साना किसान सम्मेलन सुरु

साना किसान सम्मेलन सुरु

काठमाडौं, फागुन १७
‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ दुई दिने साना किसान सम्मेलन बिहीबारदेखि काठमडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेमबहादुर पाठकले अन्तर्राष्ट्रियस्तरमा भइरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीको साथै नेपालमा भइरहेको कृषि क्षेत्रको खोज अनुसन्धान विज्ञहरुको विचार आदान–प्रदान गर्ने माध्यम सम्मेलन भएको बताए । उनले भने, ‘२०७१ सालमा हामीले सम्मेलनको आयोजना गरेका थियौं जसको प्रभावले देशभर साना किसानका संस्था र सदस्य बढेका छन् भने उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको छ ।’

अब आगामी १० वर्षमा नेपाललाई प्राथमिक रुपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्ने उनले बताए । उनले संयुक्त राष्ट्रसंघले अघि बढाएको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिबी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्न सक्ने परिवारको विकास गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले अगाडि बढाएको समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई सायोग गर्दै धेरैभन्दा धेरै युवा तथा महिलाहरुलाई कृषिमा संलग्न गराउने बताए । २०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब सात सय साना किसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी आठ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

 सम्मेलनमा देशभरका एक हजार साना किसानका प्रतिनिधि र दुई सय अन्तर्राष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको आयोजकको दाबी छ । सम्मेलनमा बिहीबार १३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । शुक्रबार समापन हुने कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहान नौ बजे दोस्रो दिनको सत्रको सुरुवात गर्ने र समापन कृषिमन्त्री चक्रपाणि खनालले गर्ने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन् ।

त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, स्याकर ट्रेड्रिङ कम्पनी प्रालि, छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल डिप इरिगेन प्रालि, मेगनस क्न्सल्टिङ ग्रुप प्रालि, आईसीटी इन एजुकेसन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि, एनआईसी एसिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, प्रायोजकका रुपमा रहेका छन् ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie