अनलाइन शिक्षाको प्रभावकारिता

अनलाइन शिक्षाको प्रभावकारिता

कोरोना संक्रमणको आयम र अवस्था हेर्दा विद्यालयलगायतका शिक्षणसंस्थाहरूमा तत्कालै पठनपाठन सुचारु हुने छाँट देखिँदैन । विद्यालयमा विभिन्न समुदायका अबोध बालबालिका आउने भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहन्छ नै । विद्यालय खोल्न ढिलो हुँदा पढाइको निरन्तरता बारेमा विद्यार्थी, अभिभावकमा अनिश्चय र अन्यौलताले पिरोलेको छ । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि विद्यालयमा लाखौं नयाँ बालबालिका भर्ना हुन पाएका छैनन् ।

एसईई र कक्षा ११ र १२का विद्यार्थीको पररीक्षा स्थगित भएको छ । त्यस्तै कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन् । कोरोना महामारीका कारण अपर्झट आइलागेको शैक्षिक अन्यौलताले चौतर्फी चिन्ता, चासो र चुनौती बढ्नु स्वभाविकै हो । उल्लिखित चुनौतीको संबोधन गर्न आवश्यक भविष्यदर्शी रणनीतिक योजना बनाउनेतर्फ सरोकार र सरकार पक्ष गम्भीर हुन विलम्ब गरिनु हुन्न ।

कोरोना संक्रमणको त्रासले अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि अन्यौलता छाएको जगजाहेर नै छ । कोरोना लकडाउनका कारण विश्वका करोडौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । लकडाउनले शैक्षिक पठनपाठन र परीक्षामा अनिश्चयको माहोल खडा गरिदिएको छ । शिक्षण संस्थाहरूमा पढाइ सुरुहुने दिनको टुंगो छैन् ।

शिक्षण संस्थामा लामो विदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेरा भित्र २४सैं घन्टा सीमित गर्दा छटपटि र बेचैनी बढ्नु स्वभाविकै हो । यसबाट उनीहरूमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रोसँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ । बरालिएका बालबालिकाको अध्ययनलाई सुचारु गर्दै शैक्षिक क्षति न्यूनीकरणका लागि अनलाइन शिक्षणलाई नै उपयुक्त विधि महसुस गरिएको छ । तथापी आवश्यक स्रोत सामग्रीको तर्जुमा नगरिकन सञ्चालन गरिने अनलाइन शिक्षा कर्मकाण्डी मात्र नबन्ला भन्न सकिन्न ।

शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, विद्यार्थी र पाठ्यवस्तुको त्रिकोणात्मक सन्तुलित संयोजनमा मात्र सफल हुनसक्छ । अहिले झण्डै २८ हजारभन्दा बढी विद्यालयहरूमा ७० लाखको हाराहारीमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट कसरी अध्यापन गर्न सकिएला चुनौतीको विषय छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार १३ प्रतिशत अर्थात् तीन हजार ६ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने सम्भावना छ । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छ भने १० हजार सामुदायिक विद्यालयमा मात्र कम्प्युटरको व्यवस्था छ । अझ इन्टरनेटलगायत सूचना प्रविधिमा राम्रो ज्ञान र सीप भएका शिक्षकको एकिन अभिलेख सरकारी निकायमा छैन ।

युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुविधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ । दुर्गम तथा सहरी क्षेत्रमा सूचना प्रविधिका सुविधाहरूको विविधता भएकोले अनलाइन कक्षाको योजना पनि सोहीअनुसार गरिनु पर्दछ । साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन शिक्षा कर्मकाण्डी मात्रै नबन्ला भन्न सकिन्न ।

कोरोनालाई परास्त गर्ने अहिलेसम्मको उत्तम उपाय भनेकै लकडाउन र सामाजिक दूरी कायम राख्नु ठहरेको छ । नेपालभन्दा अगाडि नै कोरोना संक्रमण बेहोरेका अन्य देशहरूमा समेत अहिलेसम्म शिक्षण संस्था पर्याप्त मात्रामा खुलेका छैनन् । कोरोना नियन्त्रणमा लिएको चीनमा भर्खर आंशिकरूपमा केही शिक्षण संस्था खुलेको सञ्चार माध्यमले जनाएका छन् । यस्तो विषम परिस्थितिमा विद्यालयमा शिक्षक विद्यार्थी प्रत्यक्ष उपस्थित भएर गरिने शिक्षणको विकल्प खोज्ने बेला आएको छ । विद्यालयमा गरिने शिक्षणको विकल्पकोरूपमा अहिले अनलाइन, भर्चुअल कक्षाको अतिरिक्त रेडियो टेलिभिजन आदी विभिन्न माध्यमबाट दूरशिक्षा पद्दतिमा पढाउने माहोल निर्माणको चर्चा चलिराखेको छ ।

कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालिन बन्द गरेपछि थप व्यवस्थापनको लागि सरकारी निकायले खासै प्रभावकारी कदम चाल्न सकेको छैन । लकडाउनमा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि पाठ्यक्रममा आधारित आवश्यक स्वध्यायन सामग्री उत्पादन र प्रचारप्रशारका लागि सरकारी निकाय, शिक्षकका पेसागत संघसंगठन, संस्थागत विद्यालयका संचालकका छाता संस्था प्यावसन, एनप्याब्सन तथा शिक्षा क्षेत्रमा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संघसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेकलाग्दो छ । विद्यालय तहमा मात्रै अध्ययनरत लाखौं बालबालिकाको लागि अभिभावक र सिधै विद्यार्थीलाई समेत सहयोग पु¥याउने उपायहरूको सरकार र सरोकार पक्षले तत्काल खोजी गरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नु हुन्न ।

हाम्रो विद्यमान परिवेश र उपलब्ध स्रोतसधानको प्रयोग गर्दै अनलाइनलगायतका सूचना प्रविधिको उच्चतम प्रयोग गरेर विद्यार्थीलाई नवीन ज्ञान र सीपबाट सुसज्जित गर्ने प्रस्थानबिन्दुको रूपमा अनलाइन शिक्षाको सदुपयोग गर्न बिलम्ब गर्नु हुन्न । लकडाउन अवधिभर देशभरका विद्यार्थीलाई अनलाइन शिक्षामा सरिक गराउन नसके पनि सञ्चारका अन्य उपकरण र माध्यमको योजनाबद्धरूपमा सुरुवात गर्न सकिन्छ । अहिले प्रायजसोका हातहातमा मोबाइल भएकोले स्थानीय एफएम रेडियो, टिभीहरूमार्फत विषयगत शिक्षण सामग्री तयार गरेर प्रचारप्रसार गर्दा धेरै बालबालिकालाई समेट्न सकिन्छ ।

त्यस्तै शिक्षकहरूको बसोवास आसपासमा भएका विद्यार्थीहरूलाई सहजीकरण गर्न जिम्मेवारी तोक्न सकिन्छ । उत्कृष्ट काम गर्ने शिक्षकहरूलाई निस्पक्ष मूल्यांकन गरेर पुरस्कार र दण्डको व्यवस्था गर्नाले जवाफदेही बनाउन टेवा पुग्दछ । विगतमा निश्चित भौगोलिक क्षेत्र भित्रका विद्यालयहरूको पठनपाठनलाई नियमित र सहजीकरण गर्ने गरी स्थापित स्रोत केन्द्रहरूलाई सक्रिय बनाएर पनि लकडाउनमा अहिलेको शैक्षिक समस्यालाई सम्बोधन गर्न सहजता हुन्छ । संविधानमा संघीय संरचनाअनुसार विद्यालय तहको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएकोले अनलाइन शिक्षणका लागि पनि तीनै तहका सरकारको बीचमा सहकार्य र समन्वयको खाँचोलाई नजरअन्दाज गर्न सकिन्न ।

अहिले सूचना प्रविधिमा आधारित शिक्षणको विकल्प अरु देखिँदैन् । देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी सञ्चालन गर्न सकिएला ? चिन्ता र चिन्तन विषय हो । अनलाइन शिक्षाको लागि आवश्यक उपकरण तथा नेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला ? राज्य गम्भीर छलफलबाट निष्कर्षमा पुग्नु पर्दछ । त्यस्तै परम्परागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षहरूबाट अनलाइन शिक्षण सहज होला त ? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरूलाई अनलाइन सुहाउँदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरूप सार्थक होला र ? यी र यस्तै चुनौतीहरूको रौंचिरा विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ । सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन । शिक्षामा अनलाइन कक्षा, ई–लर्निङ, भर्चुअल कक्षा आदिको उच्चतम प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रूपान्तरण गर्ने अवसरको रूपाम कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie