‘न कांग्रेसले समाजवाद चाहेको छ न कम्युनिष्टले’

मदनबहादुर अमात्य ललितपुर जिल्ला सभापति, नेपाली कांग्रेस

‘न कांग्रेसले समाजवाद चाहेको छ न कम्युनिष्टले’

सभापति मदनबहादुर अमात्य नेपाली कांग्रेसका नेता हुन् । विस २०२४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएका अमात्य २०२६ साल बैशाख १ गते मकवानपुर जिल्लाबाट नेपाली कांग्रेस पार्टीको सदस्यता लिएर कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । गणेशमान सिंह र कुष्णप्रसाद भट्टराईलाई उनी आर्दश नेताको रूपमा मान्छन् ।

कुष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनले अत्यन्तै निकट रहेर काम गरे । शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको ललितपुर जिल्ला सभापतिमा ६ वर्षदेखि निरन्तर कार्यभार सम्हालेका छन् । नेपाली कांग्रेस अहिले बलियो प्रतिपक्षको भूमिकामा नरहेको उनको भनाइ छ । ८० प्रतिशत अराजनीतिक कार्यकर्ता नेताको भीडले पार्टीलाई कब्जा गरेका छन् । नेतृत्ववर्गमा पनि इमानदारिता नदेखिएको उनको भनाइ छ ।

पार्टीमा लोभी, स्वार्थी र महत्वकांक्षी मानिसहरूको झुण्ड रहेको बताउने अमात्य हक्की, निडर र क्रान्तिकारी स्वाभावका छन् । उनी भन्छन्ः मुलुकमा लोकतन्त्र स्थापना भएको १३ वर्ष भएको छ । तर, नेपाली जनताले लोकतन्त्र गणतन्त्र स्थापना हुदैँ गर्दा आम नाागरिकले जुन सपना देखेका थिए ती आज अधुरै छन्, अपुरै छन् । लोकतन्त्र भनेको लोककल्याण हो, तर आज मुठ्ठीभर जनताको मात्र भएको छ ।

लोकतान्त्रिक पद्धतिको केन्द्रमा आज आम जनता होइन ठूला कर्पोरेट, दलाल, ठेकेदार साहु, महाजन र नाडरशाहिकै हालीमुहाली छ, ठेकेदार र माफिया नै राज्यको प्रत्यक्ष लाभकारी वर्ग बनेको छ । यी सबै विषयबाट नेपाली राजनीति कसरी मुक्त हुन्छ भन्ने विषयमा निवर्तमान सांसद तथा नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापतिसगँ जनमञ्च साप्ताहिकका प्रतिनिधि नन्दलाल खरेलले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?

नेपाली राजनीतिमा मूल्यमान्यतामा स्वखलन भएको छ । विधिको शासन छैन । भ्रष्टाचारको आयतन बढ्दो रूपमा छ । अपराधीहरूलाई राजनीतिमा संरक्षण छ । हत्या, हिंसा, बलात्कारजस्ता घटनाहरू दिनहुँजसो बढिरहेका छन् । मुलुकमा कम्युनिष्ट सरकार छैन । लोकतन्त्र स्थापनापछि नवधनाढ्य वर्गको जन्म भएको छ । राज्य कमजोर भएको मौका छोपी यिनै वर्गले तस्करी र कालोबजारीमार्फत करोडौँ कमाएका छन् ।

मुलुकको शासनसत्तामा भएका क्रान्तिकारी भनाउँदा नेताहरू समेत नाटकीय ढंगले काठमाडौँका सुविधासम्पन्न महल कब्जा गर्न थालेका छन् । करोडौँ पर्ने गाडीमा सवार गर्ने भएका छन् । धनी र गरिबबीचको खाडल झन्झन् घट्नुको सट्टा बढ्दो रूपमा छ । युवाहरू कामको खोजीमा विदेश पलायन भएका छन् । मुलुक रेमिट्यान्स अर्थतन्त्रमा चलेको छ । बढ्दो व्यापारघाटा छ । मुलुक कृषिप्रधान देश भए पनि खर्बौँको कृषिजन्य वस्तुको आयात भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण छ । साना योजनादेखि ठूला परियोजनासम्म कर्मचारी र राजनीतिक नेताहरूको मिलेमतोमा कमिशन र भ्रष्टाचार हुने गरेको छ ।

नेपाली कांग्रेस बलियो प्रतिपक्षको भूमिकामा रहन नसकेको आम जनताको गुनासो छ नि ?

मुलुकमा प्रतिपक्षको हिसाबले उठाउने एजेण्डाहरू धेरै छन् । तर, कांग्रेसले सशक्त ढंगले जनताका मुद्दाहरूलाई उठाउन सकेको छैन । कांग्रेस गुट, उपगुटमा रुमल्लिएको छ । पार्टीलाई कमजोर पारेर नेताहरू बन्नेको जमात ठूलो छ । पार्टीमा डन, ठेकेदार, भ्रष्ट, दलालहरूको बाहुल्यता छ । पार्टीमा ८० प्रतिशत जति अराजनीतिक मानिसहरूको भीड छ । नेतृत्वलाई काम गर्न दिइएको छैन ।

कम्युनिष्ट सरकारले शासन गरेको २१ महिना भएको छ । कांग्रेसले सरकारको २१ वटा गल्ती, कमजोरी औँल्याएको छ । तर, एउटा एजेण्डा पनि कांग्रेसले प्रतिपक्षको हिसाबमा सशक्त ढङ्गले उठाउन सकेको छैन । सरकारको गल्तीहरूलाई डकुमेन्टमा मात्र दस्तावेजीकरण गरेर मात्र प्रतिपक्षको भूमिकामा देखा पर्न नसकेको कुरा सत्य हो । यसलाई पार्टीको नेतृत्व वर्गले बुझ्न जरुरी छ ।

सरकारले २१ महिनापछि मन्त्रिमण्डलमा परिर्वतन गरेको छ । के सरकार असफल भएको हो ?

सरकार सरकारको रूपमा चलेको छैन । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री दुई घण्टा ढिलो आउनुहुन्छ अरे । त्यसपछि डेढ घण्टासम्म ठट्टा गर्नुहुन्छ भन्ने सुनेको छु । कुनै निर्णय गर्दा मन्त्रिपरिषद्को पूरै सदस्यले नगरी दुई जनाले मात्रै निर्णय हुन्छ भन्ने विभिन्न समाचारहरूमा छताछुल्ल भएको छ । सरकारले कुनै नयाँ परियोजनाको कुरा छाडौँ पुरानै कामको निरन्तरता पनि दिन सकेको छैन । सरकारले पछिल्लो चौमासिकमा पाँच प्रतिशतभन्दा बढी खर्च गर्न सकेको छैन । जबसम्म सरकारले विकास खर्चलाई समयमै सदुपयोग गर्न सक्दैन तबसम्म समृद्धिको बाटोमा जान सक्दैन ।

नेपाली कांग्रेस कहाँ चुकेको छ त ?

नेपाली कांग्रेस चरमा द्वन्द्वमा फसेको छ । नीति, सिद्धान्तमा कांग्रेस चुकेको छ । नेपाली कांग्रेस आफ्नो शासनमा रहँदा पनि कुनै समाजवादी अर्थनीति ल्याउन सकेन । बरु निजीकरण र बजार उदारीकरणका कुरा ल्याएर भएका उद्योगहरूलाई कौडीको मूल्यमा बेचेर सिध्याउने काम भएको छ । मुलुकमा न कांग्रेसले समाजवाद चाहेको छ न कम्युनिष्टले ल्याउन खोजेको छ ।, मुलुकमा विकासखर्च सुक्दै गएको छ भने साधारण खर्च अर्थात् चालू खर्च फुक्दै गएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निकट सहयोगीको रूपमा तपाईंले पनि काम गर्नुभयो । भट्टराईलाई कस्तो नेताका रूपमा लिनुहुन्छ ?

नेपाली कांग्रेसले मात्रै हाइन यो मुलुकले नै कुष्णप्रसाद भट्टराईजस्तो आदर्श नेताको रूपमा पाएको छैन । वहाँमा कुनै लोभ थिएन । उहाँले एक वर्षभित्र नै संविधान निर्माण गर्नुभयो । त्यसपश्चात् निष्पक्ष ढंगबाट निर्वाचन गराउनुभयो र सत्ता हस्तान्तरण गराउनुभयो । तर, दुःखको कुरो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आफ्नै पार्टीका सदस्यहरूले अन्तर्घात गरेर हराउने काम भयो । त्यस काममा कांग्रेसकै प्रमुख व्यक्तिहरू लागे ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेलगतै मुलुकमा उत्पन्न भएको राजनीतिक तरङ्गलाई कुन रूपमा लिनुभएको छ ?

यो समस्या नयाँ होइन । विगत ६ दशकदेखि पटक–पटक उठिरहेको छ । अहिले बल्झिएको मात्र हो । मुलुकमा थुपै राजनीतिक परिर्वतन भयो, कैयौँँ प्रधानमन्त्री फेरिए । तर, यो समस्यातर्फ धेरैको ध्यान जान सकेन । २०५६ सालतिर कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको वेलामा उहाँसगै म थिएँ । त्यो बेला भारतका प्रधानमन्त्रीले फोन गरेर भारत भ्रमणको निम्तो दिनुभएको थियो । तर, भट्टराईले म भारत आउँदिन अहिले जनतालाई मैले दिने केही कुरा हुँदैन ।

त्यसबेला अटल विहारी बाजपेइले तपाइँलाई सजिलो हुनेगरी कालापानी र भुटानी शरणार्थीको विषयमा तपाईं एयरपोर्टमा छिर्ने बेलामै म घोषणा गरिदिन्छु भनेको मैले सुनेको थिए । त्यसपश्चात् मात्र भट्टराई भारत जान तयार हुनुभयो । उहाँको राष्ट्रवादी सोच रहेछ भन्ने मलाई विश्वास बढेर गयो । उहाँ भारत भ्रमणमा गएपछि त्यहाँको रक्षामन्त्री जर्ज फर्नान्डीले कालापानी र भुटानी शरणार्थीको विषय अगाडि बढाउन दिएनन् ।

भट्टराई नेपाल फर्केपछि यही विषयमा छलफल गर्न फ्रान्स जाने तयारी भएको थियो तर उहाँलाई पार्टीबाटै जान दिइएन । त्यसपछि उहाँलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भयो । पार्टीबाट पूर्ण असहयोग भयो । अन्त्यमा उहाँले प्रधानमन्त्रीबाटै राजीनामा दिनुभयो । आजसम्म मुलुकले उहाँजस्तो राष्ट्रवादी नेता पाउन सकेको छैन । यो ज्यादै दुःखको कुरा हो ।

कांग्रेसले आफ्नो एजेन्डा छोडी कम्युनिष्टहरूको एजेन्डा बोक्न थालेको हो ?

कांग्रेसले कम्युनिष्टको एजेन्ड लिएको छैन । बरु कम्युनिष्टहरूले कांगे्रसको एजेन्डा बोकेका छन् । हिंसात्मक बाटोमा हिँडेका कम्युनिष्टहरूलाई लोकतान्त्रिक बाटोमा ल्याउने काम कांग्रेसले गरेको हो । संसदीय प्रणालीमा ल्याउने काम कम्यनिष्टहरूलाई कांग्रेसले नै गरेको हो । साम्यवादको लक्ष्य लिएको कम्युनिष्टलाई विधिको शासनमा अर्थात् संसदीय बाटोमा ल्याउने काम चानुचुने कुरा थिएन ।

धर्म निरपेक्षता कांग्रेसको एजेन्डा त थिएन नि ?

नेपाली कांग्रेसले पनि धार्मिक स्वतन्त्रता कुरा गरेको छ । नेपाली कांग्रेसको झण्डाभित्रको चार तारामध्ये एक तारा धार्मिक स्वतन्त्रता हो । कुनै पनि व्यक्तिले आफूले चाहेको धर्म मान्न पाउने अधिकार नै धार्मिक स्वतन्त्रता हो । धर्म निरपेक्षता भने पनि त्यो धार्मिक स्वतन्त्रता नै हो । कुनै पनि व्यक्तिले आफूले चाहेको धर्म मान्न पाउने अधिकार धार्मिक स्वतन्त्रता हो । धर्म निरपेक्षता भने पनि त्यो धार्मिक स्वतन्त्रता नै हो । शब्द फरक भए पनि धार्मिक स्वतन्त्रमा धर्म निरपक्षताको तत्व कन्टेन्ट पाइन्छ ।

 

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा ल्याएको छ । के छ यसको वास्तविकता ?

सरकारले ल्याएको नारा अत्यन्त आकर्षक छ तर वास्तविकता त्यस्तो छैन । ‘गरिब नेपाल दुःखी नेपाली’को रूपमा चित्रण छ । नेपालमा जति पनि अर्थमन्त्री आएका छन् । तिनीहरूमा व्यावहारिक ज्ञान छैन । कुनै पनि अर्थमन्त्रीले व्यवसाय उद्योग गरेका छैनन् । उनीहरूसँग कागजी ज्ञान होला । तर, व्यावहारिक ज्ञान पटक्कै छैन । सरकारले समाजवाद उन्मुख अर्थतन्त्र भने पनि चरम पुँजीवादी बाटोमै हिँडेको छ भन्दा उत्युक्त नहोला ।

मुलुुकमा इसाइकरणको गतिविधि बढिरहेको छ नि, यसबारे तपाईंको धारणा के छ ?

एनजीओ, आईएनजीओका नाममा मुलुकमा धर्म परिवर्तन गराउने जुन खेल भइरहेको छ त्यो ज्यादै डरलाग्दो रूपमा छ । धर्म निरपेक्षताको दुरूपयोग भइराखेको छ । त्यस्ता संस्थाहरूको बाहिरी आवरण विकास हुन्छ तर भित्रि रहस्य क्रिश्चियनिटी गतिविधि बढाउने रहेको छ । उनीहरूले नेपालको गरिबी, अशिक्षामा खेलिरहेका छन् । मुलुकको समृद्धि हामी आफैँले गर्ने हो । कुनै पनि दातृ निकायले निःस्वार्थ भावले अरुको मुलुकमा काम गदैनन् ।

मुलुकको समृद्धिको बाधक एनजीओ, आईएनजीओ हो ?

समृद्धिको बाधक नै हो भनेर भन्न त नमिल्ला । तर, उनीहरू आफ्नो मिसन पूरा गर्न हाम्रोजस्तो अल्पविकसित देशहरूमा कैयौँ मुलुकहरूमा प्रवेश गर्ने गर्छन् । कतिपय आईएनजीओले त ठूला नेताहरूलाई देश विदेशमा घुमाएर आफ्नो प्रभावमा राख्ने पनि गरेका छन् भन्ने छापाहरूमा आएको छ । त्यसको ज्वलन्त उदाहरण हो होली वाइन ।

नेपाली कांग्रेसले गुमेको साख कसरी प्राप्त गर्न सक्छ ?

कांग्रेस पार्टीले सबैभन्दा पहिले गुट उपगुट, आफ्नो मान्छे भन्ने सोचको अन्त्य गर्नुपर्छ । पार्टीभन्दा राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनु पर्छ भन्ने सोच हुनुपर्छ अर्थात् राष्ट्रलाई केन्द्रविन्दुमा राख्नुपर्छ । डन, ठेकेदार, भष्ट्रहरूलाई निर्वाचनको बेला टिकट दिनु हुँदैन । जनताका मुद्दाहरूलाई पार्टीले सधैँ उठान गर्नुपर्छ । अपराधीहरूलाई राजनीतिक संरक्षण गर्नु हुँदैन । पार्टीमा कडा अनुशासनको नीति लागू गर्नुपर्छ । तब मात्र कांग्रेसको गुमेको साख फिर्ता हुन्छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस