विदेशको सीप स्वदेशको लगानी 

विदेशको सीप स्वदेशको लगानी 

पोखरा, फागुन १३
वैदेशिक रोजगारीमा जाने धेरैजसो नेपाली श्रमिकको हातमा कुनै सीप हुँदैन । अदक्ष कामदारको रुपमा उनीहरु विदेश जाने क्रम बढ्दो छ । स्याङ्जाका रामचन्द्र पोख्रेल भने विदेशमा सीप सिकेर स्वदेशमै लगानी गरी उद्यमी बनेका छन् । स्याङ्गजा जिल्ला, पुतलीबजार न.पा.—४, नागडाँडा रिकथोक निवासी पोख्रेलले विगत एक वर्षदेखि माछापालन गर्दै आएका छन् । उनको समीक्षा फिस फर्ममा माहुर प्रजातिका माछा छन् । उनी भन्छन्, “दश हजार भुराबाट माछापालन सुरु गरेको हुँ । माहुरका साथै अन्य प्रजातिका माछाहरु पनि पाल्ने योजना बनाएको छु । हालसम्म २६ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको छु ।” भारतमा ११ वर्ष र साउदी अरबमा १६ वर्ष काम गरेको लामो अनुभव हासिल गरेका पोख्रेलले स्वदेशमै सीप र लगानीको प्रयोग गर्नुपर्छ भनेर माछापालन सुरु गरेका हुन् । उनले आफ्नै जग्गामा तीन वटा पोखरी निर्माण गरी माछा पालेका छन् ।

वर्षात्को बाढीले पोखरीमा क्षति पु-याएपछि उनी पोखरीको पुनर्निर्माण गर्ने तयारीमा छन् । १५ हजार भुरा पालेर एक करोड २० लाख रुपैयाँबराबरको माछा उत्पादन गर्न सकिने योजना उनी सुनाउँछन् । सीप र जाँगर भए पनि पर्याप्त लगानी गर्ने रकमको अभावका कारण सोचेअनुसार काम गर्न कठिनाइ परेको गुनासो गर्छन् पोख्रेलले । राज्यले वास्तविक कृषि उद्यमीलाई प्रोत्साहनको लागि अनुदानका साथै सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । उनले आफ्नो फर्ममा तीन जनालाई नियमित र १०/१२ जनालाई दैनिक ज्यालादारीमा रोजगारी प्रदान गर्दै आएका छन् । माछापालनका साथै लोकल कुखुरा पाल्ने र तरकारी खेती पनि गर्ने सोचमा उनी छन् । उद्यमी कृषकलाई उसले सुरु गरेको उद्यममा टिकाउने र रमाउने वातावरण बनाउन राज्यले संरक्षण नीति बनाई लागू गर्नुपर्ने उनले उल्लेख गरे । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie