जलवायु परिवर्तनको अर्थतन्त्र र जनजीवनमा असर

जलवायु परिवर्तनको अर्थतन्त्र र जनजीवनमा असर

जलवायु परिवर्तन यस सताब्दीको सबैभन्दा ओजदार मुद्दा हो । यतिबेला विश्वका राजनेता र नीतिशिल्पीहरू जलवायु परिवर्तनको मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने चिन्तामा छन् । सामान्य अर्थमा मानवीय क्रियाकलापका कारण हरितगृह प्रणालीमा असर परी वायुमण्डलको तापमानमा क्रमिक वृद्धि हुनु जलवायु परिवर्तन हो । यसले विकास, मानवीय आवश्यकता र जैविक विविधता एवं पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउने गर्दछ ।

जलवायु परिवर्तनले जीवन प्रणाली तथा पारिस्थितिक चक्रलाई असन्तुलित पार्दछ । तर, यससम्बन्धी विस्तृत अध्ययन अनुसन्धान भने भइसकेको छैन । अहिलेसम्मको अध्ययन अनुसन्धानलाई आधार मान्दा तापमानमा वृद्धि, वर्षा र मनसुनी प्रवृत्ति परिवर्तन, पानीको स्रोत सुक्दै जानु, सुख्खा र बाढी पहिरो, विभिन्न प्राणीहरूको बसाइसराइ र विनाश, जैविक विविधतालाई खतरा, खेतीपाती र उत्पादन प्रणाली, आनीवानी र सम्बन्धमा परिवर्तनजस्ता तत्काल देखिने असर यसले ल्याउने गर्दछ ।

नेपालको भू–धरातलीय संरचना कमजोर प्रकृतिको छ । यसकारण प्रकोप तथा विपत्तिको असर वहन क्षमता न्यून देखिन्छ । बढ्दो जनसंख्या, अव्यवस्थित खेती तथा बस्ती प्रणालीले जोखिमलाई झनै बढाउँदै लगेको छ । वायुमण्डलको तापमान वृद्धिले वर्षाको समय, मात्रा र स्वभावलाई परिवर्तन गर्दै लगेको छ । मनसुन प्रक्रियाको अनिश्चयताले कृषि उत्पादनलाई सिधै चुनौती दिएको छ ।

परम्परागत खेती प्रणाली अवका धेरै दिनमा उही रूपमा रहन नसक्ने देखिएका छन् । यसले बढ्दो जनसंख्याको खाद्य सुरक्षालाई पनि हाँक दिएको छ । जलाधार र पानीका मूलहरू संकटमा छन् । विकास पूर्वाधार निर्माणमा जलवायु परिवर्तन प्रभाव अध्ययन गर्नुपर्ने देखिएको छ । नेपालको सानो तर जैविक विविधतामा आधारित अर्थतन्त्रलाई कसरी दीर्घकालीनरूपमा सुरक्षित बनाउने भन्ने चुनौती थपिएको छ ।

नेपालको अर्थतन्त्र र जीवन प्रणालीमा जलवायु परिवर्तनले बहुआयामिक प्रभाव पारिरहेको छ । केही असरहरू देखिएका छन् भने केही देखिने क्रममा छन् । जनस्वास्थ्यमा पर्ने असर सबैभन्दा गम्भीर देखिएको छ । सहरी क्षेत्रका वृद्धहरूको मृत्युदरमा देखिएको वृद्धि वातावरणीय प्रणालीमा आएको परिवर्तनको कारण हो भन्ने विश्लेषण छ । त्यस्तै परम्परागत बाली विनाश देखिएको छ । बालीहरूमा रोगप्रतिरोधक क्षमताको ह्रास देखिएको छ । केही बाली र फलफूलका प्रजातिहरू लेप भएका छन् ।

बढ्दो तापको प्रभाव जीवजन्तुहरूमा देखिएको छ र यिनीहरूको अस्तित्व संकटमा परेको छ । पहाडी धरातलमा बाढी, पहिरो र तराई तथा भित्री मधेसमा बढीका कारणले जनधनको विनाश भैरहेको छ । उच्च क्षेत्रका घाँसे मैदानको उत्पादकत्वमा कमी, वन डढेलोका घटनामा वृद्धि देखिएको छ । तापमानका कारण जलविद्युत्को उत्पादन लागतमा वृद्धि देखिएको छ तर यो निश्चित अवधिमा सीमित रहन्छ र भविष्यमा नदी बहाब प्रणालीका आयोजना र सतह सिंचाइ प्रणालीलाई चुनौती थपेको छ । पर्यावरणीय, सामाजिक, आर्थिक प्रणालीमा क्षति पुग्न गएको छ र यो क्रम मौनरूपमा अघि बढिरहेको छ ।

यी तथ्य साङ्केतिकरूपमा मात्र उल्लेख गरिएको हो । यीबाहेक तापमानमा वृद्धिको कारणले खाद्यान्नको उत्पादन असर पार्नुका साथै कतिपय बीउहरू अंकुरण हुन नसकी लोपोन्मुख हुन्छन् । वन तथा जैविक विविधतालाई पनि यसले प्रत्यक्ष असर पार्दै लगेको छ । प्राकृतिक प्रकोपहरू बढ्दै छन् । तापमान वृद्धिका कारण हिमभण्डार टुक्रिँदै खुम्चिँदै छन्, विसं २०३० पछि नग्मालगायत आठवटा हिमताल विष्फोटनका घटना भए । हिमनदीहरू सुुक्न थालेका छन्, जसका कारण नेपालका करिब छ हजार साना–ठूला हिमनदीहरूको पानीको आयतन केही समयका लागि बढ्ने र त्यसपछि घट्ने सम्भावना छ ।

यसबाट नेपालको जीवन प्रणाली मात्र प्रभावित छैन, हिन्दकुश क्षेत्रका सबै मुलुकहरूको पानी भण्डार पनि हाम्रा हिमश्रृङ्खला भएकाले समस्त हिन्दकुश क्षेत्र नै प्रभावित हुँदै छ । यसबाट सतह सिंचाइ प्रणाली त प्रभावित भैहाल्छ, यसका अतिरिक्त ऊर्जा प्रणाली पनि सुरक्षित रहने छैन । जलाधार क्षेत्र प्रभावित हुँदै छ । भू–सतहको पानी भण्डार रित्तिँदै जाने र त्यसमा पानीभरण कम हुँदै गएकोले केही दशकपछि खानेपानीजस्तो आधारभूत जीवन प्रणालीले समेत जोखिम वहन गर्नुपर्ने स्थिति आउने सम्भावना छ । स्वास्थ्य जोखिम देखिन थालेको छ । कालाज्वर, जापानीज इन्सेफलाइटिस, क्यान्सर, हैजा र आस्थमाजस्ता रोगव्याधीको प्रकोप बढ्दै गएको छ ।

जलावायु परिवर्तनका असर सबै वर्ग र क्षेत्रमा प्रभाव पार्ने घटनाक्रम हो । यो एउटा प्रकोप र यसले स्वाभाविक स्थितिलाई विचलनमा ल्याउने खतरा बोकेको छ । तर, कुनै पनि विपत्तिको असर त्यसलाई नै बढी पर्दछ जसमा सहन क्षमता कम हुन्छ र जोखिम वहनको भार बढी पर्दछ । यस दृष्टिकोणबाट हेर्दा महिलाहरू पुरुषका तुलनामा बढी नै जोखिम वहनमा रहेका हुन्छन् । महिलाहरूको दिनचर्या प्राकृतिक स्रोतसँग गाँसिएको हुन्छ । वन विनाश, जलाधार संरक्षण, पानी आपूर्ति, ऊर्जा उपलब्धताजस्ता विषयमा पुरुषका तुलनामा महिलाहरूको स्वभाविक संवेदनशीलता बढी हुने गर्दछ ।

पुरुषका तुलनामा अवसर अभ्यसमा महिलाहरू पछि पर्नाले पनि जलवायु परिवर्तनका जोखिमहरू महिलामा बढी नै हुन्छ । नेपालका महिलाहरूमा जलवायु परिवर्तनका धेरै असर देखिएका छन् । पहिलो असर बसाइसराइमा देखिएको छ । जलवायु परिवर्तनका असरका कारण मानिसहरू सोसँग अनुकूलित हुने उपायको खोजीमा रहन्छन् । बसाइसराइ त्यसको एक तरिका हो । केही पहिले गरिएको एक अध्ययनअनुसार पाँचथर, गुल्मी, काभ्रे, रामेछाप र महोत्तरीबाट बसाइसराइ भएको पाइयो । बसाइसराइपछि नयाँ स्थानमा अनुकूलित हुने पीडा महिलाहरूमा छ ।

दोस्रो, जलवायु परिवर्तनको प्रमुख असरमध्ये सुख्खा पनि एक हो । सुख्खा बढ्नु आफैँमा जोखिम त हुँदै हो, महिला यसबाट बढी नै प्रभावित हुन्छन् । सुख्खाले ल्याउने प्रकोपले उद्धार र विशेष आवश्यकता माग गर्दछ । सुख्खाका कारण सागपात उत्पादनमा ह्रास आउँछ भने घरभित्रको ऊर्जा जोहोको समस्या पनि उनीहरूमा पर्ने गरेको छ । जलवायु परिवर्तनले आयआर्जन र जीवन निर्वाह प्रणालीलाई सिधै प्रभाव पारेको छ । सुख्खा, बाढी, पहिरोलगायतका अन्य असरहरूका कारण हिमाली क्षेत्रका महिला पशु चरिचरणका समस्यातर्फ धकेलिँदै छन् ।

अन्य क्षेत्रमा पनि परम्परागत पेशा र उत्पादन प्रणालीमाथि असर परेको छ । महिलामाथि जलवायु परिवर्तनको विश्वव्यापीरूपमा परेको प्रभावमध्ये सबैभन्दा देखिने प्रभाव पानीको तनाव हो । भू–धरातलीय स्वरूपका कारण जलवायु परिवर्तनका दृष्टिमा विश्वको चौथो जोखिमयुक्त मुलुक नेपालमा पानीको अभाव बढ्दै जाँदा पानी संकलनका लागि अत्यधिक समय खर्चिनुपर्ने भएको छ, जसले अन्य क्रियाकलापमा समय विनियोजन गर्न बाधा पारेको स्पष्ट छ । साथै स्वास्थ्य समस्यामा वृद्धि, सरसफाइमा न्यून पहुँच र खर्चिलो हुनु, महिनावारी चक्रमा तलमाथि र छिटो विवाहजस्ता प्रभाव पनि देखिएको छ ।

महिला, बालबालिका र जोखिममा रहेका वर्गमा पोषण तथा स्वास्थ्य समस्यामा वृद्धि देखिएको छ । यस वर्गका बालबच्चाले छोटो अवधिमा नै पढाइ तथा विद्यालय छाड्ने प्रवृत्ति देखिएको छ । साथै जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमाथि प्रभाव पारेकाले त्यसको प्रत्यक्ष असर दैनिकीमा पर्न गई तुलनात्मकरूपमा महिलामा कार्यबोझ बढ्न गएको छ । विविध समस्याले एक स्थानबट अर्को स्थानमा मानिसहरू बसाइ सर्दा आधारभूत आवश्यकता पूर्ति गर्ने र सामाजिकीकरणका प्रक्रियामा तनाव, झै–झगडा हुने र त्यसको भार महिलामा बढी पर्ने देखिन्छ । नेपालका हिमाली भेगहरू तुलनात्मकरूपमा जलवायु जोखिममा देखिन्छन् । त्यसैले त्यहाँका महिलामा जलवायु परिवर्तनको असर अन्य ठाउँको तुलनामा बढी छ । यसको उदाहरण शिक्षा, स्वास्थ्य, आयु, इन्धनको जोहो र खाद्य उत्पादन प्रणालीमा देखिएको छ ।

जलवायु परिवर्तन विश्वव्यापी प्रक्रिया हो । यसलाई नेपालजस्तो मुलुकले चाहेर पनि नियन्त्रण गर्न सक्दैन । यो विशेषतः विकसित र नवोदित अर्थतन्त्रको अविवेकशील आर्थिक क्रियाकलापको परिणति हो तर यसका असरबाट हामी चाहेर पनि अलग रहन सक्दैनौँ । यस अवस्थामा जलवायु परिवर्तनबाट अनुकूलित हुँदै जानु नै हाम्रो विकल्प हो । कृषि प्रणाली अनुकूलित गर्दै जानु, जलाधार र नदी बेसिन प्रणालीहरू सुरक्षित बनाउनु, जैविक विविधता सुरक्षित गर्नु, व्यवस्थित बस्ती प्रणाली विकास गर्नु, किफायती ऊर्जा र खानपान आनीबानी परिवर्तन गर्नु अनुकूलनका सामान्य विधि हुन् ।

आर्थिक वृद्धि र उत्पादन प्रणाली परिवर्तनका लागि चक्रीय अर्थतन्त्रको अवधारणा एवं हरित आर्थिक पद्धति अपनाउनु आवश्यक छ । साथै जलवायु परिवर्तनका विषयमा व्यापक नागरिक शिक्षा र स्थानीय तह परिचालन गरिनु पर्दछ । संघीय तह मार्गदर्शकका रूपमा रहनु पर्दछ । अन्यथा हामीले चाहेजस्तो जीवन प्रणाली स्थापना गर्न गाह्रो हुन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie