सत्ताको आडमा मूल्य बढाउन ग्यास व्यवसायीको आन्दोलन

सत्ताको आडमा मूल्य बढाउन ग्यास व्यवसायीको आन्दोलन


सत्ताको आडमा केही व्यवसायीहरुले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यले विद्यमान ऐन÷कानुनविपरीत आन्दोलन गरी खाना पकाउने ग्यासको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका छन् । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले कमिसन वृद्धिको मागसहित बिक्री बन्द गर्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गर्नुमा विद्यमान ग्यासको खुद्रा मूल्यलाई दबाबमा वृद्धि गरिने खेलसँग सम्बन्धित रहेको मन्त्रालयस्थित उच्च स्रोतले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सत्तापक्षकै व्यवसायी तथा नेपाल एलपी ग्यास संघका अध्यक्ष गोकुल भण्डारीलगायत अन्य व्यवसायीको व्यक्तिगत स्वार्थ पूरा गर्नकैलागि एकाएक कमिसन वृद्धिसहितको माग राख्दै बजारमा ग्यासको कृत्रिम अभाव समेत सृजना गरेका छन् ।

संघका अध्यक्ष भण्डारीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयमध्ये तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्षकमल दाहालको नामबाट मन्त्रालयमा कमिसन र ग्यासको मूल्यवृद्धि गर्न दबाब दिँदै आएको नाम नलेख्ने शर्तमा एक कर्मचारीले बताए । ती कर्मचारीले दिएको गोप्य सूचनाअनुसार भण्डारीले मन्त्रालयमा संघले भनेअनुसार निर्णय नगरेको खण्डमा जस्तोसुकै कारबाही हुने र जहाँपनि सरुवा वानिलम्बन समेत हुनसक्ने भन्दै कमिसन र मूल्यवृद्धिकालागि फाइल तयार गर्न भन्दै धम्की समेत दिएको बताएका छन् ।


ग्यास व्यवसायीबाट बजारमा ग्यासको अभाव सिर्जना गराएर उपभोक्ताहरुमा हाहाकार बनाई सोही मौकामा मूल्यवृद्धि गर्ने भन्दै मन्त्रालयमा भण्डारीले दबाब दिँदै आएका छन् । मन्त्रालयस्थित स्रोतका अनुसार भण्डारीले पुष्पकमल दाहाल आप्mनो ‘मामा’ भएकाले जस्तोसुकै निर्णय पनि गर्नसक्ने भन्दै कर्मचारीमाथि धम्की दिँदै आएको आरोप कर्मचारीहरुले लगाएका छन् । उद्योगी र बिक्रेताले आन्दोलनको घोषणा गरेपछि सरकारले भने अत्यावश्यक वस्तुमा हडताल नगर्न भनेपनि सो कुराको बेवास्ता गर्दै एकोहोरो मूल्यवृद्धिकालागि भण्डारीले सत्ताकै दुरुपयोग गरी गैरकानुनी रुपमा आन्दोलन गर्दै आएका छन् ।


संघका अध्यक्ष भण्डारीलेउद्योगका लागि ५ प्रतिशत र बिक्रेताहरुले ६ प्रतिशत कमिसन वृद्धिको माग गरेर अन्दोलनमा उत्रेको बताउँदै आएका छन् । उद्योगहरुको सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी र बीमा खर्च लगायतका कुरा उठाएर गत शुक्रबारदेखि आन्दोलन गर्दै आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार जनतालाई थप मारमा पारेर उद्योगीलाई राहत प्रदान गर्न नसकिने जनाएपछि भण्डारीले सत्तापक्षकै आडमा कर्मचारीमाथि दबाब दिनथालेको आरोप कर्मचारीहरुको रहेको छ । एकातर्फ ग्यास उद्योगीहरुले ग्यासमा मुनाफा छैन भनिरहेको पाइएको छ भने अर्कोतर्फ नयाँ ग्यास उद्योगका लागि आवेदन दिइरहेको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।


यसरी दबाब दिएर ग्यासको बजारमा कृत्रिम अभाव सृजना गर्नेमा ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलगायतका निजी संगठनबाट गरिँदै आएको छ । अहिले ग्यास उद्योगीलाई साबिकको मुनाफामा प्रतिसिलिण्डर १९ रुपैयाँ र व्यवसायीलाई ४ रुपैयाँ मुनाफा पाएका छन् । नेपालमा भारतको बरौनी, हल्दिाया र मथुरा डिपोबाट ग्यास आउने गरेको छ । ग्यास आयात र भण्डारणपछि सिलिण्डरमा भरेर उद्योगीहरूले ग्यास बिक्री गर्ने गरेका छन् । उद्योगी वा बिक्रेताको पुँजी र श्रम लगानीका आधारमा निश्चित प्रतिशत मुनाफा राखेर व्यवसाय गर्न दिँदै आएको छ ।


ग्यास बिक्रेताहरूले नेपाल आयल निगमबाट ग्यास लिने होइन । उनीहरूले उद्योगीहरूसँग ग्यास लिने र बिक्री वितरण गर्दै आएका छन् । हाल कमिसनसहित उद्योगीहरूको कमिसन प्रतिसिलिण्डर ४७ रुपैयाँ पुगेको छ भने बिक्रेताहरूले प्रतिसिलिण्डर ३२ रुपैयाँ पाउँदै आएका छन् । भण्डारीको लगानीमा राजधानी ग्यास र पछि पशुपति शमशेरको नेपाल ग्यास कम्पनीलाई खरिद गरेपछि पटक–पटक मूल्यवृद्धिका लागि दबाब दिँदै आएका व्यक्ति हुन् ।


अध्यक्ष भण्डारीले विभिन्न समस्यालाई देखाउँदै प्रायःजसो चाडपर्वको समयमा ग्यासको कृत्रिम अभाव सृजना गर्दै उपभोक्तामाथि ठगीधन्दा समेत चलाउँदै आएका छन् । केही ग्यास व्यवसायीका अनुसार अध्यक्ष भण्डारीले व्यक्तिगत खर्च समेत ग्यासकै कारोबार गर्दा भएको भन्दै अत्यधिक खर्च देखाउने गरेको दाबी गरेका छन् ।  स्रोतका अनुसार डिजेलको मूल्यवृद्धि,कर्मचारीको तलब वृद्धि, बैंकको ऋणको ब्याजमा वृद्धि,भन्सार नाकामा वृद्धि, भारततर्फ र नेपालतर्फ लगाइने विभिन्न शुल्क र अन्य खर्चहरुमा समेत वृद्धि भएको भन्दै उनको व्यक्तिगत खर्चसमेत सो विवरणमा देखाएर मूल्यवृद्धि गर्नुपर्ने भन्दै सरकारी कर्मचारीमाथि दबाब दिँदै आएको लामो समय भइसकेको छ। दिनप्रतिदिन उद्योगको समस्याहरु विकराल हुँदै गएको भन्दै सरकारसँग ‘इमोसनल ब्ल्याकमेलिङ’ समेत अध्यक्ष भण्डारीले गर्दै आएका छन् ।

आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस



विविध

Techie