दूधकोशी सामुदायिक अस्पताललाई जग्गा दिँदै स्थानीय

दूधकोशी सामुदायिक अस्पताललाई जग्गा दिँदै स्थानीय

सोलुखुम्बु, मंसिर ५ 
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा निर्माण हुने दूधकोशी सामुदायिक अस्पताललाई करिब डेढ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिका केन्द्र मुक्लीमा निर्माण हुने अस्पतालको लागि स्थानीय सौरब किराँत थुलुङ्ग राई र भीषण कुमार राईले संयुक्त रुपमा उक्त जग्गा प्रदान गरेका हुन् । एकै परिवारका दुई दाजुभाइले अस्पतालको नाममा ७६४ वर्गमिटर जग्गा रजिष्ट्रेसन पास गरिदिएको गाउँपालिका अध्यक्ष एवम् अस्पताल सञ्चालक समितिका अध्यक्ष असिम राईले जानकारी दिए ।

यसअघि स्थानीय ललितबहादुर राई र भीमबहादुर राईले करिब १५ रोपनी जग्गा अस्पतालको नाममा रजिष्ट्रेसन पास गरिसकेका छन् । उक्त जग्गामा भवन निर्माणका लागि रौता कुवर जेभीलाई जिम्मा दिइएको छ । असोज अन्तिम सातामा खोलिएको टेण्डरमार्फत उक्त कम्पनीले १० करोड १० लाख ७२ हजार रुपैयाँमा स्टामेटअनुसारको भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । आईसीयू सेवासहितको अस्पताल निर्माणका लागि सहयोगार्थ महायज्ञ समेत आयोजना गरिएको थियो ।

उक्त महायज्ञसँगै अस्पताल भवनको रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले संयुक्त रुपमा शिलान्यास गरेका थिए । गाउँपालिका केन्द्रमा सुविधा सम्पन्न अस्पताल बन्छ भन्ने सुनेका स्थानीयले दिएको वचनअनुसार २०७५ माघ १५ गते करिब १३ रोपनी जग्गा दूधकोशी सामुदायिक अस्पतालको नाममा रजिष्ट्रेसन पास गरिएको थियो । स्थानीय भीमबहादुर राईसहितको परिवारले आफ्नो घरबारी नै अस्पतालको नाममा रजिष्ट्रेसन गरिदिएका हुन् । 

यस्तै २०७५ चैत २० गते दोस्रोपटक स्थानीय हितबहादुर राई र ललितबहादुर राईले करिब तीन रोपनी जग्गा रजिष्ट्रेसन पास गरिदिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अध्यक्ष राईका अनुसार अहिलेसम्म करिब १८ रोपनी जग्गा अस्पतालको नाममा पास भइसकेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस