एयर इण्डियाले सरकारसँग माग्यो २४ अर्ब ग्यारेन्टी

एयर इण्डियाले सरकारसँग माग्यो २४ अर्ब ग्यारेन्टी

नयाँ दिल्ली, मंसिर २७
आर्थिक संकटमा गुज्रिएको भारतको सरकारी हवाइ कम्पनी एयर इण्डियाले नयाँ पुँजी जुटाउन सरकारसँग २४ अर्ब भारुको ग्यारेन्टी माग गरेको छ । भारतीय मिडियाहरुका अनुसार मुख्य परिचालन आवश्यकता पूरा गर्न यो पुँजीको खोजीमा रहेको छ । त्यस्तै सरकारले पनि कम्पनीको लगानीको लागि मार्गचित्रलाई अन्तिम रुप दिइरहेको बताइएको छ । नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०१८/०१९ मा मात्रै ८५ अर्ब ५६ करोडको खुद नोक्सानी व्यहोरेको थियो । वित्त मन्त्री निर्मला सीतारमनले मार्च सम्म एयर इण्डिया र भारत पेट्रोलियमको लगानी प्रक्रिया पूरा गरिने यसअघि नै बताएकी थिइन् ।

सरकारले एयर इण्डियालाई बेच्नका लागि काम गरिरहेको छ । सरकारी बन्डको माध्यमबाट ७७ अर्ब ८५ करोड भारु यसअघि नै जुटाइसकेको बताइएको छ । यो रकम एयरलाइनको कर्जा तिर्न प्रयोग गरिनेछ । सरकारी योजनाअनुसार एयर इण्डिया र यसको अर्को कम्पनी एयर इण्डिया एक्सप्रेसलाई बेच्ने तयारी गरिएको छ । त्यस्तै ग्राउन्ड ह्यान्डलिङ कम्पनी एयर इण्डिया सिंगापुर टर्मिनल सर्भिसेज लिमिटेडमा रहेको हिस्सेदारी पनि बेचिनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस