हचुवाको भरमा मूल्यनिर्धारण हुनु हुँदैन

जनार्दन यादव अध्यक्ष, टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि.

हचुवाको भरमा मूल्यनिर्धारण हुनु हुँदैन

दुग्ध उत्पादक कृषकहरूलाई बढी मूल्य दिई उपभोक्तालाई बजार मूल्यभन्दा कममा दूध उपलब्ध गराउने तिलोत्तमा नगरपालिका रूपन्देहीको चिरपरिचित सहकारी हो, टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । नारायण ढकालको संयोजकत्वमा २०५२ सालमा स्थापना भई हालसम्म पनि निरन्तर सेवा प्रवाह गर्न सफल सहकारीले हाल दैनिक १३/१४ सय लिटर दूध खरिदबिक्री गर्ने गर्दछ । चार सयभन्दा बढी ठूला तथा साना कृषकहरूको आबद्धता रहेको सहकारीले संस्थाका सेयरधनी अर्थात् कृषकहरूका हकहितका लागि बेला–बेलामा आफ्नो आवाजलाई बुलन्द बनाउन समेत सफल भएको छ ।

यावत समस्याहरू हुँदाहुँदै पनि ती समस्याहरूसँग लडिबुडी खेल्दै २४ वर्षसम्म स्थानीयस्तरमा गुणस्तरीय सेवा दिन सफल सहकारीमा २०७५ मंसिरदेखि जनार्दन यादवको अध्यक्षसहितको टिमले संस्थाका साथसाथै आबद्धित कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ । तिलोत्तमा–१४ को बनकट्टीमा अवस्थित उक्त सहकारीप्रति जनविश्वास पनि उत्तिकै छ । जनताहरूको विस्वास र गुणस्तरीय सेवा प्रवाहको कारण जिल्लामा नाम राख्न सफल दूग्ध उत्पादक सहकारीहरूमध्ये गनिने सहकारीको समसामयिक विषय र दूग्ध उत्पादक कृषकहरूका समस्याहरूको बारेमा जानकारी लिने उद्देश्यका साथ जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

ग्रामीण क्षेत्रमा यो सहकारीको आवश्यकता कसरी पहिचाहन भयो ?

२०५२ सालमा स्थापना भएको सहकारीले हालसम्म धेरै समस्याहरूको जालझेल गर्दै अगाडि बढेको छ । स्थापनाकालको तत्कालीन समयमा समस्याहरू त थिए नै अहिले पनि तत्कालीन समयका केही समस्याहरूले पिछा छोड्न सकेका छैनन् । तत्कालीन समयमा किसानहरूलाई उत्पादित दूधले बजार नपाउँदा सबै घरमै खपत गर्नुपर्ने अवस्था थियो भने अहिले बजार मूल्य नपाउँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ । तत्कालीन समयमा दूध बिक्रीको लागि टाढा–टाढा जानुपर्ने भएता पनि सबै दूध बिक्री हुन्छ हुँदैन कुनै ग्यारेण्टी थिएन ।

म पनि सोही समयदेखिको कृषक हुँ । त्यतिबेला पनि कयौँ पटक कृषकसँग दूध उठाएर बजारमा लगि बिक्री नभएर फिर्ता ल्याएर बुझाएको छु । एक/डेढ घण्टाको बाटोमा साइकल यात्रा गर्दै दूध बिक्रीको लागि जानुपर्ने र दूध बिक्री हुने नहुने कुनै कुराको ग्यारेण्टी नहुँदा किसानहरूले स्थानीयस्तरबाटै संगठित भई काम गरौँ भन्ने उद्देश्यले सांगठनिकरूपमा सहकारीको अवधारणा ल्याई स्थापना गरिएको हो ।

समस्याको समाधान सांगठानिकरूपबाटै हुन्छ भन्ने ग्यारेण्टी के थियो ?

कुनै पनि काम वा अवस्थालाई निचोडमा पु-याउन एक्लो व्यक्तिभन्दा धेरै व्यक्तिहरूको संलग्नता भएको समूहमा सजिलो पर्छ । एक व्यक्ति लड्ने स्थानमा ५०, एक सय, दुई सय अथवा सोभन्दा कमबेसी व्यक्तिहरू लागिरहेका हुन्छन् । जसले समस्याहरूलाई समाधान गर्न सक्छ भन्ने आम विश्वास हुन्छ र छ पनि । त्यही विश्वासको आधारमा आवश्यकताहरूलाई मूर्त रूप दिन सहकारीको स्थापना गरियो । जुन सहकारीको कारणले गर्दा कृषकहरूले अधिकतमभन्दा अधिकतम लाभ लिन सफल भएका छन् । संस्थामा आबद्ध कृषकहरूको दूध एकै ठाउँमा संकलन गछौंँ बिक्री तिवरण गर्छौँ । फाइदा नोक्सान बराबर बाड्छौँ । विचौलियाहरूले खेल्ने अवसर पाएका छैनन् यही नै ठूलो उपलब्धि हो ।

संस्थाको सुरुको अवस्था र वर्तमान अवस्थामा आएको भिन्नता कस्तो छ ?

धेरै भिन्नता छ । आकाश जमिनको जस्तो भिन्नता नभए पनि ठूलो अन्तरको भिन्नता छ । ७६ जनाको सदस्यहरूको आबद्धतामा स्थापना गरिएको सहकारीमा हाल चार सयभन्दा बढी सेयर सदस्यहरूको आबद्धता छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्नुका साथै स्थानीयस्तरमा सबैको मन जित्नु नै सफलताको उदाहरण हो । वास्तवमा भन्नुपर्दा विगतको तुलनामा वर्तमानमा धेरै परिवर्तन भएको छ । समयको मागअनुसार परिवर्तन स्वाभाविक भए पनि कठिन परिस्थितिबाट गुज्रिएर एउटा उचाइमा पुग्नु नै महत्वपूर्ण उपलब्धि हो जस्तो लाग्छ ।

संस्थाले सेयर सदस्यहरूका हकहितको लागि के–कस्ता कार्यहरू गर्दै आएको छ ?

संस्थाको स्थापना दुग्ध उत्पादक कृषकहरू तथा संस्थाका सेयर सदस्यहरूको समस्याहरूलाई एकीकृतरूपमा उठाएर समाधान गर्नु नै पहिलो प्राथमिकताको विषय भएकोले सोही विषयअन्र्तगतका आवाजहरू सम्बन्धित क्षेत्रहरूमा राख्दै आएका छौँ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट कृषकहरूका लागि प्राप्त उपलब्ध अनुदान वितरण गर्नुको साथै उत्पादनमा लागत मूल्य कम गर्न विभिन्न छलफल तथा परामर्शहरूका कार्यक्रमहरू पनि गर्दै आएका छौँ । त्यस्तै, मलखाद, बीउबिजन, घाँस, चोक्कर, ब्राण्डहरू सम्बन्धित कम्पनीहरूमा गई सहुलियत मूल्यमा खरिद गरी लागत मूल्यबराबरमै उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।

दुग्ध उत्पादक कृषहरूका समस्याहरू के–कस्ता छन् र त्यसका समाधानका उपायहरू के–के हुन सक्छन् ?

मुख्य समस्या भनेको लागतअनुसारको दूधको मूल्य नपाउनु नै प्रमुख हो । उन्नत तथा भरपर्दो बीजको अभाव, उत्पादन क्षमता वृद्धि गर्ने आहारको अभाव, बढ्दो लागत मूल्य, अवैज्ञानिक तथा हचुवाको भरमा मूल्यनिर्धारण, कृषकहरूका समस्याहरू खोजीनीति गरी समाधान गर्नेतर्फ तीनै तहका सरकारहरू प्रत्यक्ष सरकोकारमा नरहेको अवस्था, फितलो तथा पहुँचको आधारमा अनुदान वितरण, लगानीको ग्यारेण्टी अभावजस्ता दर्जनभन्दा बढी समस्याहरू टड्कारोरूपमा देखिएका छन् । ती समस्याहरूलाई समाधान गर्न राज्यस्तरबाटै प्रत्यक्ष निगरानी गरी समाधान गर्न सकेको खण्डमा कृषि प्रधान देश नेपाललाई कृषिले अगाडि लैजाने कुरामा दुईमत छैन् ।

जाँदाजाँदै मनमा लागेका केही कुराहरू ?

हामी पछाडि पर्नुका मुख्य दुई कारणहरूमध्ये एक– अरुको प्रगति देख्न नसक्नु र प्रगतिको लागि गम्भीर हुन नसक्नु नै हो । अर्थतन्त्रको प्रमुख स्रोत मानिएको कृषिमा जहिले सम्म फड्को मार्न सक्दैनौं त्यहिले सम्म आर्थिक विकास, सबै तहका नागरिकहरूकोे जीवनस्तरमा उन्नति, आयतमा उख्लेख्य कमी ल्याउन नसक्दासम्म हाम्रो अवस्थाले परिवर्तनको ढोका खोल्न सक्दैन । हामीसँग पर्याप्त सम्भावनाहरू हुँदाहुँदै पनि हामी पछाडि परेका छौँ । समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई सार्थक तुल्याउन त्यसले मागेका सबै प्रकारका कामहरू गर्नु जरुरी छ । राजनीतिक स्थिरता, व्यक्तिगत स्वार्थको परित्याग गरी सहयोगी भावनाको विकास गर्नु जरुरी छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस