सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशत सुनिश्चित गराउन दबाब

सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशत सुनिश्चित गराउन दबाब

काठमाडौं, फागुन २८
सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशतको सुनिश्चित गराउनका लागि सहकारीकर्मी महिलाहरुले सबै संघ/संस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन् । सहकारीमा पदाधिकारीमा कम्तीमा एक जना रहनेगरी नेतृत्व तहमा ३३ प्रतिशत महिलालाई पु-याउने लक्ष्य लिइएको छ । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको सहकारीमा महिला सशक्तीकरण र समावेशिता विषय गोष्ठीमा महिला सहकारीकर्मीहरुले यो निष्कर्ष निकालेका हुन् ।

नेपालको सहकारी क्षेत्रमा महिला सदस्यको सख्या ५१ प्रतिशत रहेको भए पनि नेतृत्व तहमा महिलाको सहभागिता अझै पर्याप्त नभएको उनीहरुले बताएका छन् । सहकारीमा महिला सशक्तीकरण र समावेशिताका लागि सबै संघहरूमा छुट्टै महिला उपसमिति गठन गरी महिला सशक्तीकरणका लागि अनिवार्य रुपमा बजेट छुट्याउनका लागि लबिङ गर्ने गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी सञ्चालक प्रभा कोइरालाले बताइन् ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता कार्यक्रम अगाडि बढाउने र सहकारीमा महिलाको अवस्थाको विषयमा तथ्यांक सङ्कलन गर्नका लागि गोष्ठीले मार्गनिर्देश गरेको कोइरालाले बताइन् । प्रारम्भिक सहकारीहरुलाई हेर्दा सञ्चालक समितिमा लैंगिक अवस्था सन्तोषजनक रहेको महासंघकी कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् । ‘प्रारम्भिक तहका संस्थाहरुमा सञ्चालकमा महिलाको उपस्थिति ३९ प्रतिशत भए पनि जिल्ला तथा केन्द्रीयस्तरका संघहरुमा महिलाको उपस्थिति कमजोर देखिन्छ ।

यसलाई सुनिश्चिता गर्न सकेको खण्डमा मात्र नीति निर्माण तहमा महिलाको पहुँच पुग्छ,’ उनले भनिन्, ‘अनौपचारिक रुपमा सहमति गरिन्छ बैठकमा त्यही सहमतिलाई औपचारिकता दिने काम हुने भएकाले पनि महिला सञ्चालकमा भएर पनि निर्णय प्रक्रियामा पहुँच हुन नसकेको हो ।’ केन्द्रीय तथा राष्ट्रिय संघहरुको नेतृत्वमा १७ प्रतिशत मात्र महिला रहेका छन् ।

महिलाले नै सञ्चालन गरेको चार हजार बढी सहकारी भएकाले प्रारम्भिक तहका सहकारीमा पनि ३९ प्रतिशत सहभागीता देखिएको महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले बताइन् । महिला सशक्तीकरणका लागि नीति, कार्यक्रम तथा बजेटको व्यवस्थाका लागि नेतृत्वलाई बुझाउन कठिन र सामाजिक सोचका कारण अझ पनि महिलालाई मुख्य ठाउँमा स्थान दिन कठीन भएको अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्यसमेत रहेकी ओमदेवी मल्ल बताउँछिन् ।

देशभरि रहेका २० वटा केन्द्रीय संघहरुमा दुई सय तीन जना सञ्चालकमध्ये ५० जनामात्र महिला रहेको राष्ट्रिय सहकारी बैंक लिकी सञ्चालक सरिता तिमल्सिनाले बताइन् । सहकारी क्षेत्रमा ५३ दशमलव २६ प्रतिशत कर्मचारी महिला रहेको बताइएको छ । करिब ३५ हजार सहकारीमध्ये १२ प्रतिशत महिलाले मात्र सञ्चालन गरेको सहकारी रहेको तथ्यांक छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष केशव बडालले सहकारी बाक्लो भएका जिल्लाहरुमा महिलाको नेतृत्व विकास भएको औंल्याए ।

नेपालमा २०३८ मा आठ जना कर्मचारीसहित महिला विकास शाखा खडा भई यो कार्यक्रम सुरु भएको थियो । महिला विकास कार्यक्रमका दुई हजारसहित नेपालमा चार हजार ७२ वटा सहकारी महिलाहरुबाट महिलाका लागि मात्र सञ्चालन भएका छन् । महिला विकास कार्यक्रमबाट ११ लाख ५४ हजार बढी ग्रामीण विपन्न महिलाहरुलाई समूहीकरण गरिएको अवस्था छ  । अर्यालका अनुसार महिला विकास कार्यक्रममार्फत ११ हजार बढी लैंगिक हिंसा निगरानी समूहहरु गठन गरी छ अर्ब बचत परिचालन भएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie