विद्यार्थी टहरामा शिक्षकको तलब छैन

विद्यार्थी टहरामा शिक्षकको तलब छैन

दोलखा, माघ ९
बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको कालीदेवी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकको पीडा दैनिक बढिरहेको छ । भूकम्प गएको साढे चार वर्ष बितिसके पनि अझै विद्यार्थीहरु अस्थायी जस्ताको टहरामा पढ्न बाध्य छन् । विद्यार्थीको भवन नबनेको गुनासो छ भने अस्थायी शिक्षकको चार महिनादेखि तलब नपाएको दुःखेसो छ ।

विद्यालयका चार अस्थायी शिक्षकले चार महिनादेखि आफूले पाउने मासिक तलब नपाएको गुनासो अभिभावक भेला राखेर सुनाएका छन् । बाल कक्षादेखि ८ कक्षासम्मका चार जना निजी स्रोतका अस्थायी शिक्षकलाई तलब खुवाउन कठिनाइ भएको विद्यालयका प्राध्यापक राम्जी प्रसाद घिमिरेले बताए । आर्थिक हिसाबले नाजुक अवस्था रहेको विद्यालयमा चार जना निजी स्रोतका अस्थायी शिक्षकलाई विद्यालयले तलब खुवाउँदै आएकोमा अब विद्यालयले धान्न नसक्ने अवस्था आएको विद्यालयक प्रअ राम्जी घिमिरेले बताए ।

२०५२ सालमा स्थापना भएको कालीदेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी संख्या बाक्लो भए पनि भूकम्पपछिका भौतिक संरचना नबन्दा अस्थायी टहरामा विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रअ घिमिरेले बताए । गत वर्ष भारत सरकारले पक्की भवन निर्माण गर्ने आशा देखाएर छ कोठे भवनको सर्भे गरे पनि विद्यार्थी संख्या पुगेन भनेर भवन निर्माण हुन नसकेको बैतेश्वर गाउँपालिका कार्यवाहक वडा अध्यक्ष मनिक कुमार तामाङले बताए । अहिले विद्यालय चलाउन बैतेश्वर गाउँपालिका र ३ नम्बर वडा कार्यालय मिर्गेले वार्षिक तीन लाख अनुदान दिँदै आएको छ ।

विद्यालयका अनुसार निजी स्रोतका शिक्षकलाइ तलब खुवाउन चार महिनासम्म विद्यालयको सम्पत्तिले पुगे पनि पछिल्लो समय विद्यालयको खातामा रकम नभएको कारण शिक्षकलाई तलब दिन नसकिएको हो । विद्यालयका कक्षा ८ मा पढ्ने विद्यार्थी रोजित बस्नेतले गाउँपालिकाले स्कुल ड्रेस दिए पनि जाडोमा न्यानो हुने र गर्मीमा शीतल हुने विद्यालय भवन नदिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर बस्नेतले स्थानीय सरकारलाई अनुदान थप्न लगाएर तथा विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकसँग सहयोग लिएर विद्यालयका अस्थायी शिक्षकलाई नियमित तलबको व्यवस्था मिलाउने बताए । कालीदेवी आधारभूत विद्यालयमा अहिले ६५ जना छात्र र ५५ जना छात्रा नियमित अध्ययन गर्दै आएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie