अलैंची बिक्री नहँदा कृषक निराश

अलैंची बिक्री नहँदा कृषक निराश

दोलखा, फागुन २१
अलैंचीको खेतीयोग्य भूभाग रहेको दोलखा जिल्लाको अधिकांश ठाउँमा लगाइएको अलैंची बिक्री नहुँदा अलैंची उत्पादक कृषक निराश बनेका छन् । दोलखाको अधिकांश सिमसार क्षेत्रमामा अलैंची खेती गरिएको छ । जिल्लाको वैत्यश्वर, तामाकोशी, गौरिशंकर गाउँपालिका अलैंची उत्पादनको हिसाबले प्रमुख क्षेत्र मानिन्छ  । खेतीयोग्य जमिनमा धान, गहुँ, आलु खेती त्यागेर व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका कृषकहरुले अहिले अलैंची बिक्री नहुँदा लगानीसमेत उठाउन नसकेको बताएका छन् । बैत्यश्वर गाउँपालिका वडा न.३ का कृषक जित बहादुर तामाङले अलैंची बिक्री नहुँदा समस्या परेको बताए । उनले यस वर्ष छ सय केजी अलैंची उत्पादन गर्न सफल भए पनि बिक्री नहुँदा लगानी उठाउन नै हम्मे परेको बताए । 

गत वर्ष अलैँचीबाट सात लाख रुपैयाँ बराबरको कारोबार गरेको उनले यसवर्ष पाँच लाख रुपैयाँको मात्रै अलैँची बिक्री गरेको बताए । यस्तै बैत्यश्वर गाउँपालिका वडा नं. ४ का अर्का कृषक नवराज दाहालले आफ्नो बैंकको नियमित जागिर त्यागेर करिब आठ वर्षदेखि आफ्नो बाइस रोपनी खेतमा धान, गहुँ आलु, फापर त्यागेर अलैंची खेती सुरु गरेका थिए । उनले २०६८ सालदेखि अलैँची खेची सुरु गरेको बताए । दाहालले २०६८ सालमा दुई रोपनी खेतबाट सुरु गरेको अलैंची खेती अहिले वृद्धि गर्दै २२ रोपनी जग्गामा लगाएका छन् । खेतमा लगाएको अलैंचीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए । प्रतिकेजी दुई हजार छ सय रुपैयाँमा बिक्री हुँदै आएको अलैंचीको गत तीन वर्षको अन्तरालमा घटेर अहिले छ सय रुपैयाँमा आएको छ ।

उक्त अलैंची बिक्री गर्नको लागि पनि झापा पु-याउनुपरेको दाहालले गुनासो गरे । जिल्लामा अलैंचीको बिक्री हुन छाडेपछि झापा लगेर बिक्री गर्नुपरेको उनको भनाइ छ । उनले यसवर्ष एक सय ५० केजी अलैंची बिक्री नगरी त्यसै थन्काएर राखेको बताए । वर्षेनी अलैंचीको बजार भाउ ओरालो लाग्दा आफ्नो लगानी समेत उठाउन नसकेको उनको भनाइ छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरुले व्यासायिक रुपमा अलैंची खेती गर्दै आएका छन् । बैत्यश्वरमा उत्पादन भएको अलैंची छिमेकी राष्ट्र भारत र बंगलादेशमा समेत बिक्री हुँदै आएको भए पनि बाहिरी देशमा लैजाँदा महँगो ट्याक्स तिर्नु परेकोले अलैंची बिक्री गर्न गाह्रो भएको कृषकहरुको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie