बीउ उत्पादनमा व्यावसायिक बन्दै

तम्घास, फागुन ८
गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् । गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको कारोवार भएको परियोजनाको मकै जोनका प्रमुख कुलप्रसाद दवाडीले बताएको छन् ।

मकै जोनको सहयोगमा खेतमा अरुण २ तथा बारी क्षेत्रमा मनकामना ३, मनकामना ५ र मनकामना ६, देउति लगायतका जातको बीउ वृद्धि भइरहेको छ । इश्मा गाउँपालिका–६ अन्तर्गत अमरपुरमा रहेको दिपज्योति बहुउद्देश्शीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार यसवर्ष मात्र १० मेट्रिक टन अरुण २ को प्रमाणितस्तरको बीउको कारोवार भएको र त्यसबाट समूहमा करिब रु ६ लाख ५० हजार बराबरको आम्दानी भएको छ ।

त्यसैगरी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ६ कृषक सहकारीबाट यसवर्ष करिब २५ मेट्रिक टन मनकामना ३, मनकामना ५ र मनकामना ६ जातका मकैको बीउको कारोवार भएको स्थानीय कृषक लोकबहादुर कुँवरले बताएको हुन्। मकै जोन कार्यक्रम कार्यान्वयन पश्चात स्रोत बीउमा अनुदान, बीउबालीको फिल्डनिरीक्षण, बीउ प्रशोधन एवँ भण्डारणका लागि प्रशोधन मेसिनरी, भण्डारण गृहलगायतमा अनुदान सहयोगका कारण स्थानीय कृषकलाई उक्त सफलता मिलेको हो ।

बीउ उत्पादनका लागि पूर्वाधार विकास भएका कारण खयन मकैको तुलनामा दोब्बर मूल्य किसानले बीउबाट प्राप्त हुनेहुँदा आगामी वर्ष त्यस क्षेत्रका ११ कृषक समूह बीउ उत्पादन गर्ने योजनामा छन् । मकै जोन गुल्मीले बीउ उत्पादनलाई व्यावसायीकरण गर्न स्रोत बीउमा अनुदान, बाली निरीक्षण, बीउ प्रमाणिकरण, बीउ प्रशोधन तथा भण्डारण गृह निर्माण जस्ता पूर्वाधारमा सहयोग गर्ने गरेको परियोजना प्रमुख दवाडी बताउछन् ।

यस आर्थिक वर्षमा मात्र परियोजनाले यान्त्रिकरणमा सहयोग पु-याउने उद्देश्य अनुरुप जमीन जोत्नेदेखि मकै छोडाउने मेसिनसहितको सेट रहने गरी करिब २० कृषक समुह र सहकारीमा मेसिनरी औँजारसमेत उपलब्ध गराइसकेको छ ।

प्रतिकृया दिनुहोस


Techie