लगातारको वर्षाले हिउँदे बाली भित्र्याउन समस्या

लगातारको वर्षाले हिउँदे बाली भित्र्याउन समस्या

दोलखा, वैशाख १६
दोलखा जिल्लाका तल्लो भेगमा यो समय हिउँदमा लगाएको बाली भित्र्याउने सिजन चलेको छ । जिल्लाको वेशी फाँटमा हिउँदमा लगाएको गहुँ र आलु बाली थनक्याउने समयमा विगत केही दिनदेखि नियमित परेको वर्षाले किसानले बाली भित्र्याउन सकिरहेका छैनन् । पछिल्लो एक हप्तादेखि मौसममा परिवर्तन आएसँगै किसानलाई पाकेको बाली भित्र्याउन समस्या परेको हो । निरन्तरको वर्षाले खेतबारीमा आलु कुहिन थलेको किसानहरूले गुनासो गरेका छन् ।

जिल्लाको बैतेश्वर गाउँपालिका नाम्दुका किसान नवराज शिवाकोटीले झरीले आलु खन्न तथा गहुँ सुकाउन नदिएको बताए । उनले दुई रोपनी खेतमा आलु लगाएका छन् । ‘बिहानदेखि नै साउनभदौको जस्तै गरी झरी पर्छ, पानी पर्दा आलु खन्न सकिँदैन । मौसम सफा हुने छाटकाँट छैन’, उनले भने । साथै गहँु काट्न र काटेर राखेको गहुँ सुकाउन नपाएको उनको भनाइ छ । ‘वर्षभरि दुःख गरेर खेती ग-यो, थन्क्याउने बेलामा मौसमले साथ दिँदैन’, उनले दुखेसो पोखे । बैतेश्वर गाउँपालिकामा हिउँदे खेतीको रूपमा गहुँ र आलु खेती गरिन्छ । यहाँ जिल्लाकै सबैभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ ।

पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका अनुसार बैतेश्वर गाउँपालिकामा करिब दुई हजार टनभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ । किसानले मंसिर र पुस महिना गहुँ र आलु खेती लगाउने गर्छन् । बैतेश्वरमा करिब आधा दर्जन गहुँ उत्पादन हुने वेशी खेत रहेको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेले जनाएको छ । बाली अनुसन्धान केन्द्रका अनुसार यहाँका किसानले धान, गहुँ, मकै र कोदो खेती गर्ने गर्छन् । धेरै जसो किसानले यो समय गहुँ काटेर खेतमा मकै लगाउने गर्छन् । साथै असार र साउनमा मकै काटेर धान खेती लगाउने गरेका छन् ।

एक वर्षमा तीन बाली लगाउने किसानलाई अहिले वर्षको पहिलो बाली नै भित्र्याउन समस्या भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर चार जिलु वेशीका किसानलाई पनि यो समय परेको पानीले गहुँ भित्र्याउन समस्या भएको छ । यहाँका कृषकले गत वर्षहरूमा यस समयमा गहुँ भित्र्याएर बजारमा बिक्री समेत गर्न थालिसकेका हुन्थे । तर, यो वर्ष नियमित परेको पानी र एक महिनादेखि चलेको लकडाउनका कारण गहुँ भित्र्याउन समस्या भएको जिलुका किसान छविन्द्र चौलागाईंले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie