गुणस्तरीय शिक्षाको सुनिश्चितता र शिक्षक

गुणस्तरीय शिक्षाको सुनिश्चितता र शिक्षक

काठमाण्डौं,चैत २३
गुरुस्तर र गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । गुरुको योग्यता दक्षता, क्षमता र पेसाप्रति समर्पणमा मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितताको अपेक्षा गर्न सकिन्छ । शिक्षण सिकाइ क्रियाकलापलई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापुर्वक जवाफदेहीताको भावनाले प्रमुख भूमिका खेल्दछ । साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । गुणस्तरीय शिक्षा सुनिश्चितताको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित शिक्षक अपरिहार्य हुन्छ । शिक्षण पेसामा प्रवेश गरीसकेका जनशक्तिलाई हौसला प्रदान गर्न र उनीहरूमा भएको मैजुदा ज्ञान सीपलाई परिस्कृतसाथै पारँगत गर्दै सक्षमता ल्याउन समयानुकुल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ । शिक्षणसिकाइ क्रियाकलापलाई विद्यार्थीको रुचि क्षमताअनुसार व्यवस्थित बनाउनको लागि विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ । शिक्षण सिकाइ प्रभावकारिताको सूचक विद्यार्थीले हासिल गर्ने उपलब्धिको स्तर हो । शिक्षण एउटा कला मात्रै नभएर सामाजिक गतिविधि तथा विद्यालय सामाजिकिकरण गर्ने संस्था पनि हो । विद्यालयमा रोचक र गुणस्तरीय शैक्षिक वातावरणको सुनिश्चितताको लागि प्रत्यक्ष सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन लगायतका पदाधिकारी बीच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोग गर्ने उत्साहजनक वातावरण तर्जुमा एवं सिर्जना गरिनुपर्दछ । शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने रणनीति अवलम्वन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरक्षिणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर तथा उत्साह र ऊर्जाथप्ने काम गर्छ । पेसागत उत्कृष्टता हाँसिल गर्न समग्रमा नौनि (निष्पक्षता, निष्ठता, निर्भिकता, निस्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता गुणलाई आत्मसात गरेर व्यवहारमा उतार्न प्रेरित गरिनु पर्दछ । विद्यालय समाजको गहना भएकोले यसको सञ्चालनमा सहभागितामूलक कार्यगर्ने परम्पराले लोकतान्त्रिक प्रक्रियाबाट निर्णय र निष्कर्षमा पुग्न सहजताकासाथै सरोकार पक्षको स्वामित्व तथा अपनत्वको भावना विकास गराउँछ । जुन शिक्षण संस्था फस्टाउन अपरिहार्य हुन्छ । विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउने गरी सिक्ने थलोको रूपमा विकसित गरिनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिबृतिबाट कहिल्यै बुढो हँुदैन अत निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्दछ । शिक्षणसिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हँुद उनिहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पण उर्जा थप्न पेसागत सुरक्षा सम्मानको पनि उत्तिकै खाँचो रहन्छ । शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ ।

शिक्षक तथा कर्मचारीको बृतिविकासमा पराक्रम गर्ने भन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वग्राही ढंगबाट आँच पु¥याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा अफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नुपर्दछ । जानीजानी पदीय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षक स्वभिमानीपूर्वक आफ्नो पेसागत धर्म निर्वाह गर्न उत्साही बनाउनेछ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रिय स्तरमा संवैधानिक शिक्षकसेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुटै न्ययालयको व्यवस्था भएमा शिक्षक पदको गरिमा अझ बढ्नेछ ।
उच्च योग्यता भएका तथा तालिम प्राप्त शिक्षकले पढाएका र तालिम र अनुभव कम भएका शिक्षकले पढाएका विद्यार्थीहरूको विषयगत उपलब्धीमा खास अन्तर नभएको तथ्य र तथ्यांकले पुष्टि गर्दछ । अझ कतिपय अवस्थामा तालिम अप्राप्त शिक्षकले उछिनेको पाइन्छ । यसले तालिमको विषयवस्तु र व्यवहारिकतामा प्रश्न खडा गरिदिएको छ । त्यस्तै शिक्षकहरूलाई विद्यार्थीको उपलब्धिस्तरप्रति जवाफदेहि बनाउने नीति र रणनीतिको उत्तिकै खाँचो खट्किएको देखिन्छ । शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धिसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शीरूपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घर परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्ततालगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरन्जीवि सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।


विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्दैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेण्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भएअनुसार कम्तीमा १८० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवम् मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ । विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरूनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन , किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । त्यसकारण विद्यार्थीको भाग्य र भविष्यसँग गाँसिएको शैक्षिक कार्यक्रम, कार्यान्वयनमा ढिलासुस्ती, अनियमितता, लापरबाही, जवाफदेहिता र जिम्मेवारीलाई उपेक्षा र आफ्नो पेसागत धर्म निर्वाह नगर्नेलाई ‘शैक्षिक भ्रष्टाचारी’को रूपमा परिभाषित गरी कानुनको दायरामा ल्याउन सकेमा शिक्षाको विकास र विस्तारमा सकारात्मक काम हुनजान्छ । विद्यार्थी वनस्पतिको एकदाना बीउजस्तै हो त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउनसके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ । शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक, सामाजिक, आर्थिक, शारीरिक, राजनीतिकरूपमा सचेत, सबल सन्तुष्ट बनाउनुपर्दछ । त्यस्तै शिक्षाको हरेक क्षेत्रमा व्यक्तिभन्दा विधिको शासन, नेताभन्दा नीतिको मार्गदर्शन, दाताभन्दा डाटालाई नीति निर्माणमा प्रधानता दिँदै नौ ‘अ’ अभिभावक, अध्यापक, अध्ययनार्थी (विद्यार्थी), अध्ययन विषय र विधि, अनुशासन, अपनत्व, अनुदान, अनुगमन (निरीक्षण) र अनुसन्धानलाई मध्यनजर राखेर योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेमा एक प्रतिस्पर्धी स्वाभिमानी पौरखी नागरिक उत्पादन गर्न सकिनेछ ।

 

प्रतिकृया दिनुहोस


Techie