमिका मोहन चापागाईंसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

चौथो अंगको रूपमा चिनिने सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन हुँदाहुँदै राजनीतिमा पाइला राख्नुको कारण के होला ?

मेरो सामाजिक जीवनको सुरुवात राजनीतिबाटै भएको हो । १७ दिन हिरासतमा रहँदा स्थानीय पत्रिकाले त्यस विषयमा समाचार सम्प्रेषण गरेका थिए । त्यसबाट पनि पत्रकारितामा प्रभावित भए । आय आर्जनको रोजगारीको स्रोत, व्यक्तिगत जीवनयापनमा भूमिकाको निर्वाहलगायतको हिसाबले पत्रकारितामा पेशागतरूपमा लागे । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको हुँदा राजनीति पहिलो र पत्रकारिता दोश्रो स्थानको रोजाइ हो । राजनीति गर्दागर्दै पत्रकारितामा लागेको थिए र सञ्चार क्षेत्रमा अझै पनि संलग्न छु । राजनीति पनि गर्ने सक्रिय पत्रकारिता पनि गर्ने कुरा त्यति सम्भव देखिएन । लेख रचना लेख्ने विचार दृष्टिकोण दिने कुरा स्वाभाविक हो । दिन प्रतिदिन समाचार लेख्ने गरेको छैन ।

यसको मतलब मुख्य बाटो राजनीति हुन्छ, पत्रकारिता छोड्नुहुन्छ ?

राजनीति मुख्य बाटो भए पनि सञ्चार क्षेत्रमा संलग्नता रहिरहन्छ । पत्रकारितामा सक्रियरूपमा नलागे पनि समसामयिकरूपमा विचार र दृष्टिकोणहरू त हिजो पनि लेखेको थिएँ, आज पनि लेखेको छु र भोलि पनि लेख्दै जाने प्रण छ ।

खोजी–खोजी सचेत गराउने सञ्चार क्षेत्र र रणनीतिक योजनाहरूले समृद्धि ल्याउने राजनीतिमा दुवैको तालमेल नमिल्दा र आ–आफ्नो धर्म राम्रोसँग निभाउन नसक्दा दु्रत गतिमा विकास हुन सकेन भन्ने कुराहरू पनि सुनिने गरिन्छ, यहाँको विचारमा यसको वास्तविकता के होला ?

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका यी तीनवटा कुराहरूले एक–अर्कालाई कन्ट्रोल गर्दै नियन्त्रण सचेत गराइरहेका हुन्छन् । कहिलेकाहीँ विशिष्ट परिस्थितिको सिर्जना भई यी तीनै पक्षहरू एकै ठाउँ उभिएर कुनै प्रकारको गलत काम पनि गरिरहेका हुन सक्छन् । त्यसका लागि चौथो अंग पत्रकारिताले त्यसभित्र भएका गलत कामहरूलाई बाहिर ल्याउन सक्छ, उजागर गर्न सक्छ । नागरिकलाई सचेत गराउन सक्छ । नागरिक सशक्तीकरण गर्न सक्छ ।

पत्रकारिताले सकारात्मक विचार, समाचार सम्प्रेषणको कारणले सकारात्मक कुराहरूको विकास हुन्छ । तर, यसको मतलव यो होइन कि त्रुटीहरू, गल्तीहरू सच्याएर लेख्नुपर्छ भन्ने, भ्रष्टाचारको समाचार किन लेख्छ पत्रकारिताले, भ्रष्टाचार बढाउन त होइन, जसले भ्रष्टाचार गरेको छ उसलाई कारबाही हुनुपर्छ, भनेर भोलिका दिनमा त्यो बाटो अरु कसैले नरोजून् भन्नु नै मुख्य उद्देश्य हो । खालि सकारात्कम कुरा र गरेका राम्रा कामहरूको मात्र लेख्ने काम पत्रकारिताको पूर्णता होइन । कतै–कतै त्यस्ता भ्रमित कुराहरू पनि सम्प्रेषण भइरहेको देखिन्छ । पत्रकारिताको मूल मर्म र भावना भनेको राम्रा र सकारात्मक कुराहरूलाई सम्प्रेषण गर्दै भएका कमजोरीहरूलाई औँल्याउनु हो ।

सञ्चार क्षेत्रहरू स्वतन्त्र भएनन् राजनीतिक आवरणभित्र रुमलिए भन्ने गुनासाहरू धेरै सुनिन्छन्, दुवै क्षेत्रमा यहाँको प्रभावकारी उपस्थितिमा अनुभवको कुरा गर्दा राजनीतिक आवरणभित्र सञ्चार क्षेत्र निशास्सिएको छ वा समृद्धिका लागि सहकार्य गरेको छ ?

निकै सैद्धान्तिक प्रश्न गर्नुभयो । संसारभरि नै सञ्चार क्षेत्र कसरी चल्नुपर्छ कस्तो हुनुपर्छ भन्ने कुरामा पत्रकारितामा स्वत्रता पाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । तर, त्यसभित्र कस्तो गर्ने भन्ने विभिन्न देशहरूका उदाहरणहरू फरक फरक छन् । कतिपय मुलुकका पत्रकारहरू राजनीतिक पार्टीभित्र लागेर पनि पत्रकारिता गरेको पाइन्छ । कतिपयले एउटा पार्टीको एउटा चुनावी अभियानका लागि पैसा लिएर गरेका समूहहरू पनि भेटिन्छन् । कतिपय मुलुकहरूमा पत्रकारिता राजनीतिभन्दा विल्कुलै अलग हुनुपर्छ भन्ने मान्यता छ । सबैका आफ्ना आफ्नै तौरतरिका भए पनि राजनीति एउटा मिसनमा सञ्चालन हुने हो ।

मिसन पत्रकारितामा राजनीतिसँग जोडिनु कुनै अस्वाभाविक तथा नौलो कुरा होइन । पूर्णरूपमा राजनीतिसँग जोडिन्न भन्ने कुरालाई अन्यथा मान्ने कुरा पनि भएन । मेरो विचारमा पत्रकारिता राजनीतिबाट निरपेक्ष हुन सक्दैन । कसका लागि कलम चलाउने, विकासका लागि, गरिबी न्यूनीकरणका लागि, सुशासनका लागि, आर्थिक क्षेत्रको विकास लागि लगायत अन्य धेरै क्षेत्रहरूमा कलम चलाउन सकिन्छ । त्यसभित्र आलोचना गर्ने पत्रकारिताको गुणलाई राजनीतिले नष्ट गर्नु भएन । यसकारणले गर्दा पनि राजनीति र पत्रकारिताका सबै चिज एकै होइनन् तर सबैभन्दा नजिकको सम्बन्ध भएका क्षेत्रहरू हुन् । स्वतन्त्रता भनेको राजनीतिबाट मात्र पाइन्छ । जहाँ निरंकुशता हुन्छ, त्यहाँ पत्रकारिता फस्टाउन सक्ने अवस्था हुँदैन । उदाहरण पञ्चायती व्यवस्थालाई पनि लिन सक्छौँ । हिजोको त्यो समय र आजको समयलाई तुलनात्मकरूपमा हेर्दा राजनीतिले पत्रकारिता क्षेत्रलाई मलजल गर्ने काम गरेको छ ।

के राजनीतिसँग जोडिएका सञ्चार क्षेत्रहरूले निष्पक्षरूपमा समाचार सम्प्रेषण गरेका छन् त ?

यसमा दुईवटा कुराहरूलाई फरक ढंगले हेर्नु प-यो । व्यावसायिक हिसाबले स्वतन्त्र पत्रकारिता गर्छु भन्ने पत्रकारहरू पार्टीमा नलागेकै राम्रो हो । व्यावसायिक पत्रकारिताको नाममा कसैको पक्ष लिनु पनि हुँदैन । मैले भन्न खोजेको कुरा निर्वाचनमा, राजनीतिक दलको विशेष कार्यक्रममा, राजनीतिक संलग्नताले दैनिक गर्ने पत्रकारितामा, लेख्ने कुराहरू, विचार, आलोचना गर्ने कुरामा छुट छ । पत्रकार पार्टीको भरियाजस्तो दास बनेर हिँड्नु पर्दैन । त्यो स्वतन्त्रता हाम्रो विचार, गाइडलाइनले पनि दिएको छ । पार्टीमा लाग्ने पत्रकारहरूले स्वतन्त्र पत्रकारिता गर्न सक्दैनन् भन्ने कुरा गलत हो । विगतलाई हे-यौँ भने पनि तमाम उदाहरणहरू छन् । त्यो हिसाबले फरक पार्टीका कुनै पनि समाचार लेख्नु भएन त्यो अवस्था नहुँदा निष्पक्ष हुँदैनन् भन्नु गलत छ । व्यावसायिक पत्रकारितामा बैचारिक आबद्धताले कुनै असर पार्दैन ।

पछिल्लो समयमा सरकारका केही राम्रा कामहरूमा पनि आलोचनाहरू धेरै भएको पाइन्छ, यसको कारण के हुन सक्छ ?

हाम्रो मुलुकमा धेरै लामो अन्तरालपछि एउटा स्थिर बहुमतको सरकार बनेको छ । हाम्रा छिमेकी शक्तिसम्पन्न राष्ट्रहरू यहाँ स्थायी सरकार भएको देख्न चाहन्नन् । त्यसैले गर्दा पनि यो सरकारले गरेका राम्रा कामहरूको बाबजुत पनि विरोध तथा आलोचना हुनु भनेको अस्थिरता सृजना गर्ने, पार्टी–पार्टीबीच द्वन्द्व सिर्जना गर्ने पार्टीहरू विभाजित गर्ने, मुलुकलाई नै अनिर्णयको बन्दी बनाउनेगरीको मिसन नै होजस्तो लाग्छ । विचार र तर्कहरूमा कहिलेकाहीँ हामीहरू पनि बाँडिएका हुन्छौँ । आन्तरिक छलफलबाटै टुङ्गो लगाउने कुराहरूमा सडकमा बाजा बजाइरहनु पर्ने अवस्था देखिँदैन । सरकारले गर्न खोजेका केही महत्वपूर्ण र राम्रा कामहरूमा जुन नकारात्मक प्रचारहरू भैरहेका छन् एउटा पर्टीभित्र फरक–फरक विचार राख्ने फरक–फरक समूहकोले आ–आफ्ना विचार राख्नु सान्दर्भिक नै हो । सबै कुरालाई नजरअन्दाज पनि गर्नु हुँदैन ।

द्वन्द्ववादको कुरामा फरक–फरक विचारहरू आउँछन् जसले नयाँ कुराको प्रतिपादन गर्छ । राज्यको विकास चाहने एकथरी आन्तरिकरूपका छलफल गरेर अगाडि बढ्छन् भने अर्को स्थिर सरकारलाई कसरी अस्थिरतामा धकेलेर समस्यामा पार्ने भन्नेतर्फ लागिरहेका हुन्छन् । अहिलेको सरकारले गाइडलाइन बनाएर कसरी समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भनेर लागेको छ । सरकारको त्यो योजनालाई विफल पार्न विभिन्न शक्तिकेन्द्रहरूसँग हात मिलाएका विचौलियाहरूको कारण बढी आलोचनाहरू आएका हुन् । तर, सकारात्मक कार्यमा नकारात्मक टिप्पणीहरूले कुनै तात्विक प्रभाव पार्दैन र सरकार पनि विचल्ली हुने अवस्था छैन ।

कतै यो प्रतिपक्ष समर्थित पत्रकार तथा सञ्चार क्षेत्र बढी सकृय हुनु र सत्ता समर्थित कम सकृय हुनुको परिणाम त होइन, यहाँलाई के लाग्छ ?

संसारभरि देखिएको ट्रेन्डलाई हेर्दा बलियो शक्ति स्थिररूपमा बस्छ भने कमजोर शक्तिले अलि बढी संघर्ष गर्छ त्यो स्वभाविक नै हो । हिजो हामी पनि कमजोर हुँदा जेलनेल टाउको फुटाई सबैको अनुभव छ । जनता घर–घर गएर संघर्ष गरेको हो । प्रतिपक्ष सकृय हुँदा मिहेनत गर्दा अन्यथा मान्नु पनि भएन । तर, हामीले जनतालाई सेवा दिन सक्यौँ, प्रभावकारी सेवा प्रवाह गर्न सक्यौँ, अधिकार सम्पन्न बनाउन सक्यौँ, हिजोका घोषणपत्र बमोजिम काम गर्न सक्यौँ भने माथिमाथि गरिने बोक्रा तहको विरोधले कुनै असर पार्दैन, किनकी त्यहाँको मुख्य गुदी अग्राखबराबर हुन्छ । त्यसले गर्दा अहिलेको सरकारले कसरी जनतालाई लाभ दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भए पुग्छ । सधैँ राम्रो कामको मात्रै आलोचना गरिरहन सक्दैनन् । यिनै प्रतिपक्षका पत्रकारहरूले पनि राम्रै समाचार सम्प्रेषण गर्छन् । त्यसैले हामी हाम्रो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरौँ, ट्र्याक आफ्सेआफ बन्दछ । मानवीय स्वभावले नकारात्मक कुरालाई बढी मन पराउने हुँदा सक्रियाता कम भएको होइन ।

गएको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर पदको लागि आकांक्षी हुनुहुन्थ्यो तर त्यो हुन सकेन, हिजोको चाहनालाई भोलिका दिनमा पूरा गर्ने सम्भावना कत्तिको छ ?

पार्टी सिस्टममा सबैभन्दा प्रमुख पार्टी नै हुन्छ । पार्टीले गरेका निर्णयहरू उक्त पार्टीको लागि सर्वमान्य हुन्छन् । मलाई हुनुपर्छ भन्दा म तयार हुनु स्वाभाविक हो भने हुँदैन भन्दा अरुलाई समर्थन गर्नुलाई अस्वाभाविक मान्नु हुँदैन । हामीले घोषणा पत्र सबै बसेर तयार ग-यौँ, घोषणापत्रको आधारमा काम गर्नुपर्छ, गरिबी निवारण, पीछडिएको क्षेत्रको विकास, अवसरहरूको सृजना गर्नुलगायत समृद्धिका आधारहरूको विकास गर्नु नै मुख्य लक्ष्य हो । भोलिका दिनको कुरा कसले के नै जानेको छ र, जे–जस्तो भए पनि जनताका आधारभूत आवश्यकता, विकास निर्माणका चाहनाहरू र बाच्न पाउने नैसर्गिक अधिकारहरूको गला रेटिनु हुँदैन भन्ने मेरो मुख्य मान्यता हो ।

उमेरको हिसाबले ४६ वर्ष पुग्नुभयो, सय वर्षे आयुलाई मान्दा ४६ प्रतिशत जीवन गइसक्यो, अन्तिमको ३० प्रतिशत निष्कृय वा कम सकृय हुने समय हो, सक्रिय राजनीतिमा लागेको राजनीतिज्ञको हिसाबले बाँकीको २४ प्रतिशत समयलाई कसरी व्यतित गर्ने सोच बनाउनुभएको छ ?

मैले अघि पनि भने स्कुल पढ्दादेखिनै राजनीतिमा लागेको हुँ । राजनीतीमा लागेर सुविधा लिनुपर्छ पद प्राप्त गरिन्छ, आफूलाई बनाउनु पर्छ भन्ने सोचले म राजनीतिमा लागेको होइन । विचारले, सिद्धान्तले, कार्यक्रमले, नीतिले आकर्षित भएको हुँ । पार्टीमार्फत नै जनताको सेवा गर्न सकिन्छ नत्र सकिँदैन भन्ने कुरामा पनि म सहमत छैन । हिजो परिवर्तनको दायित्व बोकेर हिँडेका थियौँ, आज त्यसलाई कार्यान्वयनमा ल्याउने बेला भएको छ । म व्यक्तिगत हिसाबले सामाजिक रूपान्तरणमा र विकास निर्माणमा हिजो पनि लागेको थिए, आज पनि लागेको छु र भोलि पनि निरन्तरता दिनेछु । पदमा बसेर काम गर्न बाहिरबाट हेर्दा जति सहज छ त्यति सहज छैन । शब्दमा एउटा कुरा भए पनि व्यवहारमा उतार्न धेरै संघर्ष गर्नुपर्छ । हाम्रो योजना भनेको देशमा अग्रगामी परिवर्तन गरी जनतालाई सुखी बनाउनु हो । मेरो व्यक्तिगत लक्ष्य भनेको यथासक्य सामाजिक क्षेत्रको विकास गर्नु नै हो ।  (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस


Techie