नक्सा पास नै नगरी बने सयौं विद्यालय

नक्सा पास नै नगरी बने सयौं विद्यालय

दोलखा, फागुन १२
भूकम्पले क्षति पु-याएका सयौँ विद्यालयका भवनहरू नक्साविना नै निर्माण सम्पन्न भएको पाइएको छ । जिल्लामा निर्माण भएका तथा निर्माणाधीन अवस्थामा रहेका कुनै पनि विद्यालय भवनको नक्सा पास नभएको पाइएको हो । दोलखाको २ नगरपालिका र ७ गाउँपालिकामा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षामार्फत बनेको एक सय ८३ ओटा विद्यालय भवनमध्ये कुनै पनि भवनको नक्सा पास नगरिएको पाइएको हो । सरकारले भूकम्पपछि निर्माण गरिने निजी आवासलाई समेत नक्सा पास गर्नु अनिवार्य गरेको छ । तर, सयौँको संख्यामा विद्यार्थी पढ्ने दोलखाको सयौँ विद्यालय भवन भने नक्सा पासविना नै निर्माण गरिएका छन् ।

विभिन्न दातृ निकाय, एनजीओ, आईएनजीओले जिम्मा लिएर बनाइएको विद्यालय भवनको समेत नक्सा पास गरिएको छैन । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसओएस बालग्राम, फोरुट नर्वेलगायत विभिन्न गैरसरकारी संस्थाहरूले निर्माण गरिसकेको कुनै पनि विद्यालय भवनको नक्सा पास गरिएको छैन । साथै भारत र चीन सरकारमार्फत जिल्लामा बनाइँदै गरिएको करिब डेढ दर्जन विद्यालय भवनमध्ये कुनै पनि भवनको नक्सा पास नभएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२, भवन संहिता २०६०, भवन नियमावली २०६६ अनुसार सार्वजनिक भवनको स्ट्रक्चरल डिजाइनसहितको नक्सा पास नभएसम्म भवन निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ । सरकारले निर्माण गरेको मापदण्ड, संहिता र नियमावलीमा नक्सा पास नगरी सार्वजनिक भवन निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ । तर, आपतकालीन प्रतिकार्यको हवाला दिँदै नक्सा पास नगरी कानुनी व्यवस्थाविपरीत दोलखामा करिब दुई सय २० वटा विद्यालय भवन निर्माण भइसकेका छन् । (आथिैक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie