प्लास्टिक कारखानामा आगलागी हुँदा बंगलादेशमा १२ जनाको मृत्यु

प्लास्टिक कारखानामा आगलागी हुँदा बंगलादेशमा १२ जनाको मृत्यु

ढाका, मंसिर २७
अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा बंगलादेशमा १२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाहिर भएको उक्त घटनामा परी दुई दर्जन बढी गम्भीर घाइते भएका छन् । द डेली स्टार अनलाइनका अनुसार बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी सुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

स्थानीय प्रहरी प्रमुख शाह जमानले भने, ‘एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए ।’ उनले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताए । चिकित्सक समन्तलाल सेनले अझै धेरैको अवस्था गम्भीर रहेको जानकारी दिए ।

अधिकांशको मुखबाट विषाक्त धूवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वा्धिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस