भारतमा पेट्रोल मूल्य चालू वर्षकै उच्च

भारतमा पेट्रोल मूल्य चालू वर्षकै उच्च

नयाँ दिल्ली, मंसिर २५
भारतमा पेट्रोलको मूल्य यस वर्षकै उच्च विन्दुमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार सोमबार प्रतिलिटर पेट्रोलको मूल्य ७५ भारु पुगेको हो । यो दर एक वर्षयताकै धेरै हो । मंगलबार भने प्रतिलिटर पेट्रोलको मूल्य ७४.७६ भारुमा कारोबार भएको छ । तेल कम्पनीहरुले बढेको उत्पादन लागतसँगै पेट्रोलको मूल्य वृद्धि गरेका हुन् । सार्वजनिक क्षेत्रको तेल कम्पनीको दैनिक मूल्यसूचीअनुसार सोमबार पेट्रोलको मूल्य प्रतिलिटर ५ पैसा र डिजलको मूल्य प्रतिलिटर १० पैसा बढेको छ । यो वृद्धिसँगै भारतीय राजधानीमा पेट्रोल ७५ भारु र डिजल ६६.०४ भारु प्रतिलिटर पुगेको छ ।

भारतमा इन्धनको मूल्य गत नोभेम्बर ९ पछि एक दिनबाहेक लगातार बढिरहेको बताइएको छ । कुल मिलाएर पछिल्लो महिना पेट्रोल २.३० भारु प्रतिलिटर महंगिएको छ । यद्यपि डिजलमा भने ६५–६६ भारु प्रतिलिटर मात्रै रहेको छ । विश्वकै ठूलो तेल उत्पादनकर्ता साउदी अराम्कोको इन्धन प्रशोधन गृहमा सेप्टेम्बरको मध्यतिर ड्रोन आक्रमण भएपछि इन्धनको मूल्यवृद्धि भइरहेको छ । आक्रमणपछि लगत्तै १५ दिनको अन्तरालमा २.५ प्रतिलिटर भारु बढेको थियो । तर त्यसपछि दिल्लीमा ७४.६१ भारुबाट घटेर ७२.६० भारु प्रतिलिटरमा घटेको थियो । पछिल्लो समय पेट्रोलको मूल्य बढ्नुलाई डलरसँग भारुको विनिमयलाई पनि मानिएको नवभारत टाइम्सले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस