बीमाको प्रिमियम पनि अब अनलाइनबाटै

बीमाको प्रिमियम पनि अब अनलाइनबाटै

काठमाडौं, फागुन २७
नेपालको पहिलो पेमेन्ट गेटवे इ–सेवामार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इ–सेवामार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । इ–सेवाबाट विभिन्न ८ वटा निर्जीवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइनमार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको हो । 

अनलाइन प्रिमियम भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका हुुन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इ–सेवा फोन पे प्रालिका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘ हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बीमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 

यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहक महानुभावलाई अनलाइनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इ–सेवासँगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, हामी सधैँ हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेका छौँ र हामी थप डिजिटाइजिङतिर जाँदैछौँ साथै हाम्रो ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौँ ।

देशभर ४५ हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेको इ–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाखभन्दा बढीले सेवा लिइरहेका छन् । इ–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इ–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै एक सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie