जिल्ला अस्पताल फाप्लुमा डाक्टरको व्यवस्थापन नगरपालिकाले गर्ने

जिल्ला अस्पताल फाप्लुमा डाक्टरको व्यवस्थापन नगरपालिकाले गर्ने

सोलुखुम्बु, कात्तिक २९
एक सातादेखि डाक्टरविहीन बनेको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा सोलुदुधकुण्ड नगरपालिकाले आफ्नै खर्चमा डाक्टरको व्यवस्था गर्ने भएको छ । अस्पतालमा कार्यरत डा. रमिन महर्जन समायोजनमा ललितपुर गएपछि अघिल्लो सोमबारदेखि नर्सको भरमा चल्दै आएको अस्पतालमा नगरपालिकाले आगामी मंसिर १ गतेदेखि डाक्टरको व्यवस्थापन गर्ने भएको हो ।

कुनै समय विशेषज्ञ सेवा दिने अस्पताल संघीयता आएसँगै खालि बनेको हो । यहाँ कार्यरत डाक्टर जिल्लाबाहिर जाने तथा बाहिरबाट कुनै पनि डाक्टरको रोजाइमा नपर्ने अस्पताल अहिले स्वाथ्य चौकीजस्तो बनेको छ । अहिले स्टाफ नर्स सानी शेर्पा अस्पतालको निमित्त छन् । आफूहरूले बिरामीलाई सामान्य परामर्श दिने गरेको र उपचारका लागि बाहिर जाने भन्ने गरेको उनको भनाइ छ । स्वास्थ्य उपचारबाट वन्चित हुनुपरेको जिल्लावासीको समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पतालमा डाक्टरको व्यवस्थापन गर्न लागिएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।

उनले भने, ‘प्रदेश सरकार मातहतमा रहेको अस्पताल भए पनि हाम्रो नगर क्षेत्रमा अव्यस्थित रहेकाले स्वास्थ्यमाथि नागरिकको पहुँच स्थापित गर्नका लागि नगरपालिकाले पारिश्रमिक तिर्ने गरी डाक्टरको व्यवस्थापन गर्दै छौँ ।’ डाक्टर नहुँदा सामान्यदेखि प्रसुतीसम्मको सेवा ठप्प रहेको छ । नर्सको भरमा चल्दै आएको अस्पतालमा उपचारभन्दा रिफर हुने भएपछि बिरामीको संख्या घट्दै गइरहेको छ भने उपचारका लागि ओखलढुंगा र राजधानी जान बाध्य छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस