‘कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएका छौँ’

ओमबहादुर घर्तीमगर अध्यक्ष, तिनाउ गाउँपालिका, पाल्पा

‘कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएका छौँ’

ओमबहादुर घर्तीमगर तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष हुन् । शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका घर्तीमगर पूर्व नेकपा एमालेको राजनीतिबाट राजनीति यात्रा सुरु गरेका हुन् । शिक्षण पेशामा कार्यरत रहँदा रहँदै राजनीतिक सक्रियाताले साबिक कचल गाविसको गाविस अध्यक्षमा समेत निर्वाचित भएर जनताका कामहरु गरिसकेका घर्तीमगरले पुनः गाउँपलिकाको अध्यक्षमा निवार्चित भई जनविश्वासलाई थप ऊर्जावान बनाउन लागि परेका छन् ।

पार्टीगत हिसाबले स्थानीयस्तर हुँदै जिल्लासम्म विभिन्न तह र तप्कामा रही कार्यसम्पादनको जिम्मेवारी सम्हालेका घर्तीमगर हाल नेकपाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ पाल्पाको अध्यक्ष पदमा रही पार्टीगत जिम्मेवारी सम्हालेका छन् । कृषि, पर्यटन, उद्योग कलकारखानालगायतका उत्पादनमूलक क्षेत्रको विकास तीव्र गतिमा गर्न सके अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने अध्यक्ष ओमबहादुर घर्तीमगरसँग जनमञ्च साप्ताहिको लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

कार्यसम्पादनको दुई वर्षमा के–कस्ता विकास निर्माणका कामहरु गर्नुभयो ?

विशेष गरेर दुई वर्षको समय अवधिमा सडकलाई प्रमुख प्राथमिकताका साथ प्रत्येक बस्तीहरुको साथै एक बस्तीबाट अर्को बस्ती जोड्ने सडक विस्तार, स्तरोन्नतिका कामहरु ग-यौँ । त्यसैगरी सानातिना खानेपानीका योजनाहरु कार्यान्वनमा ल्याउनुको साथै दुई करोड ५० लाख रुपैयाँको ठूलो खानेपानी योजना सम्पन्न हुने क्रममा छ भने एक वर्षभित्र तिनाउ गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त गाउँपालिकाको रुपमा निर्माण गर्ने अभियानअन्तर्गत छौँ । छवटा स्वास्थ्य इकाइहरु सञ्चालन, ‘एक घर एक सहकारी सेयर सदस्य’को अभियान, तरकारी, माछा, दालचिनी, दुधलगायतका कृषि उपजहरुको उत्पादन पकेट क्षेत्रको निर्माण, हावापानीअनुसारको कृषि उत्पादन, सामुदायिक विद्यालयहरुमा आवासीय सेवा उपलब्धता, पर्यटकीय क्षेत्रहरुको विकासलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारलगायतका क्षेत्रहरुका योजनाहरुमा कार्यसम्पादन ग-यौँ ।

कार्यसम्पादनमा चुनौतीहरुको सामना कत्तिको गर्नुप-यो ?

मुख्य गरेर हामीलाई अन्य कारणले भन्दा पनि भौगिलिक बनावट विकास निर्माणको बाधक हो । भौगोलिक बनावट नमिलेको स्थानहरुमा लागत मूल्य बढी पर्दछ । कम बजेटमा धेरै काम गर्नु पर्ने अवस्था हाम्रा लागि अर्को चुनौती हो । जनता, कर्मचारी, जनप्रतिनिधिहरुको आपसी समन्यवमा कामहरु भएकोले अन्य चुनौतीहरुको सामना गर्नु पर्ने अवस्था छैन् ।

चालू आर्थिक वर्षमा कति बजेटमा के–कस्ता योजनाहरु कार्यान्वयनमा ल्याउनुभएको छ ?

चालू आवका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जुन बजेटबाट भौतिक पूर्वाधारको निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी पर्यटनलगायतका क्षेत्रहरुमा छुट्याइएका योजनाहरु कार्यान्वयनमा ल्याउँदै छौँ ।

चालू आवमा योजनाहरुको कार्यान्वयनको अवस्था कस्तो छ ?

तिहारसम्म विभिन्न चार्डपर्वहरुको कारणले धेरै सार्वजनिक विदाहरु हुँदा योजना कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहेन । दशैँ तिहार सकिएलगत्तै स्टमेट गरेर टेण्डर आह्वान गरी योजनाहरु सम्झौता गरेर अगाडि बढ्ने प्रक्रियामा छौँ । हाम्रा योजना र बचेको समय अवधि विकास बजेट खर्च गर्न पर्याप्त रहेकोले बजेट खर्चमा चार महिना वितिसके पनि कुनै समस्या आउँदैन ।

यहाँकै गाउँपालिकाअन्र्तगत पर्ने मृत्युमार्गको उपनाम पाएको शिद्धबाबा सडकखण्डको वैकल्पिक व्यवस्थाको लागि गाउँपालिकाले के–कस्ता कार्यहरु गरेको छ ?

दुई वटा वैकल्पिक सडकहरुमध्ये झुम्सा–चरङ्गे सडक निर्माणको काम दु्रत गतिमा भैरहेको छ । उक्त सडक निर्माणमा प्रदेश सरकारले विशेष चासो देखाएर अगाडि बढेकोले प्रदेश सरकारकै बजेटमा सडक निर्माण काम भैरहेको हो । अर्को, केन्द्रीय सरकारको बजेटमा १० अर्ब रुपैयाँ लगानीमा डेढ किलोमिटर सुरुङमार्गको निर्माण प्रक्रिया पनि स्वीकृत भैसकेको अवस्था छ । एकातिर सुरुङमार्ग र अर्कोतिर बैकल्पिक सडक दुवै बनिसक्दा शिद्धबाबा सडकको समस्या समाधान हुने निश्चित छ ।

सुरुङमार्ग र वैकल्पिक सडक निर्माण कार्य समयमै सम्पन्न होला त ?

हाम्रो हातको कुरा नभएकोले हामीले ग्यारेण्टी गर्नुभन्दा पनि प्रदेश र संघीय सरकारको ग्यारेण्टी जरुरी हुन्छ । हामीले त यहाँको समस्यालाई लिएर दबाब सृजना गर्ने हो । मेरो आफ्नो विचारमा यसपालि समयमै काम हुन्छ जस्तो लागेको छ । हामीले पनि सम्बन्धित क्षेत्रमा दबाब दिइरहेका छौँ । जसले समयमै निर्माण कार्यले अन्तिम रुप पाउने छ ।

विकासित क्षेत्र बुटवलको नजिक भए पनि तिनाउ गाउँपालिका विकासले गति लिएको देखिंदैन नि ?

बुटवल र तिनाउको तुलनामा धेरै अन्तर छ । पहाडी र तराई क्षेत्र पर्नुले पनि विकास निर्माणमा अन्तर देखिएको हो । अर्को मुख्य समस्या भनेको सिद्धबाबा सडक खण्डको पहिरोले गर्दा पनि गाउँपालिकाको क्रमशः आउने विकासमा बाधा परेको छ ।

पर्यकीय क्षेत्रकोविकासमा के–कस्ता सम्भावनाहरु रहेका छन् ?

सम्भावनाहरु धेरै छन् । पहिल्यैदेखि परिचित रहेको सिद्धबाबा मन्दिरमा पनि वर्षेनी हजारौँ पर्यटकहरु आउने गर्दछन् जहाँबाट वार्षिक ७०/८० लाख आम्दानी गर्न सकिन्छ । त्यसैगरी सत्यवती ताल पनि प्रशिद्ध ताल भएकाले उक्त ताललाई यूएनडीपीको सहकार्यमा स्वास्थ्य सीपमूलक तथा शैक्षिक विकास केन्द्र स्थापना गर्दै छौँ । उक्त ताललाई व्यवस्थित गरेर आकर्षणको केन्द्रको रुपमा विकास गरी होमेस्टे सञ्चालनमा ल्याउने तयारीमा लागेका छौँ ।

त्यसैगरी सुकेतालको तीन रोपनी जग्गालाई बढाएर छ रोपनीको ताल निर्माण गरी बोटिङ गराउने लक्ष्य राखेका छौँ भने, जन्तीलुङ सबैभन्दा अग्लो र रमणीय ठाउँ भएकोले उक्त ठाउँमा पनि होमेस्टे सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि आवश्यक प्रक्रियाहरुका कामहरुमा योजनाबद्ध रुपले अगाडि बढेका छौँ । त्यसैगरी विभिन्न तीन क्षेत्रहरुमा निजी क्षेत्रबाट केवुलकार सञ्चालनको योजना पनि अगाडी बढाइएकोले क्रमिक रुपमा यहाँको पर्यटकीय विकासले फड्को मार्न सक्नेमा हामी आशावादी छौँ ।

गाउँपालिकामा आन्तरिक आम्दानीका श्रस्रोतहरु के–के छन् र जनताको निर्भर स्रोत के हो ?

गाउँपालिकाको मुख्य आम्दानीको स्रोत चुनढुङ्गा निकासीको रोयल्टीबापतको रकम र अन्य करहरु गरेर वार्षिक साढे दुई करोड जति आम्दानी हुने गर्दछ । आन्तरिक आम्दानी वृद्धि गर्नको लागि विभिन्न अध्ययनहरु थालिएकोले केही वर्षभित्र हालको आम्दानीमा वृद्धि हुने आँकलन पनि गरेका छौँ । जनताको निर्भर स्रोतहरुमध्ये दालचिनी उत्पादन पनि एउटा स्रोतमा पर्दछ भने, तरकारी खेती, दूग्ध उत्पादन, बाख्रापालन, माछापालन, कुखुरापालन, अम्रिसो उत्पादन, दालचिनी उत्पादनलगायत कृषि क्षेत्र प्रमुख निर्भरका स्रोतहरु हुन् । माथिका सबै क्षेत्रहरुमा सम्भावनाहरु पनि भएको र अँगालिएका पेशाहरु हुँदा तिनै क्षेत्रहरुको विकासले जनताको जिवनस्तर उकास्दै सम्पन्न गाउँपालिकाको रुपमा परिचित गर्न सकिन्छ ।

कृषि क्षेत्रको विकासको लागि कुनै प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुभएको छ कि छैन् ?

आर्थिक विकासमा प्रमुख स्रोतको रुपमा लिइएको कृषि क्षेत्रको विकासको लागि धेरैभन्दा धेरै योजनाहरु कार्यान्वयनमा ल्याएका छौँ । अनुदानमा बीउबिजन उपलब्ध गराउनुका साथै व्यावसायिक तरकारी खेतीलगायत पशुपालन गर्ने किसानहरुलाई मापदण्ड छुट्याएर केही रकम पनि उपलब्ध गराउँदै आएका छौँ । उत्पादन र उत्पादकत्व बढाउनको लागि विभिन्न खालका कृषि तालिमहरुको व्यवस्था गर्दै कृषिमा आकर्षण ल्याउने खालका योजनाहरु कार्यान्वयन गर्दै आएका छौँ ।

यहाँले कल्पना गरेको तिनाउ गाउँपालिका कस्तो छ ?

सोच र चाहना त महत्वकांक्षी नै छ । तर, सबै सोचहरुले पूर्णता पाउने सम्भवना कम भए पनि प्रभावकारी कार्यान्वयन महत्वपूर्ण पक्ष हो । सीमित बजेटमा असीमित कामहरु निर्धारित समयमै सम्पन्न गर्न निकै कठिन हुने भए पनि पाँच वर्षमा दीर्घकालीन महत्व राख्ने योजनाहरुलाई कार्यान्वयन गर्दै जनतालाई आत्मनिर्भर बनाउने पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनु प्रमुख लक्ष्य हो । त्यसैगरी आयआर्जनमा स्रोतहरुको वृद्धि गर्ने योजनाहरुका साथै बाह्रैमास सवारी साधन सञ्चालन गर्न सकिने सडक निर्माण, पर्यटकीय गन्तव्यको रुपमा विकास, निर्यातमुखी व्यावसायिक कृषि प्रणाली, नैतिक र व्यावहारिक शिक्षा लागू गरी शिक्षित समाजको रुपमा विकास गर्ने रहेको छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस