सहकारीको करोडौँ हिनामिना गर्नेलाई चोख्याउने भन्दै वकिलको चलखेल !

काठमाडौं, फागुन २६
न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्थामा भएको करोडौं रकम हिनामिना गर्ने दोषीलाई उम्क्याउने आश्वासन दिँदै वकिलले सम्बन्धित पक्षसँग मोटो रकमको माग गरेको पाइएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका सहकारी ठगीका दोषी हेमराज जैनलाई साधारण तारेख वा सामान्य धरौटीमा छुटाउने आश्वासन दिँदै आफूले त्यस सम्बन्धमा न्यायाधीशसँग ‘सेटिङ’ गरिसकेको बताएर विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय अनुसन्धान अधिकृत समेत रहेका पूर्वउपन्यायाधिवक्ता सूर्य कोइरालाले विवादास्पद व्यवसायी जैनसँग मोटो रकम माग गरेका हुन् ।

बिहीबार उच्च अदालत, पाटनमा भएको बहस पैरवीलगत्तै कानुनकर्मी कोइरालाले हाल हिरासतमा रहेका जैनका परिवारसँग मोटो रकम माग गरेका हुन् । पाटन उच्च अदालतमा भइरहेको मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा कानुनकर्मी कोइरालाले इजलास नम्बर ३ का न्यायाधीशद्वय नरेन्द्र कुमार सिवाकोटी र कृष्णलाल भट्टराईसँग सेटिङ मिलाएको भन्दै मोटो रकम माग गरेका थिए । यस विषयमा सम्बन्धित पक्षले भने मुख खोल्न मानेन । यद्यपि, न्यायालयसँग कुराकानी भइरहेको बारेमा भने स्वीकार गरेका छन् । 

भारतीय नागरिक जैनले नेपालको नागरिकता प्राप्त गरेकी सारीका जैनसँग विवाह गरेका हुन् । सारीका जैन एयरटेल सहकारीकी सञ्चालक हुन् । श्रीमती जैन सञ्चालक रहेको एयरटेल सहकारीमा रकम हिनामिना गर्ने कार्य उनै हेमराज जैनले गरेको त्यहाँका कर्मचारी तथा अन्य सञ्चालक एवम् रकम बचत गर्नेहरुको जिकिर छ । जिल्ला अदालत, काठमाडौंले यसअघि पुर्पक्षका लागि थुनामा पठाउँदा उनीसँगै सोही सहकारीका प्रबन्धनिर्देशक अशोक गोयललाई समेत पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तर, हेमराज जैनका तर्फबाट जिल्ला अदालतको आदेशविपरीत उच्च अदालतमा पुनरावेदन गरेको भए पनि प्रबन्धसञ्चालक रहेका अशोक गोयलको तर्फबाट भने पुनरावेदन परेको छैन । साथै, जिल्ला अदालत, काठमाडौंले गोयल र जैनबाहेक सहकारीमा आबद्ध अन्य दर्जन बढीको संख्यामा सञ्चालक रहेका, ऋणीहरुको ऋणको जिम्मेवारी लिएकाहरुलाई पनि पक्राउका लागि आदेश जारी गरिसकेको छ । एयरटेल सहकारीमा २० करोडबराबरको रकम हिनामिना भएको अनुमान छ ।

कयौं बचतकर्ताको बचत रकमको रसिद (प्रमाण) दिइएको भए पनि त्यसको आधिकारिक रेकर्ड संस्थामा राखिएको छैन, त्यसले गर्दा रकम अनियमितताको परिणाम बढ्ने आशंका गरिएको छ । यता, पीडितले दिनहुँ प्रहरी कार्यालय धाउनेबाहेक अरु उपलब्धि केही हुनसकेको छैन । साथै, पक्राउ गर्नुपर्ने भनिएकाहरु पनि काठमाडौंमा सहजढंगबाटै घुमफिर गरिरहेको अवस्थामा पनि पक्राउ नपर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie