नेपाली बजारमा भेटिने अपराध

नेपाली बजारमा भेटिने अपराध

काठमाण्डौं,चैत १७

अहिले विश्वभरि कोरोना अर्थात् (कोभिड १९) ले महामारीको रूप लिएको छ । यस्तो बेलामा जहाँ विकसित भनिएका बजारहरूले आफ्ना ग्राहकहरूको सहजताका लागि काम गरिरहेका छन् भने हाम्रो बजारमा अहिले कालोबजारीको महामारी फैलिसकेको छ । अहिलेको विषम परिस्थितिमा जसरी निजी अस्पतालले मैदान छोडेर भागेका छन् र स्थितिमा सुधार आउनेबित्तिकै तिनै अपराधका लागि बजारमा आइपुग्छन् र तिनको दादागिरी जारी रहन्छ । जनताको जीवनसँग खेलेर भए पनि तिनलाई केवल नाफा कमाउने सोच मात्र छ । यस्ता आपराधिक मानसिकतालाई राज्यले पराजित गर्नैपर्दछ । यो क्रमलाई सरकारले भङ्ग गरोस् भन्ने सबैको इच्छा छ ।सरकारले यसको रोकथामका लागि कडा कदम चाल्ने पनि भनिसकेको छ । तर, के यो सरकारको मात्र जिम्मेवारीको कुरा हो ? के यसमा व्यापारीहरूको जिम्मेवारी छैन ? यस्तो कठिन अवस्थामा पनि किन तिनमा अपराध मानसिकता मात्र हाबी छ ?समाजको उत्पत्तिसँगै अपराधको पनि जन्म भएको मानिन्छ । त्यसैले अपराध समाज जति नै पुरानो भइसकेको छ । समाजशास्त्रीहरूका अनुसार अपराधविहीन समाज असम्भव नै हुन्छ । विश्वमा विकसित, विकाशशील वा गरिब जुनै दर्जाको राष्ट्र भए पनि अपराध हरेक राष्ट्रमा रहेको छ । कहीँ यसको उपस्थिति हानिकारक तहमा छ भने कतै नियन्त्रित रहेको छ ।समाजमा विभिन्न खालका अपराधका प्रकृतिहरू रहेका हुन्छन् । केही अपराधहरू सामान्य कोटीका भनिन्छन् भने कुनै अपराध निकै गम्भीर खाले हुन्छन् । अपराध कुनै पनि समाजको शान्ति र अमनचयनका लागि हानिकारक मानिन्छ र यसको नियन्त्रण र निगरानीमा संवेदनशीलता अपनाउन जरुरी ठानिन्छ ।प्राकृतिकरूपमा नै मानिस स्वार्थयुक्त प्राणी हो । यही स्वार्थको सोचमा नकारात्मक तत्व बढ्दै जाँदा समाजमा अपराधको मात्रा बढ्दै जान्छ । यसरी मानवीय गलत स्वभावको नियन्त्रणका लागि सामाजिक मूल्य मान्यता विकास गरियो जसले केही हदसम्म अपराध नियन्त्रणमा सहयोग ग¥यौँ । तर, विकसित हुँदै आएको विज्ञान र प्रविधिका कारणले मूल्य मान्यताको सोचमा नै परिवर्तन गरिदियो । यसले गर्दा अपराध फेरि बढ्न थाल्यो । नेपालमा बजार सँगसँगै जोडिएर आउने अर्को शब्द हो अपराध । कानुनतः नेपालको बजार खुला बजार हो तर अपराध मानसिकताको हाबीले गर्दा यो निकै नै नियन्त्रित रहँदै आएको छ । नेपाली बजारलाई मध्यनजर गरेर हेर्दा यहाँ एक होइन धेरै थरिका अपराध रहेको देखिन्छ । नेपालमा कुनै सङ्कट आइलागेको बेलामा सबैभन्दा पहिले बजारले नै आफ्नो अपराधिक मानसिकता प्रर्दशन गरेको पाइन्छ । त्यो भूकम्पको बेला होस् वा नाका अवरोध भएका बेला नै किन नहोस् वा अहिलेको कठिन अवस्था । सदाबहार रूपमा नेपालमा रहेका केही बजारकेन्द्रित अपराधहरू यस प्रकार छन् ः

एकाधिकार जुन बजारमा एउटा मात्रै बिक्रेता, उत्पादक वा सेवा प्रदायकको उपस्थित रहन्छ, त्यस्तो बजारलाई एकाधिकारयुक्त बजार भनिन्छ । यस्तो बजारमा विद्यमान सरकारी नीति, बौद्धिक सम्पत्ति अधिकार वा जानकारीमा व्यापारीको एकाधिकारजस्ता बाधाका कारणले अन्य व्यापारीहरू स्वतन्त्ररूपमा बजारमा प्रवेश वा बहिर्गमन गर्ने चाहना र तत्परता हुँदा हुदै पनि गर्न सक्दैनन् । नेपालमा यस्तो खालको अपराध जताततै देख्न पाइन्छ । नेपालको कानुनले कतै पनि नभेट्ने तर हरेक उपभोक्ताले जुनै बजारमा पुग्दा भेट्ने र अनुभव गर्ने यो अपराध खासगरी यातायात क्षेत्र, खाद्यान्न उत्पादन क्षेत्र लगायत ठाउँमा पाउँछन् । व्यापारिक गठबन्धन बजारमा हुने अर्का खालको अपराधअन्तर्गत व्यापारिक गठबन्धन पनि पर्दछ । व्यापारिक गठबन्धन भनेको दुई वा सोभन्दा बढी समान उद्देश्य भएका वा समान प्रकृतिका व्यापारी वा व्यवसायीले सम्झौता वा सहमतिका माध्यमबाट आपूmहरू प्रतिस्पर्धा नगर्ने आपसी सहमति गर्दछन् भने त्यो प्रकृतिलाई व्यापारिक गठबन्धन मानिन्छ । यस्ता खालका कानुनी अवाञ्चित गतिविधिले उपभोक्ताको शोषण त हुने नै भयो अनि त्यतिले मात्र नपुगेर यसबाट राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो क्षति पुग्ने गर्दछ । व्यापारिक गठबन्धन अपराध एक बहुरूपी अपराध हो । यो अपराधअन्तर्गत तीन खाले अपराध हुने गरेको भेटिन्छ । जसमा मूल्य निर्धारण गर्ने समूह, वस्तु वा सेवाको परिमाण सीमित गर्ने समूह र बजारको बाँडफाँड गर्ने समूह पर्दछन् । नेपालमा यस्तो तीन खम्बे अपराध सञ्चालन गर्ने गिरोहको जम्बो टोली नै देखिन्छ । नेपालमा बजार अपराध निकै व्यवस्थित र श्वेत, अश्वेतरूपमा सञ्चालन भएको देखिन्छ । यो अपराधको बढ्दो प्रकृतिका कारण नै पछिल्ला केही तथ्यांकले नेपालको समग्र अर्थव्यवस्था नै कुल प्रतिशतमा करिब ५०% भन्दा ज्यादा हिस्सा छाया अर्थतन्त्रबाट बन्ने तथ्य बाहिर आएको छ । यी तथ्यांकले पनि पुष्टि गरिरहेका छन् कि नेपालको बजारमा अपराधको जाल बढ्दै गएको छ । सिन्डिकेट बजारमा हुने अर्को अपराध सिन्डिकेट पनि हो । वर्तमान सरकारले निकै हौवा भरेको र आफ्नो उपलब्धिको पहिलो नम्बरमा राखेको सिन्डिकेट तोडेको झूठो कथा र स्क्रिप्ट बजारमा पुग्ने हरेक नागरिकले यही एक अपराध र यसको झन् झाँगिदो अवस्थालाई मनन गरेर थाहा पाउन सक्दछ ।


अल्पअधिकारअल्पअधिकार पनि बजारमा गराइने अर्काे अपराध हो । यदि कुनै बजारमा दुई वा दुईभन्दा अधिक व्यापारीहरू रहन्छन् भने त्यो बजारलाई अल्पअधिकार बजार भनिन्छ । यस्तो बजारमा प्रवेश र बहिर्गमनमा केही बन्देज नरहे पनि सहज भने कदापी हुँदैन । सबै व्यापारीले एकैनासको वस्तु वा सेवा बजारमा उपलब्ध गराउँदछन् र तिनलाई प्रतिस्थापन गर्ने अन्य वस्तु वा सेवा बजारमा मौजुदा हुँदैन । व्यापारीहरूलाई आर्थिक वा व्यावसायिक निर्णय लिनका लागि जानकारीको कमी रहँदैन र एउटाको आर्थिक वा व्यवसायिक निर्णयले सबैलाई प्रत्यक्ष असर पार्ने हुँदा ती सबै व्यापारीहरू बीचमा व्यापक अन्तरसम्बन्ध रहेको हुन्छ । नेपालमा चिनी, सिमेन्ट, दुग्ध उद्योग, ग्यास, हवाईसेवा, बैकिङ, बिमा सबैमा अल्पअधिकार बजार रहेको छ । मिश्रित बिक्री अपराधबजारमा कायम रहेको र निरन्तर वृद्धि भइरहेको अर्काे अपराध मिश्रित बिक्री पनि हो । बजारमा उच्च माग भएका वस्तुको अभावको बहानामा निम्न माग भएका वस्तुहरूलाई किन्न बाध्य पार्ने परिपाटी मिश्रित बिक्रीअन्तर्गत पर्दछ । नेपालमा व्यापारीहरूले नै समय र आप्mनो स्वार्थ हेरी वस्तुको मागमा कृत्रिम उतारचढाव ल्याउने गरेको पाइन्छ । यस्ता खालका अपराध विद्यालय, स्वास्थ्य क्लिनिक, खुद्रा व्यापारी, ठूला–साना व्यापारी जहाँ पनि व्यापाक मात्रामा रहेको देखिन्छ । उपभोक्ताको स्वतन्त्रताको हनन् हुने खालका प्रावधान राखी व्यापारीले कमाउने मेलो सोझाइरहेको पाइन्छ । दुराशयपूर्ण मूल्य निर्धारण अपराधनेपाली बजारमा फेला पर्ने अर्का एक अपराध दुराशयपूर्ण मूल्य निर्धारण पनि हो । दुराशयपूर्ण मूल्य निर्धारण सामान्यतया ठूला उद्योग एवं कम्पनीहरूले साना उद्योग एवं कम्पनीहरूलाई बजारबाट विस्थापित गराई भविष्यमा आपूmलाई बजार शक्तिको रूपमा स्थापित गराउने उद्देश्यले अपनाउने गैरप्रतिस्पर्धात्मक व्यापारिक क्रियाकलाप हो । नेपालमा यस्तो अपराध प्रत्येक दिन बढ्दै गइरहेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र हो र यसको नियमानुसार यस्ता गतिविधि त पूरै निरुत्साहित गरिनुपर्ने हो तर दुर्भाग्य आजका दिनसम्म यसो हुन सकेको छैन ।

मिलेमतोपूर्ण ठेक्का मिलेमतोपूर्ण ठेक्का पनि बजारमा घटित हुने अपराध हो । यसमा बोलपत्र आह्वान गरी त्यसमा सबै सेटिङ मिलाई सबैलाई मिलाएर ठेक्का दिने प्रवृत्ति व्यापक रहने गर्दछ । यसमा उदाहरणका रूपमा रासनपानीको ठेक्का, व्यावसायिक औषधिको ठेक्का आदि पर्दछन् । यस खालको अपराध नेपालमा स्थानीय तहको निर्वाचनपछि अझ व्यापक भएर आएको पाइन्छ । यस्तो खालको अपराधले उपभोक्तालाई पूरै अहित भएको छ । नेपालको बजार अपराधिकरणको जालोमा परिसकेको भान हुन्छ । नीतिगत र नेतागत दृष्टिकोणमा स्वतन्त्र छ भन्ने सोच र भनाइ बजारको व्यवहारमा हेर्दा पूरै उल्टो देखा पर्दछ । बजार पुग्ने हरेक उपभोतmा ठगिएका छन्, कतै मूल्यका नाममा, कोही गुणस्तरमा अनि अरु कोही रुचिभन्दा बाहिर गएर गर्नुपर्ने सामान सम्झौताबाट आम मानिस ठगिएका र लुटिएका छन् ।बजार अपराधलाई नियन्त्रण गर्नका लागि सबैभन्दा पहिले सरकारको उपस्थिति बलियो देखिनुपर्दछ । सत्ताको आसनबाट हेर्दा नेपालको सरकार बलियो छ भन्ने भान पारिएको छ । तर, यही सत्ताका कुनै मन्त्री सिन्डिकेटधारीका अगाडी लाचारी बनेको पनि हामीले देखेका छौ । कोरम संख्यामा सरकार बलियो छ तर कानुन कार्यन्वयन र व्यवस्थापनमा निकै कमजोर र फितलो सावित छ । बजार अपराध नियन्त्रणका लागि सरकारी शिथिलपनामा व्यापक सुधार अनिवार्य छ । बजार अपराधलाई बेलैमा नियन्त्रण गर्न सरकार असक्षम भए समग्रमा राज्य नै असफल बन्नसक्ने खतरा हुन्छ । त्यसैले बजार अपराध नियन्त्रण सरकारको प्रमुख सरोकार हुनैपर्दछ ।(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie