सिटिजन्स बैंकद्वारा म्याग्दीको विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा म्याग्दीको विद्यालयलाई आर्थिक सहयोग

काठमाण्डाँै,फागुन १८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यालयलाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका—५ , भीरमुनिस्थित पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबिच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरूलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरूको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरू पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिकरूपमा सबल बनाउन विभिन्न कामहरू गर्दै आएको छ । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब दुई सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो ।
उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लामो समयदेखि दीर्घकालीनरूपमा खानेपानीको व्यवस्थान हुँदा शुद्ध पिउने पानी पिउनबाट वञ्चित रहेका विद्यार्थीहरू यस किसिमको सहयोगबाट शारिरिक र मानसिकरूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ । शुद्ध खानेपानीको पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलितर दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको मनोबल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी बैंकले दिएको छ ।
बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस


Techie