‘तीनै तहका सरकारबीच समन्वयको जरुरी छ’

खेमराज गुरुङ वडा अध्यक्ष तिलोत्तमा– १५, रूपन्देही

‘तीनै तहका सरकारबीच समन्वयको जरुरी छ’

सामाजिक क्षेत्रको योगदानले वडा अध्यक्षमा जननिर्वाचित जनप्रतिनिधि भएका खेमराज गुरुङ तिलोत्तमा–१५ रूपन्देहीका वडा अध्यक्ष हुन । स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङ लिस्नु युवा क्लबको अध्यक्ष भई सामाजिक कार्यमा अग्रसरता देखाउँदै देशव्यापी रूपमा लिस्नुकप फुटवल प्रतियोगिता सुरुआत गरेर खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सफल खेलप्रेमी तथा खेलाडी समेत हुन् ।

२०६१ सालबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ राजनीतिक यात्राको क्रममा २०६४ सालमा क्षेत्र नं. २ भैरहवाबाट युवा संघको क्षेत्रीय अध्यक्ष, २०६७ सालमा युवा संघकै क्षेत्रीय इन्चार्जलगायत धेरै राजनीतिक जिम्मेवारी सम्हालिसकेका गुरुङ मदन भण्डारी स्र्पोट एकेडेमीको क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्यलगायत अन्य धेरै सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेका गुरुङ स्वच्छ छवि भएका राजनीतिज्ञको रूपमा परिचित छन् । जनआवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने कुरामा जोड दिने वडा अध्यक्ष खेमराज गुरुङसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

बितेका दुई वर्षमा कार्यसम्पादनको अवस्था कस्तो रह्यो ?

राम्रै रह्यो । तर, भनेजस्तो काम गर्ने वातावरणको सृजना हुन सकेन । जुन उत्साह र उमङ्गका साथ चुनावी मैदानमा होमिएर निर्वाचित जनप्रतिनिधि भइयो त्यो उमंगले काम गर्न सकिएन ।

काम गर्न नसक्नुको मुख्य कारण के हुनसक्छ ?

तीन तहका सरकार तीनै तहको फरक–फरक नीतिको कारण नै मुख्य समस्या हो । स्थानीय सरकार र प्रदेश सरकार आफ्नै हिसाबले काम गर्न सक्ने वातावरण छैन । जुन हिसाबले तीनै तहका सरकारबीच समन्वय भएर काम गर्नुपर्ने हो त्यो हिसाबले हुन नसक्दा मुख्य समस्या देखिएको हो । जबसम्म तीनै तहका सरकारबीच समन्वयकारी भूमिकामा विकास निर्माणका योजनाहरू निर्माण हुँदैन तबसम्म दु्रत गतिमा विकास गर्न कठिन हुन्छ ।

वडामा के–कस्ता विकास निर्माणका कामहरू भएका छन् ?

मैले अघि पनि भनिसकेँ सोचेजस्तो काम गर्न सकिएको छैन । थोरै बजेटमा धेरै काम गर्नुपर्ने बाध्यताले सोचेजस्तो काम गर्न सकेको अवस्था छैन । विशेष गरेर पूर्वाधार विकासअर्न्तगत सडक विस्तार र स्तारोन्नतिलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । विकास निर्माणको पहिलो आधार भनेको सडक नै भएकोले सडकलाई प्राथमिकताका साथ अगाडि बढाएका हौँ । सडकको अलवा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, नाला, सिंचाइ सीपमूलक तालिमहरू, जनचेतनामूलक कार्यक्रमहरू, विद्युत्, अभिमुखीकरण कार्यक्रमहरूलगायतका क्षेत्रमा छुट्याइएका योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ ।

चालू आवमा वडाको बजेटको प्रकृति कस्तो छ ?

वडाको खर्चको लागि ६८ लाख, नगरस्तरीय बजेटबाट ६० लाख, प्रदेश सरकारबाट दुई करोड, संसदीय विकास कोषबाट २३ लाख रूपैयाँ गरी तीन करोड २३ लाख बजेट विनियोजन भएको छ ।

उक्त बजेटबाट के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सीपमुलक तालिम, अभिमुखीकरण कार्यक्रम, जनचेतनामूलक कार्यक्रमलगायतका योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ ।

हालसम्म कार्य प्रगतिको अवस्था कस्तो छ ?

कार्य प्रगति हुन सकेको छैन चालू खर्चबाहेक अन्य विकास निर्माणका कामहरूमा प्रगति अवस्था सामान्य छ । दशैँ तिहार र अन्य चाडपर्वहरूको कारणले धेरै सार्वजनिक विदाहरू हुँदा योजनाहरू कार्यान्वयनमा ल्याउन सकिएन ।

वडाको विकासमा के–कस्ता आधारहरू छन् ?

यो वडामा प्रमुख स्रोतहरू भनेको कृषि हो । खेतीयोग्य जमिनको हिसाबले यहाँ अझै पनि ६० प्रतिशत खेती योग्य जमिन छ । हिउँदे, बर्खेलगायत समावेशी तरिकाको खेती गर्न सक्ने आधारहरू प्रशस्त मात्रामा छन् । कृषिको लागि आवश्यक सिंचाइ र ढुवानीको लागि सवारी साधनको अभाव झेल्नु पर्ने अवस्था छैन् ।

केही ठूला उद्योगहरू पनि सञ्चालित भएको हुँदा रोजगारीका अवसरहरू पनि सृजना भएका छन् । अहिलेसम्म हामीलाई उद्योग कलकारखानाहरूबाट वडाको विकासको लागि कुनै पनि सहयोग मिल्न सकेको छैन । आगामी दिनहरूमा वडाको विकासको लागि उद्योगी व्यवसायीहरूबाट योगदान पुग्ने गरी नीति नियमहरू निर्माण गरी व्यवस्थितरूपमा अगाडि बढ्ने योजनामा छौँ ।

नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको राम्रो समन्वय छैन भन्ने कतै–कतै हल्लाहरू सुनिन्छ नि ?

होला, कतै–कतै सुनिए होलान । तर, हाम्रोमा त्यस्तो केही छैन । वास्तवमा भन्नु पर्दा विकास गर्ने क्रममा केही शैलीहरूमा नमिलेका हुन् । कर्मचारी र जनप्रतिनिधि नमिलेको भन्ने गलत हो जस्तो लाग्छ । १५ नं वडाको कुरा गर्दा कर्मचारी र जनप्रतिनिधिबीच नङ र मासुको जस्तै सुमधुर समन्ध छ । हामी हरेक काममा सहकार्य र समन्वय गरेर गर्ने गरेका छौँ । वास्तवमा विकास निर्माणको कुरामा हामी सबै मिल्नुको विकल्प छैन् ।

जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दाहरू सबै मिलेर अगाडि बढ्न सके हामीलाई अपेक्षित विकासको मूल फुटाउन धेरै सहज हुने सबैले बुझेका छौँ । सबैले बुझेपछि हामीलाई काम गर्न पनि धेरै सजिलो भएको छ । समग्रमा भन्नुपर्दा राम्रै सम्बन्ध छ । त्यस्तो कुनै मनमुटाव छैन ।

पाँच वर्षमा यहाँले के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउने लक्ष्य राख्नुभएको छ ?

कुनै पनि वडाले भनेको स्थानीय, प्रदेश र केन्द्रीय सरकारको नीति नियमभित्र रहेर कामहरू गर्नुपर्ने हुन्छ । कतिपय काम तथा योजनाहरू नगरपालिकाले आफैँ गर्ने गर्दछ । जस्तो अहिले दुई वर्षभित्र नगरपालिकाका प्रत्येक सडकहरू ग्राभेल तथा कालोपत्रे गर्ने योजनाहरू छन् । त्यसैगरी हरियाली प्रवर्द्धन गर्ने नीति पनि नगरपालिकाले ल्याएको हो । यस्ता अन्य धेरै नीति तथा योजनाहरू नगरपालिकाले ल्याएको छ ।

नगरपालिकाका नीति तथा योजनाहरूलाई पूर्णरूपमा सफलता मिल्ने गरी कार्यान्वयनमा ल्याउँदै त्यसबाहेक अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमामा सेवाभन्दा नाफा कमाउने एक प्रकारको होडवाजी चलेको छ । जुन एकदमै गलत ढंगले अगाडि बढेको छ । हो, कमाउनु पर्छ तर कमाइ सँगसँगै सामाजिक उत्तरदायित्व भएन भने समाजमा गलत संस्कारको विकास हुने हुँदा त्यसले अराजकता निम्त्याउँछ । त्यसैले त्यस्ता होडबाजीलाई सामाजिक सेवाको होडबाजीको रूपमा विकास गर्ने ।

जातिय भेदभावरहित मेलमिलाप युक्त समाज, महिला तथा घरेलु हिंसा मुक्त समाज, लागू औषध दुर्व्यसनी मुक्त समाज, चारैतिर हरियाली र नाली सडकबत्तीसहितका व्यवस्थित सडक, विभिन्न रोजगारीका अवसरहरू सृजना हुनेगरी व्यवस्था मिलाउने, सचेत र पूर्णसाक्षर मानिसहरूको सामाजिक मेलमिलापयुक्त समाजलगायत अन्य धेरै योजनाहरू छन् । जुन योजनाले यहाँका स्थानीयहरूहरूलाई सुख, शान्ति र समृद्धिको अनुभूति मिलोस् । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस