नबिल बैंकको ३४ औं वार्षिक साधारणसभा

नबिल बैंकको ३४ औं वार्षिक साधारणसभा

काठमाडौं, फागुुन २८
नबिल बैंकले ३४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकल सोमबार सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौंड्यालको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस सेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आव २०७४/०७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा तीन अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१ दशमलव २२ प्रतिशत र प्रतिसेयर आम्दानी ५० रुपैयाँ २५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै एक खर्ब ६१ अर्ब रुपैयाँ पु-याएको छ । बैंकको सञ्चालन मुनाफा पाँच अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमशः सात दशमलव ५२ र सात दशमलव ५५ ले वृद्धि भएको छ । वाणिज्य बैंकहरुमध्ये आव २०७३/०७४ मा सबैभन्दा बढी कर राजस्वमा योगदान पु-याएबापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष पौंड्यालको सफल नेतृत्वमा अघि बढिरहेको बैंकको ‘नेटवर्थ’ २० अर्ब ५९ करोड रहेको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी यस वर्ष नौ अर्ब एक करोड रुपैयाँ नाघेको छ । साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौंड्यालले भने, ‘नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरुलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु-याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौँ ।’ (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie