नेपाल बाह्य लगानी आकर्षण गर्न तयार छौं : अर्थमन्त्री खतिवडा

नेपाल बाह्य लगानी आकर्षण गर्न तयार छौं : अर्थमन्त्री खतिवडा

काठमाडौं, चैत २७
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्न सबै हिसाबले तयारी अवस्थामा रहेको बताएका छन् । नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरुबीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको छलफलमा अर्थमन्त्री डा. खतिवडाले नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरे । 

नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्धजत्तिकै आर्थिक सम्बन्ध पनि मजबुत हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए  । नेपालमा लगानी बढाउने इच्छा देखाएर नेपालमा आएको भन्दै उनले सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गरे । उनले फ्रेन्च लगानीकर्ताहरूले खोजेअनुसारको लगानीको वातावरण दिन सरकार तयार रहेको बताए । साथै अर्थमन्त्रीले महासंघले यस प्रकारको महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत दिए । 

नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए । सो अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट सहरीकरण, कृषि तथा खाद्य प्रशोधन, सहरी यातायात, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो । 

नेपाली लगानी सम्मेलनलगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । व्यावसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएको बताइन् । ‘सबै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएका छन् र सबैभन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबै नै बाह्य लगानी 

आकर्षणको अभियानमा छ’, अध्यक्ष राणाले भनिन्, ‘यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । महासंघ यसका लागि आफ्नो तर्फबाट फ्रान्सेली लगानीकर्ताहरूलाई आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध छ ।’ कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निष्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुति दिएका थिए । 

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्साँ जाभियर लेजेरले दुई देशबीचको व्यावसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले यो कार्यक्रमले केही परिणाम दिनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । 

नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजी गर्न आफूहरू यहाँ आएको स्पष्ट पारे । सो अवसरमा उनले प्रतिमण्डलमा संलग्न फ्रान्सेली कम्पनीहरूको परिचय र सहकार्यका सम्भाव्य क्षेत्रहरूको प्रस्तुति दिएका थिए । 

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, नेपाल र फ्रान्सबीच व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, फ्रान्सँग संयुक्त लगानीमा काम गर्न इच्छुक नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie