नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरूको कोरोना बीमा

नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरूको कोरोना बीमा

काठमाडौँ जेठ ८
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सबै कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) बीमा गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड १९)बाट भविष्यमा आइपर्नसक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको हो । बैंकले लकडाउनको समयमा पनि ग्राहक वर्गको बैंकिङ आवश्यकता परिपूर्ति गर्नका लागि आफ्ना मुख्य–मुख्य शाखाहरू खोलेर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९१ करोड १७ लाख ९८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie