चिकित्सकविहीन जिल्ला अस्पतालमा एमबीबीएस डाक्टर 

चिकित्सकविहीन जिल्ला अस्पतालमा एमबीबीएस डाक्टर 

सोलुखुम्बु, मंसिर ९
जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था भएको छ । सोलु दुधकुण्ड नगरपालिकाले छ महिनाको लागि एमबीबीएस डाक्टरको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले नियुक्त गरेको डाक्टर स्मृती गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ । जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयको विश्वास छ ।

फाप्लु अस्पताल परिसरमा भेटिएका सोलु दुधकुण्ड नगरपालिका ११ तिङलाका दानबहादुर बस्नेतले डाक्टर नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने उपचार हुने कुरामा ढुक्क लागेको बताए । कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेडभर्ना हुने बिरामी शून्य छ भने ओपीडी सेवा लिनेको संख्या समेत ५० प्रतिशतले घटेको छ । गाउँगाउँको स्वास्थ्य चौकीले रेफर गर्ने बिरामी जिल्ला अस्पताल फाप्लुु आउने भए पनि चिकित्सक नहुँदा त्यतिकै जिल्ला बाहिर जानुपरेको थियो । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्यदुधकोशी गाउँपालिका ३ बाट आएका मनिस शासंकरको भनाइ छ । 

सञ्चारमाध्यमको खबरदारी र जनप्रतिनिधिको सक्रियताको कारण चिकित्सक व्यवस्था भएको थाहा पाएपछि अधिकांश सेवाग्राही सेवा लिन आएको बताएका छन् । कुनै समय पाँच जना डाक्टरले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावित हुँदा संघीयताप्रति असन्तुष्ट बनेकाहरू चिकित्सक आएसँगै गुणस्तरीय सेवा पाउने आशामा देखिन्छन् । 

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका पेम्बा शेर्पा भने, ‘सामान्य उपचारको लागि जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो ।’ स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । कुनै समय ११औँ तहको चिकित्सकसहित ३५ जना दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि ९औँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ । प्रदेश सरकारले समेत ९औँ तहका सहित दुई जना चिकित्सक यही हप्ताभित्र पठाइसक्ने जनाएको छ । तर, पनि माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दी हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्यौल छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस