सकारात्मक विकास नै अहिलेको मुख्य आवश्यकता हो

सकारात्मक विकास नै अहिलेको मुख्य आवश्यकता हो

खिमानन्द भुषाल,
अध्यक्ष साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि., रुपन्देही


२०४० सालमा पर्वतमा जन्मिएका खिमानन्द भुषाल साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि. का अध्यक्ष तथा प्रवन्ध निर्देशक हुन । सानै उमेरमा स–परिवार सहित रुपन्देहीको टिकुलीगढमा बसाईसरी आएका भुषालले टिकुलीगढलाई नै कर्मथलो बनाएका छन् । प्लस टु तर्फ व्यवस्थापन संकायमा अध्यन गरेका भुषालले मानविकी संकायमा राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । स्टेशनरी व्यावसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका भुषालले कम्प्यूटर ईन्स्च्यिूट, सपिङ सेण्टरबाट व्यावसायिक यात्रालाई अगाडी बढाउनुको साथै आठ बर्ष जागिरे जिवनको अनुभव पनि गरेका छन् । स्थानिय जनता माविमा लेखापालको साथै कम्प्यूटर कक्षा अध्यापन गराएका भुषालले बढ्दो बेरोजगारीलाई कम गर्न र स्वालम्बी भई अर्थतन्त्रलाई बलियो बनाउन उद्योग स्थापना गरी अगाडी बढ्नुपर्छ भन्ने मान्यताका साथ उद्योगमा लगानी गरेको बताउँछन् । भुषालकै संयोजकत्वमा २५ जनाको प्रारम्भिक बैठकले साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिजको परिकल्पना गरी २०७५ असोजमा दर्ता गरी २०७६ सालमा सञ्चालनमा आएको उद्योग यस क्षेत्रकै एक मात्र कलर प्रिन्टिङ गरी नन् ओभन झोला उत्पादन गर्ने उद्योग हो । वातावरणिय सौन्दर्यमा अहम भूमिका खेल्ने उक्त नन् ओभन झोला राज्यको प्लाष्टिक मुक्त अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हैसियत राख्दछ । राज्यमा लगानीमैत्री वातावरणको अभाव र विगतमा सञ्चालनमा आएका केही उद्योगहरुको समस्याग्रत अवस्थाका वावजुत पनि सञ्चालनमा आएको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लिको समसामयिक विषयमा रहेर  पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश ः


साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को परिकल्पना कसरी भयो ?


थोरै थोरै पुँजी भएको तर उक्त पुँजी प्रयोगमा ल्याउन नसकेको अवस्थालाई मध्यनजर गर्दै पुँजी एकिकृत रुपमा परिचालन गरी आर्थिकस्तर बृद्धिको लागि उद्योगको अवधारणा आएको हो । उद्योगमा लगानी गर्नेसबै लगानीकर्ताहरु यहि क्षेत्रका हुनुहुन्छ । हाम्रो मुख्य उद्देश्य भनेको स्वरोजगार मात्र नभई रोजगारीका अवसरहरु सृजना गरी स्थानिय स्तरको विद्यमान बेरोजगारीलाई कम गर्नु पनि हो । पर्याप्त मात्रामा उद्योग कलकारखानाहरु खोलिन नसक्नु र विगतमा केही उद्योगहरुमा देखिएका समस्याहरुका वावजुत पनि कत्ति विचल्ली नभई सक्छौं र गर्छौं भन्ने आँटले साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिजको स्थापना भएको हो । जहाँसम्म उद्योगको उत्पादनको कुरा छ त्यो वातावरणीय सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्दै उत्पादनको बजारीकरणको लागि पनि सहज हुने हुँदा नन् ओभन झोलालाई प्राथमिकता दिएका हौं ।


कति लगानी उद्योग सञ्चालनमा ल्याउनु भएको छ ?


हाल सम्म जग्गाजमिन सहित करिब चार करोड लगानी लागेको छ । जुन सामुहिक रुपमा २५ जना लगानीकर्ताहरुको सक्रियताले थोरै थोरै पुँजी संकलन गरी गरिएको हो । भविष्यका थप लगानीका क्षेत्रहरुको कुरा गर्दा केही समय भित्रै सञ्चालनमा ल्याउने गरी रिर्सोटको परिकल्पना पनि गरेका छौं । त्यसको लागि ठाउँ खोज्ने कार्य भैसकेको छ । त्यस्तैनन् ओभन झोला उत्पादन गर्ने उद्योगहरु मिलेर कच्चा पद्धार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने अवधारणा अगाडी सारेका छौं । त्यस सम्बन्धमा विभिन्न प्रकारका छलफलहरु चरणबद्ध रुपमा हुँदै आएका छन् ।


भर्खरै साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज सञ्चालनमा आएको छ फेरी अरु योजना अगाडी सार्दा कत्तिको सफलता मिल्ला ?


धेरै जनाको लगानीले सञ्चालन भएको उद्योग हुँदा बजारीकरणको लागि हामीलाई धेरै सहज अवस्था छ । सानो सानो छरिएर रहेको पुँजीलाई एकिकृत गरी परिचालन गर्दा यस क्षेत्रको विकासमा ठोस योगदान पुग्नेमा हाम्रो विश्वास छ । निरन्तर रुपमा प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्दा असफलता होला जस्तो लाग्दैन ।


अहिलेको अवस्थामा उद्योगबाट उत्पादित बस्तुको बजार अवस्था कस्तो छ ?


खासगरी हामीले उत्पादन गर्दै आएको वातावरणमैत्री झोला तत्कालको लागि व्यापक हुने अवस्था नभएतापनि दीर्घकालिन रुपमा यसको भविष्य निश्चित छ । उत्पादन सँगै बजारमा पनि राम्रो विक्री वितरण भएको छ । हामी भन्दा पहिला यस्ता अन्य उद्योगहरुको स्थापना भएतापनि हाम्रो गुणस्तरिय उत्पादनले द्रुतगतिमा बजार ओगट्न सक्ने अवस्था देखिंदै गएको छ । मुख्य समस्या भनेको अस्वस्थ्य प्रतिस्पर्धाको हो । हामीलाई जसले कच्चा पद्धार्थ उपलब्ध गराउँछ सोही कम्पनीहरुलेनै बजार विगारेका छन् । जसले गर्दा हामीले कच्चा पद्धार्थ उत्पादन गर्ने उद्योग खोल्ने योजना बनाएका हौं । उद्योगहरु बीच बेला बेलामा छलफल भैरहेका छन् । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । सबै उद्योगहरुलाई पुग्नेगरी यहि ठाउँमै उद्योगको स्थापना गरौं भन्ने मोटामोटी कुराहरु भएका छन् । अब छिट्टै टुङ्गोमा पुग्दछ ।


साङ्लो ग्रुपले हाल के–कस्ता उत्पादनहरु उत्पादन गर्दै आएको छ ?


तत्काल हामीले वातावरण मैत्री झोला मात्र उत्पादन गर्दै आएका छौं । हामीले जति जे जस्ता क्षेत्रमा लगानी गर्छौं र उत्पादन गर्छौं ति सबै वातावरणमैत्री हुनेछन् । भविष्यका लागि हामीले सोचेका योजना र त्यसमा हाम्रो उपस्थिती पूर्ण रुपले वातावरणमैत्री हुनेमा प्रतिवद्ध छौं ।

लगानीमैत्री वातावरण नभएको उद्योगीहरुको गुनासो बढ्दै गएको अवस्थामा आर्थिक मन्दीको अवस्थापनि विस्तारै बढ्दै गएको छ । यस्तो समयमा यहाँहरुलाई उद्योग सञ्चालनमा चुनौतीहरु आउँदैनन् होला ?


अनुत्पादक क्षेत्रमा लगानी बढ्नु नै नेपालको प्रमुख समस्या हो । वातावरणमैत्री उद्योग स्थापना गर्न खोजीरहँदा आर्थिक देखि अन्य विभिन्न खालका समस्याहरु चाङ नै छन् । समय सापेक्षताको कुरा गर्दा देश विकासको गतिमा अगाडी बढ्दै छ । जसरी नागरिकहरुले राज्यलाई सहयोग गर्न खोजेका छन् तर राज्य स्तरबाट त्यसको कदरको रुपमा प्रभावकारीसेवा प्रवाह गर्न नसक्नु नै मुख्य समस्या हो । दर्ता प्रक्रिया देखि हरेक कुराहरुमा न स्थानिय सरकार न प्रदेश र संघीय सरकार कुनैबाट पनि अपेक्षित सहयोग पाउन सक्ने अवस्था सृजना भएको छैन । पछिल्लो समयमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई सहयोग पुग्ने गरी स्थापना हुनु र नगरपालिकाको वातावरणमैत्री अभियानमा भरपुर सहयोग पुग्नुले पनि केही सहयोग आउनेमा अपेक्षा गरेका छौं ।


यहाँहरुले राज्य तथा स्थानिय सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको हो ?


यो हाम्रो सानो प्रकृतिको उद्योग हो । भर्खरै तिलोत्तमा नगरपालिकाले वातावरणीय सौन्दर्यताका विभिन्न खालका योजनाहरु ल्याएको छ । ति क्षेत्रहरुको सर्पोटमा हामीले काम गरेका छौं । त्यस हिसाबले पनि नगरपालिकाले हामीलाई सोही दृष्टीकोणबाट हेर्नु पर्छ । राज्य स्तरबाट पनि उद्योग सञ्चालनमा ल्याउनेबेला सम्म विभिन्न प्रकारका कठिनाईहरु आउने गर्दछन् । राज्यलाई कर बुझाउने कुरामा समेत नागरिकले दुःख पाउनु भनेको सबैभन्दा विडम्बनाको कुरा हो । बजारीकरणमा पनि अस्वस्थ्य प्रतिस्पर्धा धेरै छ । बजारीकरणमा पनि ध्यान दिनु पर्ने देखिन्छ । प्लाष्टिक मुक्त क्षेत्र भन्ने वित्तीकै हुने कुरा होईन । यसको लागि धेरै संघर्ष गर्नु पर्दछ । प्लाष्टिकको विकल्पमा यो छ है, यो उत्पादन प्रयोग गर्नुपर्छ भन्ने वातावरण सृजना गर्नु पर्ने देखिन्छ । जब सम्म सकारात्मक कुराहरुको विकास हुन सक्दैन तब सम्म हाम्रा योजनाहरुले सफलता पाउने अवस्था कम हुन्छ । प्लाष्टिक मुक्त अभियानमा विकल्पको रुपमा काम गरिरहेका क्षेत्रहरुको उत्थान नै अहिलेको मुख्य आवश्यकता हो । राज्यले ति क्षेत्रहरुको विकासमा जति धेरै सहयोग गर्छ त्यतिधेरै राज्यलाई नै आर्थिक, सामाजिक, रोजगारी तथा अन्य क्षेत्रहरुमा सहयोगहरु पुगिरहेको हुन्छ ।


यो क्षेत्रमा प्लाष्टिकको बैकल्पिक उत्पादन उत्पादन गर्ने उद्योगहरुको संख्यात्मक अवस्था कस्तो छ ?


अहिले रुपन्देही जिल्ला भरीमा छ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । कपिलबस्तु, दाङ र नवलपरासीमा पनि खुल्दै गएका छन् ।


उद्योग क्षेत्रमा लगानी गर्न समस्या छ भन्ने कुराहरु धेरै सुनिन्छन् वास्तवमा के–कस्ता समस्याका कारण उद्योगहरु फस्टान सकेका छैनन् जस्तो लाग्छ ?


मुख्य समस्या त दर्ता प्रक्रिया नै हो । दर्ता गरेर उद्योगी बन्ने प्रयास गर्दै उसको एक बर्ष वित्ने अवस्था छ । लाखौं रुपैयाँ दर्ता प्रक्रियाले खाँदा कसरी लगानीकर्ताले उद्योगमा लगानी बृद्धि गर्न सक्छ । राज्य स्तरबाट दर्ता प्रक्रियाका झन्झटिला कुराहरुलाई समाधान गरी सहज बातावरणको सृजना गर्न सक्नुपर्छ । त्यो बाहेक विजुली, पानी, सडक फोहर व्यवस्थापन लगायतका अन्य धेरै समस्याहरुपनि विद्यामान समयमा देखिएका छन् । स्थानियहरुको पनि उद्योगले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ भन्ने कुरा बुझ्दाबुझ्दै उद्योगलाई समस्यामा पारेर कसरी लाभ लिने भन्ने गतल सोचको विकास हुनु पनि उद्योग क्षेत्रमा लगानीमैत्री वातावररण बन्न नसक्नुको आधार हो ।


उद्योग क्षेत्रको विकास र आयात प्रतिस्थापनमा अबका दिनमा साङ्लो गु्रपले कस्तो भूमिका निर्वाह गर्न सक्छ ?


अबको केही समयमा हामीले कच्चामाल उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना बनाएका छौं । यस क्षेत्रमा कच्चामाल उत्पादन गर्ने उद्योगहरु नभएको अवस्था र विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै उक्त योजना सुरु भएसँगै उद्योग क्षेत्रको विकासमा हाम्रो उपस्थिती थप मजवुत हुन्छ । बाहिरबाट बस्तु आयात गर्ने सन्दर्भमा उद्योग स्थापना भएसँगै भारत चाईनाबाट आयात गर्ने बस्तु आयात गर्नु पर्दैन । भारतमा पनि पूर्ण प्लाष्टिक मुक्त अभियान सञ्चालनमा आउने संकेत देखिएकोले हाम्रो उत्पादन पनि भारतमा निर्यात हुने अवस्था देखिन्छ ।


यहाँको उत्पादनले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ला त ?


अवश्यपनि सक्छ । नेपालमा कच्चामाल उत्पादन गर्ने पेट्रोलियम पद्धार्थ भारतबाट नभई अन्य देशबाट आउँछ । नेपालमा आउँदा सस्तो पर्छ भने त्यहिमाल भारतमा महङ्गो पर्दछ । सस्तो मूल्यमा हामीकहाँ आएपछि त्यसबाट उत्पादित कच्चा पद्धार्थको लागतमूल्य पनि कम पर्न जाने हुँदा तयारी सामानको पनि मूल्य कम भई नेपाली बजारमा भन्दा भारतीय बजारमा बढी बिक्री हुने अवस्था देखिन्छ ।


अन्त्यमा, साङ्लो ग्रुपको अबको रणनीति कस्तो छ ?


कच्चामाल उत्पादन गर्ने उद्योगमा लगानी गर्नुका साथै जुट, अल्लो, कपडाबाट बन्ने झोलाहरु उत्पादन गर्नु नै संघारको लक्ष्य हो । समयचक्र सँगै अन्य योजनाहरु सृजित हुँदै जानेमा पनि यहाँलाई अवगत गराउन चाहान्छु । स्वालम्बी बन्नु हाम्रो प्रमुख लक्ष्य भएकोले त्यसका लागि सोही प्रकृतिका योजनाहरु बनाउने कुरा अवगत गराउन चाहान्छु । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट

 

 

प्रतिकृया दिनुहोस


Techie