जब कलाकारले राज्यलार्ई लल्कार्न थाल्छन्

जब कलाकारले राज्यलार्ई लल्कार्न थाल्छन्

आजकल गीत सुन्नेभन्दा धेरै हेरिन्छ । त्यसमाथि पनि गायिकाको सुमधुर आवाज मात्रै होइन सुन्दर शरीर पनि होस् । जब एउटी गायिका स्वरभन्दा पनि शरीरले हिट हुन्छिन्, उनी आफूलाई दुनियाँको मोनालिसा सम्झिन थाल्छिन् । गायिकाहरूलार्ई स्वर होइन जब शरीरको घमण्ड चढ्न थाल्छ तिनी आफ्नो अतीत बिर्सन थाल्छिन् । नेपालमा अहिले आधुनिक गीत गाउने स्त्री गायिकाहरूको रोग यही हो कि एउटा गीत युटयुबबाट दश हजार भ्युअर्स बढेपछि प्यासिफिक ओसनबाट प्रतिघन्टा दुई सय ५० वर्गमाइलका दरले आउने आँधि आएजस्तै आउन थाल्छ । तिनले अगाडि पछाडि रहेकालाई हिल जुत्ताले कुल्चन खोज्छन् । पहिले पहिले ज्योति मगर यस्तै आगो ओकल्थिन वस्त्र फ्याँकेर नाङ्गै तर हिजोआज अलिक शान्त छ, खै कसरी हो ।

हिट भएसी जे पनि भन्न पाइन्छ भन्ने भ्रममा बाँचेका छन् आजकलका मान्छेहरू । सुनामी सबैले बोकेका छन्, कतिबेला कसरी बहुलाउने हो त्यसको कुनै टुंगो छैन । यिनीहरूले सोच्ने गर्छन स्वर मेरो मात्रै राम्रो छ । मेरो गायकीमा जादु छ । दर्शक मेरो मात्रै हुन् । स्वर र शरीरको हाउभाउले लाखौँलाई मन्त्रमुग्ध पार्न सक्छु र म नै नेपाली गीति आकाशको एक मात्र सक्षम व्यक्ति हुँ, अरु सबै झारपात हुन् । अन्ततः एक दिन सबैले झारपात हुने दिन त अवश्य आउँछ नै ढिलो वा छिटो । स्वर छिटो सकिँदैन वा मर्दैन तर जवानीको पानी छिटो सेलाउँछ । भारत रत्न लता मंगेस्कर रूपले जस्तो छिन्, स्वर र आचरणले त्यति नै सुन्दर छिन् । सिङ्गो भारतीय जनता उनमा शिर झुकाउँछन् । लतालाई ज्युँदो देवीको रूपमा मान्छ सिङ्गो भारतले । गीत त तारादेवीले पनि गाइन्, लोचन भट्टराईले पनि गाइन् तर तिनले राज्यलार्ई गाली गरेको सुनिएन ।

कलाकार त त्यो सर्वात्मा अंश हो, जसमा भगवानको प्रतिरूप नै सुसज्जित हुन्छ । कलाकार राष्ट्रका परिचय हुन् । तर, जब कलाकारले नै राज्यलार्ई लल्कार्न थाल्छन् अनि कलाकारले पाउने जनताको मायाको मृत्यु हुन्छ । हिजो अस्ती हामीले सोसल मिडियाका भित्ताहरूमा आस्थाप्रति जनताले देखाएको अनास्था यति भयानक थियो कि आजसम्म आस्थाले जति पनि गीत गाइन् ती सबै डढेर खाग भए । जनता नै एउटा यस्तो अदालत हो कि ऊ अफ्नो राज्यलार्ई घाउ लागेको कदापि सहन सक्तैन । नेपालका प्रधानमन्त्रीलार्ई लल्कार्ने जनताले आस्था त कोही होइनन्, एउटा सामान्य गायिका । आस्थाले आफूलाई नियन्त्रण गर्न सकिनन् । सेक्युरिटी चेकिङमा आस्थाले देखाएको रवैयाले महिला प्रहरीलार्ई चित्त नबुझेर नै हो ‘तँ’ भन्ने शब्द प्रयोग गरेको । आदरार्थी शब्दको भोको हुने मान्छेले आफ्नो रवैया पनि आदर गर्न लायक बनाउनु पर्छ भन्ने कुरा आस्थाले त्यतिबेला किन बिर्सिन् होला ?

आस्थाको सांगितिक करियरमा यो एउटा ठूलो धक्का हो । जब आस्थालार्ई सार्वजनिक स्थानमा दर्शकले देख्लान् उनले प्रहरीलार्ई गाली गरेको शब्द अवश्य याद गर्लान् । प्रहरी रुखो भए पनि आस्था त यो देशको एउटा कलाकार हुन् नि । उनी त नम्र हुनुपर्थ्यो तर यो देखाउन सकिनन् । सीसी क्यामेराको फुटेजमा आस्थाले आफूले पिइरहेको कफीको गिलास महिला प्रहरीलार्ई समाउन दिएकी छिन् । के ती महिला प्रहरीको काम आस्थाको कफीको गिलास सम्हाल्नु थियो र ? अनि आफ्नो कफी बोक्ने महिला प्रहरीलार्ई नै उनले नालीको किरा बनाइन् ? ती महिला प्रहरी पनि त आखिर स्त्री नै हुन् । साँच्चै भन्ने हो भने नेपाल प्रहरीमा तल्लो श्रेणीका कर्मचारीमाथि अत्याचार छ । अझ महिला प्रहरीको दुःख बयान गरिसाध्य नै छैन । भोक, निद्रा, बिरामी थकाइ केही नभनी आफ्नो कर्तब्य निभाउन पनि त कति गाह्रो होला । ती महिला प्रहरी जवान यदि आस्था राउत भएको भए यिनले कस्तो हर्कत देखाउँथिन् होला सर्वसाधारणलार्ई । बोल्न सबैलार्ई आउँछ । सराप्न वा कसैलार्ई गाली गर्न सबैलार्ई आउँछ नि तर, त्यही ओठ हो मीठो शब्द निस्कने ।

दुई/तीनवटा गीत गाउँदैमा त्यो राष्ट्रिय कलाकार वा ख्यातिप्राप्त गायिका हुनै सक्तैन । कस्तो गायक गायिकालार्ई राज्यले लोकप्रिय कलाकार मान्ने हामीसँग एउटा अतीत सिङ्गो छ, त्यो हो नारायणगोपालको युग । यो देशमा मेलवादेवीदेखि अन्जु पन्तसम्म आइपुग्दा कलाकारले राज्यको अपमान गरेको सुनिएको थिएन । लोकप्रियताको पगरी आफैँ बुनेका कलाकारले आफूलाई सबैभन्दा महान सम्झिन्छन् । आस्था राउतले गाएको एक/दुई गीत हिट भए होलान् । आजकल सोसल मिडियाले गर्दा गीत हिट हुनुलार्ई खासै महत्व राखिन्न । आजकल गीत मुखले भन्दा कम्प्युटरले राम्रो गाउँछ । आजकल गीत गाउन स्वरले खासै महत्व राख्दैन ।

विमानस्थलको सुरक्षार्थ खटिएका राज्यको सुरक्षाबललार्ई एक जना यात्रुले यसरी धज्जी उडाउनु राज्यको सुरक्षाअंगलार्ई तथानाम गाली गर्नु, हुर्मत लिनु, सोसल मिडियाका माध्यमबाट बेइज्जत गर्नु यो गैरकानुनी क्रिया हो । महिला प्रहरीले सुरक्षा जाँचको लागि ज्याकेट खोल भन्नु अपराध हो कि आस्थाले नेपाल र नेपालीको सुरक्षा फौजप्रति गरेको अपमान गैरकानुनी हो ?

सुरक्षा घेराभित्र जाँदा हातमा कफी लिएर जानु नै आस्थाको गल्ती भैसक्यो । सेक्युरिटी बेल्टभित्र छिरेर आफूसँग भएको सबै सामान मोबाइल, ल्यापटप, घडी, चुरा, मेटल डिटेक्ट हुने सबै सामान एक्सरे मेसिनमा हाल्नुपर्छ । पानीको बोतल पनि हातमा लिने छुट हुँदैन । तर, आस्था यसको विपरीत कफी पिउँदै कसरी सुरक्षाजाँच क्षेत्रभित्र प्रवेश पाइन् ? यो रहस्य छ । त्यो समय कफी पिउने समय नै होइन । सुरक्षाजाँच हुने गेटबाहिर कफी सप छन्, यात्रुका लागि आराम गर्ने सोफाहरू छन्, सौच गर्ने शौचालय छन् । आराम गर्ने, टीभी हेर्ने, कफी पिउने, खाजा खाने यी सबै कुराहरू यात्रु प्रतीक्षालयमा नै छन् । पिइरहेको कफीको गिलास हातमा हल्लाउँदै सेक्युरिटी गेटबाट भित्र छिर्नु नै आस्थाको गल्ती भैसक्यो अनि उल्टो बिचरी महिला प्रहर्री र राज्यको सुरक्षाफौजलाई नै तथानाम गाली गर्ने ?

यो गाली र बदनाम प्रहरी फौजलार्ई मात्रै होइन । यो गाली नेपालको चन्द्र सूर्य अङ्कित ध्वजालार्ई हो । यो गाली नेपाल राष्ट्रलार्ई हो । व्यक्तिगत रूपमा म आस्था राउत चिन्दिनँ । उनी गायिका हुन् भन्ने कुरो मिडियाबाट सुनेको छु । नेपालका धेरै गायिकासँग मेरो पनि सम्बन्ध छ, एक गीतकारको नाताले । तारादेवीदेखि अन्जु पन्तसम्म आउँदा उहाँहरूको मुखबाट जहिले पनि नेपाल देशको इज्जत बढाउने काम भएको छ । कलाकारले राज्यलाई लल्कार्दैनन् मायाँ गर्छन् । एउटा कलाकारलार्ई राज्यले माया गरेको छ । त्यो कुरा कलाकारले बुझेको हुनुपर्छ । एउटा कर्मचारीले महिनाको १५ हजार तलब थाप्दा एक हजार कर तिर्छ । आस्थाले एउटा गीत गाउँदा ३० हजार लिन्छिन् । तर, राज्यलार्ई कर तिर्दिनन् ।

नेपालका प्रोफेसनल गायक गायिकाको आम्दानी महिनामा लाखाँं छ । तर, आजसम्म नेपाल सरकारले उनीहरूको कमाइबाट कर तिर भनेको छैन । कलाकार राष्ट्रका गहना हुन् भनेरै होला राज्यले छुट दिइरहेको छ । तर, जब एउटी गायिकाले नै राज्यलार्ई लल्कार्छिन् भने अब गायक गायिकाको आम्दानीमा राज्यले कर किन नलगाउने । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie