हातहतियार खरिदमा विश्वकै दोस्रो मुलुक बन्यो भारत, साउदी अरेबिया पहिलो

हातहतियार खरिदमा विश्वकै दोस्रो मुलुक बन्यो भारत, साउदी अरेबिया पहिलो

नयाँ दिल्ली, मंसिर २५
विश्वमा धेरै हातहतियार खरिद गर्ने मुलुकमा भारत दोस्रो देश बनेको नयाँ तथ्यांकले देखाएको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्टिच्युट (सिप्री)ले प्रकाशित गरेको रिपोर्टले यस्तो देखाएको हो । उक्त रिपोर्टले साउदी अरेबिया धेरै हतियार किन्नेमा पहिलो र भारत दोस्रो स्थानमा रहेको देखाएको हो ।

भारतीय हतियार निर्माताहरुले बढीजसो घरेलु माग पूरा गरेका छन् । धेरै हतियार खरिद गरे पनि भारतले प्रतिरक्षा पूर्वाधार तयार गर्न असफल हुँदै आएको छ । यदि विश्वमा ध्रुवीयता बढ्यो र हतियार आपूर्ति बन्द भयो भने भारतलाई अप्ठ्यारो पर्ने भारतीय मिडियाले समाचारमा जनाएका छन् ।

भारतमा हतियार बिक्री गर्ने तीन ठूला कम्पनीहरुले सन् २०१८ मा ५ अर्ब ९० करोड अमेरिकी डलरको हतियार बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले घटेको बिक्री हो । भारतका हिन्दुस्तान एयरोनोटिक्स, इन्डियन अर्डिनेन्स फ्याक्ट्री र भारत इलेक्ट्रोनिक्स तीनवटै कम्पनी विश्वका धेरै हतियार बेच्ने १ सय कम्पनीभित्र पर्ने गरेका छन् । तीनवटा कम्पनीले कुल १.४ प्रतिशत हतियार बिक्री गरेका छन् ।

उक्त रिपोर्टअनुसार सन् २०१८ मा विश्वका सयवटा धेरै हतियार निर्माता कम्पनीहरुले ४ खर्ब २० अर्ब डलरको हतियार बेचेका थिए । सन् २०१७ को तुलनामा सन् २०१८ मा करिब पाँच प्रतिशतले हतियार बिक्री बढेको रिपोर्टले देखाएको हो । हतियार बिक्रीमा अहिले पनि अमेरिका अगाडि छ । उसले कुल उत्पादनको ५९ प्रतिशत अर्थात् करिब २ खर्ब ४६ अर्ब अमेरिकी डलरको हतियार बिक्री गरेको छ ।

रिपोर्टअनु्सार अमेरिकी कम्पनी लकहिड मार्टिनले सन् २००९ यता निरन्तर रुपमा धेरै हतियार बिक्री गरिरहेको छ । उसले एक्लै ४७ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् करिब ११ प्रतिशत हतियार बिक्री गरेको छ ।

हतियार धेरै बेच्नेमा रुस दोस्रो नम्बरमा छ । उसले करिब ८.६ प्रतिशत बिक्री हिस्सा ओगटेको छ भने बेलायतले ८.४ प्रतिशत, फ्रान्स ५.५ प्रतिशत हतियार बिक्री गरेका छन् । तर यो सूचीमा चीनको भने तथ्यांक समावेश छैन । यद्यपि सिप्रीले चीनले करिब ३ देखि ७ प्रतिशतसम्म हतियार बेचेको हुनसक्ने अनुमान गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस