दोलखाबाट वार्षिक तीन करोडको तरकारी निर्यात

दोलखाबाट वार्षिक तीन करोडको तरकारी निर्यात

दोलखा, फागुन २६
दोलखाको किसानहरूले उत्पादन गरेको वार्षिक तीन करोडको तरकारी राजधानीलगायत अन्य क्षेत्रमा निर्यात हुने गरेको छ । दोलखाको भीमेश्वर नगरपालिकाको मकैबारीका स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारी वार्षिक रुपमा तीन करोडबराबरको काठमाडौंको कालीमाटी बजारमा खपत हुँदै आएको छ ।

तरकारी उत्पादनको हिसाबले उर्वरभूमि रहेको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीमा अहिले वैदेशिक रोजगारी र आफ्नो जागिर त्यागेर व्यावसायिक रूपमा सामूहिक समूह दर्ता गरेर तरकारी खेती गर्न थालेका छन् । ४० जनाभन्दा बढी कृषकहरु संगठित भएर तरकारी खेती गर्न लागेको तरकारी उत्पादन समूह मकैबारीका सदस्य मोहन तामाङले बताए । तामाङले २०६४ सालदेखि वैदेशिक रोजगार त्यागेर आफ्नै माटोमा सुन फलाउने भन्दै तरकारी खेती गर्न सुरु गरेको बताए ।

तामाङले विदेशमा बगाउने पसिना आफ्नै देशमा बगायो भनी राम्रो आम्दानी गर्न सकिने बताउँदै कृषि पेसामा लागेको बताए । अहिले तामाङले आफ्नो १५ रोपनी बारीमा लगाएको काउली, बन्दा, आलु, खोर्सानी, अदुवाबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, ‘अहिले आफ्नो आर्थिक स्थिति पनि राम्रो रहेको छ, घर खर्च टार्न पनि गाह्रो छैन ।’ मोहन तामाङले जस्तै परम्परागत खेती त्यागेर नयाँ कृषि प्रविधिको नगदे तरकारी खेती गर्ने अन्य धेरै छन् ।

मकैबारीमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी वार्षिक रुपमा तीन करोडबराबरको काठमाडौंको कालीमाटीलगायतका अन्य तरकारी बजारमा खपत हुँदै आएको कृषकहरूको दाबी छ । अर्का तरकारी कृषक चन्द्र तामाङले आफ्नो २२ रोपनी बारीमा लगाएको काउली र बन्दा सिजनअनुसार मासिक तीन सयदेखि पाँच सय किलो उत्पादन हुँदै आएको बताए ।

उनले सिजनमा मागअनुसार दैनिक १५० देखि ३०० किलोसम्म आन्तरिक बजारभन्दा बाहिर खपत हुँदै आएको बताए । भीमेश्वर नगरपालिका वडा नं.७ मनु तामाङ दैनिक डोकोमा काउली बोकेर सदरमुकाम चरीकोटमा आउने गर्छिन् । १ सिजनमा दिनमा १२ सयदेखि २ हजार रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछिन् । 

मकैबारीमा उत्पादन भएको तरकारीको माग यो आर्थिक वर्षमा गत वर्षहरुको तुलनामा भने केही कम रहेको स्थानीयको गुनासो छ । बढ्दो बजार भाउ र महंगीको कारण राम्रो उत्पादन गरे पनि उत्पादनअनुसारको आम्दानी लिन नसकेको उनीहरुको गुनासो रहेको छ । आन्तरिक बजार सानो भएको कारण सबै तरकारी खपत गर्न गाह्रो भएको उनीहरुको भनाइ छ । खपतको लागि बाहिर पठाउनुपर्ने भएकोले मूल्य पनि कम रहेको उनीहरु बताउँछन् ।

अहिले काउली प्रतिकिलो १५ रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यस्तै बन्दाकोपी ९ रुपैयाँ र साग ११ रुपैयाँ प्रतिकिलो काठमाडौंमा ढुवानी खर्च र कामदार ज्याला कटाई पठाउने गरेको कृषकहरु बताउँछन् । दोलखाको मकैबारीमा वार्षिक रूपमा मुख्य सिजनमा १ सय ६० टन तरकारी बन्दाकोपी र काउली उत्पादन हुँदै आएको स्थानीय कृषकहरुको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie