जीविकोपार्जनका लागि बाख्रा वितरण

जीविकोपार्जनका लागि बाख्रा वितरण

सिन्धुपाल्चोक, चैत ११ 
इन्द्रावती गाउँपालिका वडा नं ३ का रेशम बहादुर थापा अहिले दंग छन् । गाउँपालिकाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत वितरण गरेको बाख्रा पाएपछि उनी दंग भएका हुन् । गाउँपालिकाले पहिलो चरणको कार्यक्रम अन्तर्गत वडा नं ३, कुञ्चोकको १२ घरपरिवारलाई प्रतिघर पाँचवटाको दरले ५० हजार बराबरको उन्नत जातको बाख्रा वितरण गरेको छ । भूकम्पपीडित, एकल परिवार, महिला तथा अपांग परिवारलाई बाख्रा वितरण गरेको हो । यस कार्यक्रमबाट प्रत्येक वडाको वार्षिकरूपमा कम्तीमा २० घर परिवारलाई समृद्ध बानाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।

तामाङका अनुसार गाउँपालिकाले कृषि र पशु पालनका लागि ३० देखि ५० प्रतिशतसम्म अनुदान घोषणा गरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्न कृषि र पशुपालन शीर्षकमा यस आर्थिक वर्षका लागि एक करोड २३ लाख बजेट विनियोजन गरेको छ । कृषितर्फ व्यावसायिक पशुपालन प्रवद्र्धन गर्न गाउँपालिकाले अनुदान दिने भएको छ । सम्भाव्य क्षेत्रमा उत्पादन हुने कागती, कुखुरा र बाख्रापालनका लागि अनुदान दिने उनले बताए । उक्त बजेटले विपन्न परिवारको स्वास्थ्य शुल्क र औषधिसमेत समेटेको तमाङले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie