राम्रो कामको विरोध, वितण्डा मच्याएर स्वार्थ लुट्नेहरुले मात्र गर्दछन्

राम्रो कामको विरोध, वितण्डा मच्याएर स्वार्थ लुट्नेहरुले मात्र गर्दछन्

मोहन चापागाईं
अध्यक्ष, नेकपा, तिलोत्तमा नगरकमिटी, रुपन्देही


सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक लगायत बहु–क्षेत्रहरुमा सक्रिय आवद्धता जनाएका मोहन चापागाईं तिनै क्षेत्रहरुको परिस्कृत विकासमा कलम चलाउने एक पत्रकार पनि हुन । पत्रकारितालाई साथसाथै डो-याउँदै उदयमान राजनीतिज्ञको रुपमा चर्चा बटुल्दै अगाडी बढेका चापागाईं २०३० सालमा रुपन्देहीको संकरनगरमा जन्मिएका हुन । बुटवल क्याम्पसबाट स्नातक गरेका चापागाईंले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका छन् । विद्यार्थी जिवनदेखि नै राजनीतिमा लागेका चापागाईं २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलन सक्रिय भूमिका निर्वाह गर्ने क्रममा १७ दिन हिरासतको यातना भोगेका छन् । २०५१ सालमा कार्यमूलक पत्रकारिताबाट सञ्चार जगतमा पाईला राखेका चापागाईंको तत्कालिन समयमा राजनीति र पत्रकारिता सँगसँगै चलेको थियो । विद्यार्थी जिवनमा ईलाका कमिटी ईन्चार्ज, जिल्ला कमिटी सदस्य लगायत विभिन्न विभागिय क्षेत्रहरुमा रही कार्यसम्पादन गरेका चापागाईं हाल नेकपाको रुपन्देही जिल्लाको प्रचार प्रसार विभाग संयोजक तथा तिलोत्तमा नगरपालिकाको नगरकमिटीमा अध्यक्ष भई पार्टीगत जिम्मेवारी सम्हालेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शखाको पाँचौं अध्यक्ष समेत बनेका चापागाईं रेडियो प्रचारक संघ र रेडियो लुम्बिनीको निवर्तमान अध्यक्षका साथै दैनिक लुम्बिनी पत्रिकाको वर्तमान अध्यक्षको रुपमा कार्यरत छन् । २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता लिएर राजनीतिक यात्रालाई थप उर्जावान बनाएका चापाईंगाई संञ्चार क्षेत्रको सक्रियताले राजनीतिक यात्रालाई पछाडी छोडेको थियो । विद्यार्थी जिवनमा अखिलको केन्द्रिय सदस्य सम्म बनेका चापागाईं पत्रकारिता क्षेत्रको सक्रियताले जिल्ला तथा अञ्चलमा प्रचार प्रसार विभाग संयोजक सम्मको पदीयभार सम्हाल्न सफल भएका थिए । पछिल्ला चार÷पाँच बर्षहरुमा राजनीतिमा सक्रिय भूमिका मोहन चापागाईं सँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

चौथो अंगको रुपमा चिनिने सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन हुँदाहुँदै राजनीतिमा पाईला राख्नुको कारण के होला ?


मेरो सामाजिक जिवनको सुरुवात राजनीतिबाटै भएको हो । १७ दिन हिरासतमा रहँदा स्थानिय पत्रिकाले त्यस विषयमा समाचार सम्प्रेषण गरेका थिए । त्यसबाट पनि पत्रकारितामा प्रभावित भए । आय आर्जनको रोजगारीको श्रोत, ब्यक्तिगत जिवनयापनमा भूमिकाको निर्वाह लगायतको हिसाबले पत्रकारितामा पेशागत रुपमा लागे । विद्यार्थीकाल देखि नै राजनीतिमा लागेको हुँदा राजनीति पहिलो र पत्रकारिता दोश्रो स्थानको रोजाई हो । राजनीति गर्दागर्दै पत्रकारितामा लागेको थिए र सञ्चार क्षेत्रमा अझैपनि संलग्न छु । राजनीति पनि गर्ने सक्रिय पत्रकारिता पनि गर्ने कुरा त्यति सम्भव देखिएन । लेख रचना लेख्ने विचार दृष्टीकोण दिने कुरा स्वभाविक हो । दिन÷प्रतिदिन समाचार लेख्ने गरेको छैन ।

यसको मतलब मुख्य बाटो राजनीति हुन्छ, पत्रकारिता छोड्नु हुन्छ  ?


राजनीति मुख्य बाटो भएतापनि सञ्चार क्षेत्रमा संलग्नता रहिरहन्छ । पत्रकारितामा सक्रिय रुपमा नलागेतापनि समसामयिक रुपमा विचार र दृष्टीकोणहरु त हिजो पनि लेखेको थिए, आज पनि लेखेको छु र भोली पनि लेख्दै जाने प्रण छ ।


खोजी खोजी सचेत गराउने सञ्चार क्षेत्र र रणनैतिक योजनाहरुले समृद्धि ल्याउने राजनीतिमा दुबैको तालमेल नमिल्दा र आफ्नो आफ्नो धर्म राम्रो सँग निभाउन नसक्दा दु्रत गतिमा बिकास हुन सकेन भन्ने कुराहरु पनि सुनिने गरिन्छ, यहाँको विचारमा यसको वास्तविकता के होला  ?


शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका र व्यावस्थापिका यि तीनवटा कुराहरुले एक अर्कालाई कन्ट्रोल गर्दै नियन्त्रण सचेत गराईरहेका हुन्छन् । कहिलेकांही विशिष्ठ परिस्थितीको सृजना भई यि तिनै पक्षहरु एकै ठाउँ उभिएर कुनै प्रकारको गलत काम पनि गरिरहेका हुन सक्छन् । त्यसका लागि चौथो अंग पत्रकारिताले त्यसभित्र भएका गलत कामहरुलाई बाहिर ल्याउन सक्छ, उजागर गर्न सक्छ । नागरिकलाई सचेत गराउन सक्छ । नागरिक स–शक्तिकरण गर्न सक्छ । पत्रकारितले सकारात्मक विचार, समाचार सम्प्रेषणको कारणले सकारात्मक कुराहरुको विकास हुन्छ । तर यसको मतलव यो होईनकी त्रुटीहरु, गल्तीहरु सच्याएर लेख्नुपर्छ भन्ने, भ्रष्टाचारको समाचार किन लेख्छ पत्रकारिताले, भ्रष्टाचार बढाउन त होईन, जसले भ्रष्टाचार गरेको छ उसलाई कारवाही हुनु पर्छ, भनेर भोलीका दिनमा त्यो बाटो अरु कसैले नरोजुन भन्नु नै मुख्य उद्देश्य हो । खाली सकारात्कम कुरा र गरेका राम्रा कामहरुको मात्र लेख्ने काम पत्रकारिताको पूर्णता होईन । कतै कतै त्यस्ता भ्रमित कुराहरु पनि सम्प्रेषण भईरहेको देखिन्छ । पत्रकारिताको मूल मर्म भावना भनेको राम्रा र सकारात्मक कुराहरुलाई सम्प्रेषण गर्दै भएका कमजोरीहरुलाई औल्याउनु हो ।

सञ्चार क्षेत्रहरु स्वतन्त्र भएनन् राजनीतिक आवरण भित्र रोमलिए भन्ने गुनासाहरु धेरै सुनिन्छन्, दुबै क्षेत्रमा यहाँको प्रभावकारी उपस्थितीमा अनुभवको कुरा गर्दा राजनीति आवरण भित्र संञ्चार क्षेत्र निशास्सिएको छ वा समृद्धिका लागि सहकार्य गरेको छ  ?


निकै सैद्धान्तिक प्रश्न गर्नु भयो । संसारभरी नै सञ्चार क्षेत्र कसरी चल्नुपर्छ कस्तो हुनु पर्छ भन्ने कुरामा पत्रकारितामा स्वत्रता पाउनुपर्छ भन्ने विश्वब्यापी मान्यता हो । तर त्यस भित्र कस्तो गर्ने भन्ने विभिन्न देशहरुका उदाहरणहरु फरक फरक छन् । कतिपय मुलुकका पत्रकारहरु राजनीतिक पार्टी भित्र लागेरपनि पत्रकारिता गरेको पाईन्छ । कतिपयले एउटा पार्टीको एउटा चुनावी अभियानका लागि पैसा लिएर गरेका समुहहरु पनि भेटिन्छन् । कतिपय मुलुकहरुमा पत्रकारिता राजनीति भन्दा विल्कुलै अलग हुनुपर्छ भन्ने मान्यता छ । सबैका आफ्ना आफ्नै तौरतरिका भएपनि राजनीति एउटा मिसनमा सञ्चालन हुने हो । मिसन पत्रकारितामा राजनीति सँग जोडिनु कुनै अस्वभाविक तथा नौलो कुरा होईन । पूर्ण रुपमा राजनीति सँग जोडिन्न भन्ने कुरालाई अन्यथा मान्ने कुरा पनि भएन । मेरो विचारमा पत्रकारिता राजनीतिबाट निरपेक्ष हुन सक्दैन । कसका लागि कलम चलाउने, विकासका लागि, गरिबी न्यूनिकरणका लागि, सु–शासनका लागि, आर्थिक क्षेत्रको विकास लागि लगायत अन्य धेरै क्षेत्रहरुमा कलम चलाउन सकिन्छ । त्यसभित्र आलोचना गर्ने पत्रकारिताको गुणलाई राजनीतिले नष्ट गर्नु भएन । यसकारणले गर्दापनि राजनीति र पत्रकारिताका सबै चिज एकै होईनन् तर सबै भन्दा नजिकको सम्बन्ध भएका क्षेत्रहरु हुन । स्वतन्त्रता भनेको राजनीतिबाट मात्र पाईन्छ । जहाँ निरंकुशता हुन्छ, त्यहाँ पत्रकारिता फस्टाउन सक्ने अवस्था हुँदैन । उदाहरण पञ्चायती व्यवस्थालाई पनि लिन सक्छौं । हिजोको त्यो समय र आजको समयलाई तुलनात्मक रुपमा हेर्दा राजनीतिले पत्रकारिता क्षेत्रलाई मलजल गर्ने काम गरेको छ ।


के राजनीति सँग जोडिएका सञ्चार क्षेत्रहरुले निष्पक्ष रुपमा समाचार सम्प्रेषण गरेका छन् त  ?


यसमा दुईवटा कुराहरुलाई फरक ढंगले हेर्नु प¥यो । व्यावसायिक हिसाबले स्वतन्त्र पत्रकारिता गर्छु भन्ने पत्रकारहरु पार्टीमा नलागेकै राम्रो हो । व्यवसायिक पत्रकारिताको नाममा कसैको पक्ष लिनु पनि हुँदैन । मैले भन्न खोजेको कुरा निर्वाचनमा, राजनीतिक दलको विशेष कार्यक्रममा, राजनीतिक संलग्नताले दैनिक गर्ने पत्रकारितामा, लेख्ने कुराहरु, विचार, आलोचना गर्ने कुरामा छुट छ । पत्रकार पार्टीको भरिया जस्तो दास बनेर हिड्नु पर्दैन । त्यो स्वतन्त्रता हाम्रो विचार, गाईडलाईनले पनि दिएको छ । पार्टीमा लाग्ने पत्रकारहरुले स्वतन्त्र पत्रकारिता गर्न सक्दैनन् भन्ने कुरा गलत हो । विगतलाई हे¥यौं भने पनि तमाम उदाहरणहरु छन् । त्यो हिसाबले फरक पार्टीका कुनै पनि समाचार लेख्नु भएन त्यो अवस्था नहुँदा निष्पक्ष हुँदैनन् भन्नु गलत छ । व्यावसायिक पत्रकारितामा बैचारिक आवद्धताले कुनै असर पार्दैन ।


पछिल्लो समयमा सरकारका केही राम्रा कामहरुमा पनि आलोचनाहरु धेरै भएको पाईन्छन्, यसको कारण के हुन सक्छ  ?


हाम्रो मुलुकमा धेरै लामो अन्तराल पछि एउटा स्थिर बहुमतको सरकार बनेको छ । हाम्रा छिमेकी शक्ति सम्पन्न राष्ट्रहरु यहाँ स्थायी सरकार भएको देख्न चाहन्नन् । त्यसैले गर्दा पनि यो सरकारले गरेका राम्रा कामहरुको वावजुत पनि विरोध तथा आलोचना हुनु भनेको अस्थिरता सृजना गर्ने, पार्टी पार्टी बीच द्वन्द सृजना गर्ने पार्टीहरु विभाजित गर्ने, मुलुकलाई नै अनिर्णयको बन्दी बनाउने गरीको मिसन नै हो जस्तो लाग्छ । विचार र तर्कहरुमा कहिलेकांही हामीहरु पनि बाँडिएका हुन्छौं । आन्तरिक छलफलबाटै टुङ्गो लगाउने कुराहरुमा सडकमा बजा बजाईरहनु पर्ने अवस्था देखिंदैन । सरकारले गर्न खोजेका केही महत्वपूर्ण र राम्रा कामहरुमा जुन नकारात्मक प्रचारहरु भैरहेका छन् एउटा पर्टी भित्र फरक फरक विचार राख्ने फरक फरक समुहकोले आफ्ना आफ्ना विचार राख्नु सान्दर्भिक नै हो । सबै कुरालाई नजरअन्दाज पनि गर्नु हुँदैन । द्वन्दबादको कुरामा फरक फरक विचारहरु आउँछन् जसले नयाँ कुराको प्रतिपादन गर्छ । राज्यको विकास चाहने एकथरी आन्तरिक रुपका छलफल गरेर अगाडी बढ्छन् भने अर्को स्थिर सरकारलाई कसरी अस्थिरतामा धकेलेर समस्यामा पार्ने भन्ने तर्फ लागिरहेका हुन्छन् । अहिलेको सरकारले गाईडलाईन बनाएर कसरी समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भनेर लागेको छ । सरकारको त्यो योजनालाई विफल पार्न विभिन्न शक्तिकेन्द्रहरु सँग हात मिलाएका विचौलियाहरुको कारण बढी आलोचनाहरु आएका हुन । तर सकारात्मक कार्यमा नकारात्मक टिप्पणीहरुले कुनै तात्विक प्रभाव पार्दैन र सरकार पनि विचल्ली हुने अवस्था छैन ।

कतै यो प्रतिपक्ष समर्थित पत्रकार तथा सञ्चार क्षेत्र बढी सकृय हुनु र सत्ता समर्थित कम सकृय हुनुको परिणाम त होईन, यहाँलाई के लाग्छ ?


संसारभरी देखिएको ट्रेनलाई हेर्दा बलियो शक्ति स्थिर रुपमा बस्छ भने कमजोर शक्तिले अलि बढी संघर्ष गर्छ त्यो स्वभाविक नै हो । हिजो हामी पनि कमजोर हुँदा जेलनेल टाउको फुटाई सबैको अनुभव छ । जनता घरघर गएर संघर्ष गरेको हो । प्रतिपक्ष सकृय हुँदा मिहेनत गर्दा अन्यथा मान्नुपनि भएन । तर हामीले जनतालाई सेवा दिन सक्यौं, प्रभावकारी सेवा प्रवाह गर्न सक्यौं, अधिकार सम्पन्न बनाउन सक्यौं, हिजोका घोषणपत्र बमोजिम काम गर्न सक्यौं भने माथि माथि गरिने बोक्रा तहको विरोधले कुनै असर पार्दैन किनकी त्यहाँको मुख्य गुदी अर्घाख बराबर हुन्छ । त्यसले गर्दा अहिलेको सरकारले कसरी जनतालाई लाभ दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भए पुग्छ । सधै राम्रो कामको मात्रै आलोचना गरिरहन सक्दैनन् यिनै प्रतिपक्षका पत्रकारहरुले पनि राम्रै समाचार सम्प्रेषण गर्छन् । त्यसैले हामी हाम्रो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरौं, ट्र¥याक आफ्सेआप बन्दछ । मानवीय स्वभावले नकारात्मक कुरालाई बढी मन पराउने हुँदा सक्रियाता कम भएको होईन ।


गएको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरपदको लागि आकांक्षी हुनुहुन्थ्यो तर हुनु भएन, हिजोको चाहनालाई भोलीका दिनहरुमा पुरा गर्ने सम्भावना कत्तिको छ ?


पार्टी सिस्टममा सबै भन्दा प्रमुख पार्टी नै हुन्छ । पार्टीले गरेका निर्णयहरु उक्त पार्टीको लागि सर्वमान्य हुन्छन् । मलाई हुनुपर्छ भन्दा म तयार हुनु स्वभाविक हो भने हुँदैन भन्दा अरुलाई समर्थन गर्नुलाई अस्वभाविक मान्नु हुँदैन । हामीले घोषणा पत्र सबै बसेर तयार ग¥यौं, घोषणा पत्रको आधारमा काम गर्नु पर्छ, गरिबी निवारण, पीछडिएको क्षेत्रको विकास, अवसरहरुको सृजना गर्नु लगायत समृद्धिका आधारहरुको विकास गर्नु नै मुख्य लक्ष्य हो । भोलीका दिनको कुरा कसले के नै जानेको छ र, जे जस्तो भएपनि जनताका आधारभूत आवश्यकता, विकास निर्माणका चाहनाहरु र बाच्न पाउने नैशर्गिक अधिकारहरुको गला रेटिनु हुँदैन भन्ने मेरो मुख्य मान्यता हो ।


अन्त्यमा, उमेरको हिसाबले ४६ बर्ष पुग्नु भो, सय बर्षे आयुलाई मान्दा ४६ प्रतिशत जिवन सकिसक्यो, अन्तिमको ३० प्रतिशत निष्कृय वा कम सकृय हुने समय हो, सक्रिय राजनीतिमा लागेको राजनीतिज्ञको हिसाबले बाँकीको २४ प्रतिशत समयलाई कसरी व्यतित गर्ने सोच बनाउनु भएको छ ?


म अघिपनि भने स्कुल पढ्दा देखिनै राजनीतिमा लागेको हुँ । राजनीतीमा लागेर सुविधा लिनु पर्छ पद प्राप्त गरिन्छ । आफूलाई बनाउनु पर्छ भन्ने सोचले म राजनीतिमा लागेको होईन । विचारले, सिद्धान्तले, कार्यक्रमले, नीतिले आकर्षित भएको हुँ । पार्टी मार्फत नै जनताको सेवा गर्न सकिन्छ नत्र सकिंदैन भन्ने कुरामा पनि म सहमत छैन । हिजो परिवर्तनको दायित्व बोकेर हिडेका थियौं आज त्यसलाई कार्यान्वयनमा ल्याउने बेला भएको छ । म व्यक्तिगत हिसाबले सामाजिक रुपान्तरणमा र विकास निर्माणमा हिजो पनि लागेको थिए, आज पनि लागेको छु र भोलीपनि निरन्तरता दिने छु । पदमा बसेर काम गर्न बाहिरबाट हेर्दा जति सहज छ त्यति सहज छैन । शब्दमा एउटा कुरा भएपनि व्यवहारमा उतार्न धेरै संघर्ष गर्नु पर्छ । हाम्रो योजना भनेको देशमा अग्रगामी परिवर्तन गरी जनतालाई शुखी बनाउनु हो । मेरो व्यक्तिगत लक्ष्य भनेको यथासक्य सामाजिक क्षेत्रको विकास गर्नु नै हो । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस