‘लेकाली’ कुखुरा पालनबाट मासिक दुई लाख आम्दानी ! 

‘लेकाली’ कुखुरा पालनबाट मासिक दुई लाख आम्दानी ! 

दोलखा, फागुन २३
दोलखाका दुई युवाले लेकाली जातको लोकल कुखुरा पालनबाट मासिक दुई लाख आम्दानी गरिरहेका छन् । उनीहरुले करिब नौ लाख रुपैयाँको लगानीमा व्यासायिक रूपमा लोकल कुखुरा पालन सुरु गरेका थिए । गाउँमा बोइलर र गिरीराजलगायतका विकासे जातका कुखुरापालन व्यावसायिक रुपमा हुन थालेपछि लोकल कुखुरा पालन विस्तारै लोप हुन थालेको छ । तर बैत्यश्वर गाउँपालिका वडा नं. ७ का सन्तोष रिमाल र भीमेश्वर नगारपालिका वडा नं. ४ जिलुका मोनहप्रसाद चौलागाई मिलेर व्यावसायिक रूपमा नै लोकल कुखुराको फर्म सञ्चालन गरेका छन् ।

लोकल कुखुराबाट मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको कुखुरापालक रिमालले बताए । कुखुरा फार्म भन्ने बित्तिकै चाडो उत्पादन दिने हाइब्रिड जातका कुखुरा पालन भन्ने बुझ्दछन् तर उनीहरुले भने स्थानीय जातको कुखुरा फार्म सञ्चालन गरेका हुन् । उनीहरुले कुखुरा फार्मसँगै भैंसीपालन व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । दोलखाको सदरमुकाम चरिकोटबाट करिब तीन किलोमिटरको दूरीमा पर्ने सिरान गाउँमा लेकाली जातको लोकल कुखुरा फार्म सञ्चालन भएको छ महिना भयो ।

स्थानीय जातका कुखुराको उत्पादन ढिला हुन्छ । तर यसको माग बढी भएकोले आम्दानी पनि राम्रै हुने भएकोले यी दुई युवा यसतर्फ आकर्षित भएका हुन् । उनीहरुको यो फार्ममा परिवारका अन्य सदस्यहरुले पनि रोजगारी पाएका छन् । मानिसहरुले अनुकरणीय व्यक्तित्व भन्दै यी दुई जना युवाहरुको प्रशंसा गरिरहेका छन् । पाल्पा र इलामलगायतका जिल्लाहरुबाट कुखुरा ल्याएर फाराम सुरु गरेको कुखुरा व्यवसायी चौलागाईंले बताए । अहिले क्रस, साखिने क्रस, फाइटर, न्यु हिमशिखर गरी छ प्रजातिका नौ सय पचास स्थानीय कुखुरा रहेको फार्म व्यवस्थापक एवं सञ्चालनक चौलागाईंले जानकारी दिए ।

लोकल कुखुरालाई आहारा वा चारोको निम्ति स्थानीय स्तरमा नै उपलब्ध हुने मकै, गहुँ, कोदो, भटमास आदिको प्रयोग गर्दै आएको उनको भनाइ छ । यस फार्मलाई आधुनिक तरिकाले विस्तार गर्दै जाने चौलागाईंले बताए । कुखुरा छिटो नबढ्ने तथा आम्दानी ढिला हुने भए पनि लोकल कुखुराको मासु जुन सुकै बिरामीको रोगीले पनि खान मिल्ने भएकोले आफूहरुले यो व्यवसायलाई रोजेको चौलागाईं बताउँछन् । यसलाई जिल्लाकै नमुना कुखुरा फार्म बनाउने र छिमेकी जिल्लाहरुको मागसमेत पूरा गर्ने लक्ष्य रहेको फार्मका व्यवस्थापक रिमालले जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie