हाम्रो गणतन्त्र दिवस र हाम्रै राष्ट्रियता

हाम्रो गणतन्त्र दिवस र हाम्रै राष्ट्रियता

हरेक वर्ष हाम्रो देशमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । प्रजातन्त्र भनौँ या लोकतन्त्र जे भनौँ वा गणतन्त्र जनता आफैंले आफ्नै लागि गर्ने शासन पद्धति हो । प्रजातन्त्रका आदर्श पिता अब्राहम लिंकनको नाम अहिले पनि सबैले लिने गरेका छन् । लोकतन्त्रका संवाहक भनिएका हाम्रा हालका प्रधानमन्त्रीले पनि भरखरै हाम्रो संसद्मा राष्ट्रपतिले प्रस्तुत गरेका अर्को वर्षको नीति तथा कार्यक्रमको बचाउ गर्दै लिँकनको नाम पटक पटक लिएको देखिन्छ । बुढ्यौलीको सकस, सकी नसकी उठ्दै बस्दै बडो प्रफुल्ल मुद्रामा हाम्रा प्रधानमन्त्रीले राष्ट्रियतामा बडो मीठो कुरा पनि प्रस्तुत गर्नुभएको छ । नभन्दै भोलिपल्टै नेपालको नक्सा पनि बाहिर आएको छ । मुख्य सचिवबाट प्रमाणीकरण हुँदै तर साविक पढ्दै आएकोभन्दा बढी क्षेत्रफलको । उता छिमेकी देश भारतले पनि नक्सा निकाल्ने यता नेपालले पनि नक्सा निकाल्ने, मानौँ दुवैतिरबाट नक्साको दोहोरी प्रतियोगिता मात्रै पो हुने हो कि अब । यसरी प्रतियोगिता मात्रै भइरहनुभन्दा जमीनको सिमांकन गरी दुवैतर्फ सेना सुरक्षाकर्मी तैनाथ पनि गरिनु राम्रो हो । यद्यपि नक्सा तयारको काम राम्रो हो, तर क्षेत्रफल तीन सय ३५ वर्ग किमि बढ्दा कहाँबाट थपियो भन्ने पनि प्रश्न आउन सक्छ । साबिक एक लाख ४७ हजार एक सय ८१ वर्ग किमिभन्दा फरक भई एक लाख ४७ हजार पाँच १६ वर्ग किमि कसरी भयो भन्ने जिज्ञासा हुन्छ अब ।

हाल पूर्वदेखि पश्चिमसम्म सबैतिर मुलुकको सीमा विवाद भइरहेकाले हाम्रो राष्ट्रियता कमजोर भएको छ । सुगौलीको सन्धिपछि कायम भएको मेची–महाकाली भूगोल हामीले दरिलो र भरिलो भने बनाउनै पर्छ । हाल पठाइएको छाँगरुकको सुरक्षाकर्मीको बसाइ अन्तिम सिमाना होइन । सीमा विवादको प्रसङ्ग खुलेर बाहिर आएको अहिले मात्र होइन धेरै समय भइसकेको छ । भारत भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो सधैँ मजबुत हुनुपर्छ । सुगौली सन्धिपछि तय भएको सीमा नक्सा बेलायतसँग पनि हुनुपर्छ । काली नदीको धार कुन हो स्पष्ट हुनुपर्छ । सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो । भानुभक्तले रामायणलाई त्यतिकै लोक भाषामा उजागर गरेका होइनन् ।

सन्धिअघि हाम्रो सिमाना अहिलेकोभन्दा धेरै थियो भन्ने सबैलाई ज्ञात छ । पहिलेको क्षेत्र हाम्रो माग पनि होइन । मूल कुरा के भने राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । र राजनीतिक ढंगले कूटनीतिक माध्यमबाटै समस्याको हल हुनुपर्छ, बल र झगडा गर्ने, अन्तर्राष्ट्रिय अदालतमा उभिएर समाधान कहिले पाउने ? केही दशक यतादेखि हाम्रो राजनीति राजनीतिक रंगकर्मीहरूको थलो बनेको छ, भारतीय जमीन खासगरी दिल्ली । सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी हामीलाई सुखै भएन । हालको गणतान्त्रिक अभ्यास चालू नयाँ राजनीतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै त भएको थियो । नेताहरूले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए । खानपिन, बस्उठ्, रहनसहन सबै उतैतिरबाट सिकियो । यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवन यापन गर्दा होस्, भाषा संस्कृतिले डो-याएर होस् सामाजिक परिवेश विहावारी, लेनदेन, बजार विविधीकरण या भनौं धार्मिक, सांस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहि आएको छ । उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्धादश ज्योति लिंग, पिण्ड पानीदेखि मुंक्ति क्षेत्रसम्म जनकपुर होस् या अयोध्या नेता हुन् वा नीति पुराना वा नयाँ पुस्तादेखि हालसम्म नेपाल भारतको सम्बन्ध चिसो तातो हुँदै गर्मी, ठण्डा हुँदै, आरोह, अवरोह हुँदै लामो इतिहासदेखि हालको धरातलमा आइपुगेको छ ।

पटक पटकको विवाद, आर्थिक नाकाबन्दी कुनैबेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझै निरीहझै बस्यौँ हामी भक्ति र भजन गर्दै । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको सजिलो विकल्प छैन आजसम्म । चीनतिरको भक्ति पनि कम छैन हाम्रो भरखरै मात्र त्यताका राजदूतको कत्रो उठ्बस्, नेताजीहरू ढल पल हुन लाग्दा उच्चस्तरमा ४५ मिनेटसम्म स्यटेलाइटमा टेलिफोन वार्ता भएका खबर बाहिर आएका थिए । परराष्ट्रले कोड अफ् कन्डक्ट पनि बनाएको छ रे तर त्यसको पालना भएकोे छैन भन्ने विज्ञहरूको भनाइ छ । औषधि, उपकरण ओम्नीसँग लिँदा फु गर्दा आइपुगेकै बेला होस् या जीटूजी गरी सेनाबाट ल्याइँदा ढिलो गरी आएको होेस् उतैबाट छिमेकी देशबाटै आएको हो । नाना, छाना, खानाका सामान होस् वा अन्य सबै थरि उपकरण होस् कतै न कतैबाट हामीले लिनै पर्छ, आफ्नो केही छैन, भएका बस्तुले हामीलाई छिनभरलाई पुग्दैन ।

हाम्रा प्रमज्यूले बडो मीठो भाषामा संसद्मै भनिदिनुभयो, विदेश बसेका मान्छे ल्याउने तर लाखौँ मान्छे कसरी ल्याउन सम्भव छ ? यो कुरा मैले विदेशमा उच्चस्तरमा कुरा गरेको छु । त्यताकालाई बस्ने खाने समस्या छैन, परिहाल्यो भने हामी तिनलाई ल्याउँछौँ, जसरी पनि ल्याउँछौं । अब यता बाँकेको नरेनापुर क्वारेन्टिन सुरक्षित भनी बस्दै गर्दा २५ वर्षका युवक स्वाहा भइरहेको परिवेशमा विदेश बसेकालाई कति बेला ल्याउने ? कसरी ल्याउने, लास पनि भनेका बखत आइपुग्ने सम्भावना छैन । हो विप्रेषण त अनलाइनमा पनि सर्लक्कै आइपुग्थ्यो, चारैतिरबाट एकैैपटक आउँथ्यो तर मान्छे यति सजिलै कसरी आउला र ! रुँदै, तड्पिँदै, छाती फुटाउँदै सहरमा घरबन्दी भई हामी भोकै बसेका छौँ, औषधि समेतको अभाव छ, त्यही हालत त होला विदेश बस्ने नेपालीहरूको पनि !

अर्को कुरा संयमित हुँदै झण्डै डेढ महिना राजधानीभित्र हामी थुनिएर रहँदा सामान्य सनसिटीबाहेक अन्य भयावह अवस्था थिएन । अहिले जब संसद सुरु भयो मान्छे ह्वारह्वार्ती काठमाडौँ ओइरिए । हुन त यो संयोग हुनसक्ला तर अरु बेलाकोझैं भर्चियुल बैठक गरे के हुन्थ्यो ? हाललाई अध्यादेशबाट पूरक बजेट ल्याएको भए के हुन्थ्यो ? सत्रौँ खर्बको बजेटको के आवश्यकता प¥यो अहिले ? ढाइ घण्टा बढीको त नीति भाषण नै छ भने बजेट भाषण कति समयको होला, कि कतै कतै मात्र छोटकरीमा पढ्ने कि ? मान्छे मर्ने बाँच्ने ठेगान छैन । प्रमबाटै भनिएको छ पहिले बाँच्ने कुरा गरौँ अनि अर्थतन्त्रको कुरा गरौँला । प्रहरी कार्यालय आफैं सिल हुन लागेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरू आफैं क्वारेन्टिनमा बस्न थालेका छन् । धमाधम क्षेत्रक्षेत्रहरू सिल गरिँदैछन् । बाँसका भाटाले छेकेर सडकमा स्प्रे गरेर कोरोना रोकिन्छ ? जनताहरूको अज्ञानतालाई गणतन्त्रको सरकारले किन स्पष्ट नगरेको ? र ५ महिनापछि पनि त्रास थपिएको थपिएकै छ । सर्वसाधारणको मनोविज्ञान कस्तो होला अहिले ! हजारौ मरेको देश इटलीले आफ्नो साँचो खोलिदियो । भारतले रेल र बस सेवा पनि खोलिदियो । अमेरिका, भारतले आफ्नो बजेटको कति प्रतिशत कोरोना राहतका लागि खर्च गरे ।, यहाँ पनि खर्च त भयो होला तर पाउनु पर्नेले केही पाएनन् । ५ किलो चामल पनि सबैले पाएका होइनन् ।

अब त हुँदा खाने मात्र होइन हुने खानेको पनि भान्सा सुकिसकेका छन् भने हामीजस्ता मध्यम वर्गीको हालत, ओठ मुख सुकिसकेको छ । सडकमा पदारो परौँ भने पनि प्रमले संसद्मा भर्खरै भनेका छन् हाम्रा सडक पूरै मानवमुक्त भएका छन्, सडकमा माग्ने, बालबालिका पटक्कै छैनन्, यो हाम्रो २ वर्षको ठूलो उपलब्धि हो भनेर । अर्को कुरा सिन्धुपाल्चोककी एक सुत्केरी युवतीको कोरोनाले मरेको भनियोे । सँगैका उनका पति, आमा, सासु र आफैंले जन्माएको शिशु भने कोरोनामुक्त भनियो । यसको अर्थ के हो ? परीक्षण गरेर जसमा कोरोना छैन उसलाई रेशम फिरीरी गरेर हिँड्न, काम गर्न दिए भएन ? सर्ने भए तिनका आश्रितलाई सर्नु पर्ने होइन ? त्यसैले कोरोनाबारे निस्पक्ष जाँच हुनुपर्छ । यो कुरा के हो । भ्रम मात्र सिर्जना गरेर मान्छेलाई अत्याएर सधैँ भकारीभित्र थुनेर राख्नु भएन । लकडाउन मात्र समाधान हो भने लकडाउनपछि देश विदेशमा किन मान्छेहरू सोत्तर भएका छन् । विश्व स्वास्थ्य संगठनलाई पनि यो प्रश्न जानुपर्छ ।

हो, भूपरिवेष्ठित भूमिको कारण मात्र हाम्रो राष्ट्रियता कमजोर भएको भने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । मायाविना मुटुको धड्कन चल्नै सक्दैन । माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरुको उपनिवेशमा कहिल्यै परेन तर आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्याम गुर्लुम ढालेको छ । पूर्वतिर प्लेन चढेर गएको नेपालकैै नक्सा अङ्कित केक काटेपछि पश्चिमतिरको नक्साले सबैको ओठमुख सुकाएकोे होइन ? एक सय दक्षिणा दिएर रुद्र्री गरी जन्मोत्सव मनाउने गरेका नेपालीका हैसियतका पण्डितका छोराले गर्ने शैली त्यही हुन्छ त ? यहाँ पङ्क्तिकारले राजनीतिको कुरा गरेकै होइन । मान्छेको व्यवहार र शैलीको मात्र कुरा गरेको हो । खर्च कटाउने अभियान आफैंले सिकाउनु पर्छ पहिले । सक्नेले साइकल चढ्दा हुन्छ । नसक्नेले मारुती भ्यान चढ्दा हुन्छ । एउटै गाडीको डेढ करोड ! यो रोक्ने आदेश गणतन्त्रको सरकारले किन नदिने ? मुलुकमा रोजगारी छैन । भएका रोजगारी पनि गुमिसकेको छ ।

स्वेच्छा वा विवशताले नेपालीहरू विदेशिएका छन् । बूढा बा आज घरगोठको चिस्यानमा छन् । छोरो जापानमा छ, बुहारीलाई लण्डनको चिसोले छोला भन्ने डर छ । छोरी कोेरिया छिन्, उनका पति अर्थात् जुवाइँ कतारमा छन् । सालो बैंककमा छ, साली अष्ट्रेलियामा । सासु ससुरा सम्धीहरू ज्येष्ठ नागरिकका हैसियतले घिरौँला जत्रो नाक पारेर यतैउतै सहरमा कोठा खोजी बसेका छन् । यहाँ कोठा खोजी बस्नेहरू पनि लोकतन्त्र र गणतन्त्र दिवस मनाइरहँदा महिनौैदेखि घरबन्दीमा छन् । कोही सिलबन्दीमा छन्, भाडा पनि तिर्न सकेका छैनन् महिनौँ भयो भाडा नपाएर घरभेटी रन्थनिएका छन् । निकाल्न नपाइने भनिएको छ, निकाल्दा पनि जाने कहाँ हरिबिजोक छ । बाहिर बसेकाबाट आउने धेरथोर पैसा आउँथ्यो रे त्यो पनि बन्द छ भन्छन् । घरभेटीको ढल जाम भयो । खोल्ने न मान्छे छन् न सामान न पैसा ! आधापेट खाए पनि दिसा पिसाबचाहिँ उत्तिकै आउँदो रहेछ । लकडाउन र सिलबन्दीको क्रम हेर्दा लाग्छ अब केही समयपछि शीतल निबास, सिंहदरबार र बालुवाटारबाहेक बाँकी सबै सिलबन्दी लकडाउन होलाजस्तो भइसकेको छ, अनि कसमाथि शासन गर्ने नि ? यो अति भयो सम्माननीय ओलीज्यू तपाईंको संसद्को अस्तिकोे भाषण त निकै मीठो लाग्यो तर, मिठासताले समस्या समाधान हुँदो रहेनछ अब विकल्पै भएन के भन्नुहुन्छ ?

आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं । मुलुको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पाङ्ग्रा हुन जरुरी छ । भूमिको कुरा माथि भयो । भूमिमा पनि कहिल्यै टनकपुर, सन्दकपुर, कहिले मेची, महाकाली, कहिले चाँदनी दोधारा, कहिले कालापानी, लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले सुस्ता सीमानाको मानौ जता हे-यो त्यतैको समस्या छ । विश्वकै एक मात्र हिन्दु राष्ट्रको नाम पनि झिकिसक्यौँ हामीले । पावन पशुपतिनाथको एकमात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपालभन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझै उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन । मुलुक बहुआयामिक संस्कृतिको धनी छ । सबै संस्कृतिलाई धेरै फूलहरू मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझै रंगीन, हराभरा बनाएझैं एक सुत्रमा आबद्ध थियो पहिले । अब एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । कोरोनाले त झन् सामाजिक दूरी लम्ब्याएको छ । विदेशी सस्कृतिले बढी प्रश्रय पाएको छ । बत्ति बालेर गर्ने पूजाको सट्टा बत्ती निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृतिभित्रेको छ । खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ ।

हो, लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ, भौगोलिक विकटता र आर्थिक असमानतालाई पनि । संघीयताले भौगोलिक विकटता हटायो कि हटाएन, घरदैलोमै सिंहदरबार पाउँदा र कोरोनाले छटपटिँदा स्थानीय व्यक्तिमा मलमपट्टी लाग्यो कि लागेन यसमा अध्ययन आवश्यक छ कि फोहोर आउने गाडीमा मात्र बाटो बन्द गरे कि नगर गाउँपालिकाहरूले सिल लाउने मात्रै काममा अघि बढे कि ! राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा व्यक्ति वा संस्था कोही ठूलो हुन सक्तैन । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय शासन प्रणालीमा छ । तर, यो प्रणाली बहुतै खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ । जनतालाई सार्वभौम गराइनु पर्छ तर बोलीले मात्रै होइन व्यवहारत हुनुपर्छ । नेताजीको स्वार्थभन्दा नीतिले सञ्चालित हुनुपर्छ मुलुक । नत्र राष्ट्रियता कमजोर हुन्छ । नेपालमा एक किसिमको द्वन्द्व कायमै छ । राजनैतक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेन । दिगो विकास र समृद्धिका लागि मुलुकको आफ्नै चिनारी हुन जरुरी छं । भाषिक औपनिवेशिकता छ यहाँ । भर्खरै बोली सिक्न लागेको बच्चाले बाबु, आमा वा हजुरबा भन्न जान्दैन । उसले भन्छ डेडी, ममी, अनि कुकुरलाई पप्पी । काकाकाकी भन्न जान्दैन, अंकल, अन्टी भन्छ । विदेशमा यस्तो हुन्न । अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्याण्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ । टाढा जानु परेन भारतकै हेरे पुग्छ, हो, त्यसभित्र पनि आफ्नै मातृ भाषा, कति छन् कति ।

हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमीनको फरक भयो । भन्छौं एकथरि गर्छौं अर्कै । बोलीमा स्थिरता छैन, निरन्तरता पनि । मानवमा चित्कार, कुण्ठा, बेमेल, विसङ्गति र बेचैनी अनि बेरोजगारी छ, बेवास्ता त छँदै छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हाबी छ सबैतिर अनि सबैतिर भागवण्डा छ, सबैतिर राजनीतिक रोजगारी छ । दलमा नमिसिएकाहरूलाई कुनै ठाउँ छैन । विश्वविद्यालय होस्, वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरूको केही स्थान छैन । सुख र सन्तोष, मानव अस्मिता मानव अंग बेचबिखन हुन थालेका छन् । सबै कुरा खुल्ला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिरभन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ । सबैलाई पहिले कुवेर बन्ने इच्छा छ निस्वार्थ सेवामा लाग्ने फुर्सद कसैलाई छैन । यस्तो पिरवेशमा प्रमज्यूको सुखी नेपाली र समृद्ध नेपालको सपना कसरी साकार होला ? सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिकभन्दा पनि । शान्ति दिन्छु भन्ने हाम्रा आजका बुद्धहरूले अशान्ति दिइरहेका छन्, मन भाँचिरहेका छन् । पद, प्रसंशा र प्रतिष्ठा क्षणिक हो अनि पेशा पनि । पवर्गमा पर्ने पद कार्यालय रहुञ्जेल मात्र काम लाग्छ, प्रतिष्ठा उसको समाज हुञ्जेल मात्र, पैसा उसलाई घटनाले साथ दिउञ्जेल मात्र, पुत्र पुत्री, परिवार पनि उसको शरीर हुञ्जेल मात्र । कोरोनाले सिकाएको पाठ त्यही हो अहिले । अपवर्गको पुण्य भने बाचुञ्चेल मात्र नभई मरिसकेपछि पनि काम दिन्छ । त्यसैले त गीताको सन्देशलाई फर्केर हेरौँ एकपटक क्षीणे पुण्ये मत्र्यलोकं बिशन्ति ।

व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर ऊसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्वमान चित्रमा मुलुक नेपाल सानो छ, शून्य दशमलव शून्य तीन प्रतिशत भूमि मात्र बोकेको छ यसले । तर यसको सगरमाथा, यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृजना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एक मात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिकहरू, विश्वमै चिनिएको वीर गोर्खाली, नेपाली कहिल्यै उपनिवेशको छायामा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिका पाखा पखेरामा हुर्केको समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरू छन् यस मुलुकमा ।

युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैै आशाको त्यान्द्रोमा लत्रिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडीबुटीको खानी हो, मुलुक । उपयोग गर्न, उत्सर्जन गर्न, उपभोग गर्न, सकिएको छैन । बस् समस्या त्यहीँनेर अड्किएको छ । यति हुँदाहुँदै पनि हामी भिक्षार्थी भएका छौं । ग्यासको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहुन सक्छ, नपाइन सक्छ । सधैँ पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेनौं । शुद्ध पिउने पानीको सधैँ हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा छैन, पानीबाट उत्पादन हुने विद्युत्को संकट खेपेको खेप्यै छौं, हामी । अनि विजुली बेच्न एमसीसीलाई अगाडिकै ढोकाबाट छिराउँछौँ भनिरहेका पनि छौँ हामी संसद्मै । हो, हाम्रो बोलीमा सत्यभन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झूट धेरै छ । हामीसँग कृषिमा हाम्रै मल खाद र बीउबिजनले भन्दा रासायनिक मल र हाइब्रिड बीउले प्रश्रय पाएझैं अन्य मूल मुद्दामा पनि विदेशीकै फोटोकपी गर्नु भएन नि । खाने तरकारीमा पनि कोरोना परीक्षण गर्नुपर्ने, सिमा सुरक्षाका लागि प्रहरी खटिने, वीर अस्पतालमा आफ्नी श्रमितीलाई भर्ना गराएर उनलाई चाहिएको रगत लिन जाँदा एउटा नेपाली सर्व साधारणले कालिमाटीमा सेनाबाट नाङ्गेझार हुनुपर्ने यो कस्तो व्यवस्थापन हो बुझिएन । लकडाउन सबैको कवच हुन हुने, यो लम्बिदै जान पनि हुने, कोरोनाको साङ्ग्लो पनि चुडिँदै जान हुने अनि यसैसँग जोडिएको देशको बजेटचाहिँ सानो आकारको हुन किन नहुने ? गणतन्त्र दिवसकै उपलक्ष्यमा सर्वसाधारणको प्रश्न हो योे । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie