अन्तरिक्ष यात्राका लागि ‘गर्लफ्रेन्ड’ खोज्दै अर्बपति

अन्तरिक्ष यात्राका लागि ‘गर्लफ्रेन्ड’ खोज्दै अर्बपति

टोक्यो, पुस २९
जापानका एक अर्बपतिले अन्तरिक्ष यात्राका लागि केटी साथीको खोजी गरेका छन् । बीबीसीका अनुसार अर्बपति युसाकु माइजावाले स्पेस एक्सको चन्द्रमाको नजिकसम्म पुग्ने यात्राको लागि जीवनसाथी खोजेका हुन् । फेसन क्षेत्रका चर्चित अर्बपति हाल ४४ वर्ष उमेरका छन् । उनको सपना साकार भए स्पेस एक्सको स्टारशिप रकेटमा चन्द्रमाको वरपर अन्तरिक्ष भ्रमणमा जाने पहिलो सर्वसाधारण यात्रु बन्नेछन् । योजनाअनुसार काम भए सन् २०२३ मा युसाकु अन्तरिक्ष यात्रामा जाने बताइएको छ । यो योजना सफल हुँदा उनी सन् १९७२ पछि पहिलो मानव यात्रु समेत बन्नेछन् ।

उनले केटी साथीका लागि अनलाइनमार्फत आह्वान गरेका हुन् । उनले विशेष महिलासँग उक्त अनौठो अनुभव बाँड्न चाहेको पनि बताएका छन् । उनले २७ वर्षीया आयामी गोरिकी नामकी अभिनेत्रीसँगको सम्बन्ध भर्खरै छोडेका थिए । महिलाहरुलाई उनले आफ्नै वेबसाइटमा विज्ञापन गरेका हुन् । ‘म आफूभित्र एक्लो र रित्तोपना महसुस भइरहेको छ र म अहिले खाली कुनै एक महिलासँगको प्रेमलाई निरन्तरता दिन सकूँ’, वेबसाइटमा उनले भनेका छन्, ‘म जीवनसाथी चाहन्छु र उनीसँग बाहिरी अन्तरिक्षमा पुगेर प्रेम र विश्व शान्तिको आवाज चिच्याउन सकूँ !’

आवेदनको लागि तीन महिना लामो प्रक्रिया राखिएको छ । यसमा केही शर्तहरु समेत रहेको बताइएको छ । उक्त प्रक्रियामा इच्छुक महिला एक्लो हुनुपर्ने, २० वर्षमाथिको हुनुपर्ने र सधैँ सकारात्मक रहने तथा अन्तरिक्ष जाने इच्छा भएको हुनुपर्ने उल्लेख छ । जनवरी १७ सम्म इच्छुक महिलाले निवेदन दिनसक्नेछन् भने अन्तिम निर्णयको लागि मार्चको अन्तिमसम्मको समय दिइएको छ । उनी यस्तै यस्तै अनौठो प्रचारबाजीका लागि चर्चित छन् ।

केही समयअघि मात्रै उनले ९ लाख २५ हजार अमेरिकी डलर सय जनालाई आफ्नो ट्विट सेयर गरे बाँड्ने बताएका थिए । उनी जापानको अनलाइन क्लोथिङ रिटेलर जोजोका संस्थापक हुन् । उनीसँग करिब ३ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ भने धेरै पैसा उनले कलाका लागि खर्च गर्छन् ।

गत वर्षदेखि उनी चर्चित बनेका हुन् । स्पेस एक्सको चन्द्र मिसनका लागि पहिलो यात्रु घोषणा भएपछि उनको चर्चा सुरु भएको थियो । स्पेस एक्स अर्का चर्चित अर्बपति एलन मस्कको कम्पनी हो । यद्यपि उनले उक्त यात्राका लागि तिर्ने भाडा रकम भने कम्पनीले सार्वजनिक गरेको छैन । उनले आफूसँगै धेरै कलाकारहरुलाई पनि अन्तरिक्ष लैजाने प्रतिबद्धता जनाएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie