एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

काठमाडौँं, माघ १०
काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच भएको सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ ।

सम्झौताअनुसार, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए । सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

यस अस्पतालमा औषधिविहीन चिकित्सा पद्धतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ । सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैरे, प्रबन्धक विनादेवी घिमिरेलगायतको उपस्थिति थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie