सामाजिक चुनौती, पूर्वीय चिन्तन

सामाजिक चुनौती, पूर्वीय चिन्तन

यस धर्तीमा सबैको बाँच्न पाउने अधिकार छ । सामाजिक प्राणी मानव सबैको सहारा पनि हो । बाँच र बाँच्न देऊ भन्ने पूर्वीय धर्म दर्शनको मूल्य र मान्यता पनि हो । मानव सुरक्षाको महत्वपूर्ण पक्ष भनेको गरिबी न्यूनीकरण नै हो । नाना, छाना, खाना, शिक्षा, स्वास्थ्य न्यूनतम आवश्यकता नै हो । हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको छ । तर, बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित बनेको छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीन, दुःखी, गरिब, विपन्न, वृद्धवृद्धाको हालत त झन् के भन्नु र ?

आर्थिकरूपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै किसिमको छ । अपाङ्ग, एकल, बालबालिका, किशोरकिशोरीको दुर्दशा हरिबिजोक खालको छ । अन्तर्राष्ट्रिय संघसंस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धि, महासन्धि कति छन् कागजमा, कति छन् पुस्तकालयहरूमा । सरकारी नियका मात्र होइन गैरसरकारी निकायहरूले नेपाली मुद्रा मात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा । वर्षैपिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परिरहन्छन् । लोक कल्याणकारी राज्य व्यवस्थाको निर्माण गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने नारा लिएको छ सरकारले । त्यति मात्रै होइन गर्भ अवस्थादेखि वृद्ध अवस्थासम्मको पूरा जीवनचक्रलाई नै सामाजिक सुरक्षामा आबद्ध गर्ने योजना घोकेको छ । गर्भ अवस्थामा स्वास्थ्य जाँच र आमालाई पोषण सुविधा दिने प्रतिबद्धताहरू छन् । बाल्यावस्थामा खोपको सुविधा र पोषणयुक्त आहारको प्रतिज्ञा गरेको छ । बाल संरक्षणका लागि अनुदान, विद्यालय शिक्षा निःशुल्क हुने पनि घोषणा गर्न पछि परेको देखिन्न सरकार । छात्रवृत्तिको व्यवस्था, वयस्कमा रोजगारी सुरक्षा वृद्धावस्थामा सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्यय उपचारदेखि सार्वजनिक यातायातमा भाडादरमा छुटको प्रावधान समेत घोषणा गरेको छ सरकारले ।

यसै आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकले खाइपाई आएको मासिक दुई हजार रूपैयाँको भत्तामा प्रतिमहिना एक हजार थप गर्ने निर्णय गरिएको छ । यसबाट झण्डै तेह्र लाख ज्येष्ठ नागरिकहरू लाभान्वित हुने चर्चा छ । लोककल्याणकारी राज्यको दायित्वलाई निर्वाह गर्ने भन्दै अति अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लोपोन्मुख आदिवासी र जनजाति समेतलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक एक हजार रूपैयाँले बढाएको छ । यसै आवको बजेटमार्फत जसबाट झण्डै नौ लाख व्यक्तिहरूको जीवनयापनमा सहजता हुने अपेक्षा सरकारको देखिन्छ ।

ज्येष्ठ नागरिकका अनेकौँ अनुभव सीप र ज्ञान हुन सक्दछ । जापानले गरेको विकास जेष्ठ नागरिकको सम्मानबाट हो अनि थाइल्याण्डले गरेको प्रगति नयाँ र जोसिला युवा पुस्ताप्रतिको विश्वासले हो । हामीकहाँ ज्येष्ठ नागरिकहरू बेसहारा हुँदै छन् भने नयाँ पुस्ता कोही सहरमुखी भएका छन् । कतिपय कुलतमा छन् भने लाखौँ युवाशक्ति विदेशिएका छन् । बाबुले जानेको सीप सन्ततिमा सर्न सकेको छैन पुस्तान्तरणमा ठूलो रिक्तता छ, तिक्तता छ । सरकारले यस वर्षको बजेटमा भनेको छ, ज्ञान, सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण हुनेगरी संघप्रदेश र स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने । गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने, सत्तरी वर्षमाथिका सबै ज्येष्ठ नागरिकको एक लाखसम्मको बीमाङ्क रकमको स्वास्थ्य बीमा निःशुल्क गर्ने, स्वास्थ्य बीमा सेवाको दायरा बढाउनेजस्ता नाराहरू पनि सरकारले लिएको देखिन्छ । सबै नागरिकलाई सुंरक्षित भएको अनुभूति हुनेगरी सरकारी कार्यक्रम सञ्चालन हुने घोषणा पनि बजेटले गरेको छ ।

केवल ज्येष्ठ नागरिक, बालबालिका संरक्षण गर्ने पनि सरकारी नारा छ । चालू आवमा सरकारले दलित र कर्णाली क्षेत्रका बालबालिका, अनि मानव विकास सूचकाङ्कमा पछि परेका बालबालिका, त्यस्तै मानव विकास सूचकाङ्कमा पछि परेका तराई–मधेश जिल्लाका अतिरिक्त गरिबीको रेखामुनिका परिवारका बालबालिकालाई समेट्ने गरी बाल संरक्षण अनुदानको दायरा फराकिलो पार्दै एक अर्ब चौसठ्ठी करोड रूपैयाँ रकम छुट्याएको देखिन्छ । यस्तो कार्यक्रमबाट झण्डै तीन लाख पचास हजार बालबालिका लाभान्वित हुने अपेक्षा सरकारले लिएको देखिन्छ । त्यस्तै सहिद, द्वन्द्वपीडित परिवार, घाइतेको सामाजिक सुरक्षा उत्तिकै आवश्यक देखिएको छ । मुलुकमा गरिबीको मनोविज्ञान हटाउनु परेको छ, आत्मविश्वास जगाउनु परेको छ । भोकै कोही नमर्ने, कोही भोको पेट नरहने सरकारी नारा छ । मीठा नाराझैँ व्यावहारिक रोजगार कार्यक्रम भने आउन सकेका छैनन् ।

आफ्नो हेरचाह आफैँ गर्न नसक्नेहरू धेरै छन् हामीकहाँ । तिनको स्वास्थ्य उपचार, दिवा खाजा, विद्यार्थी छात्रवृत्ति, रोजगारी शिक्षा, व्यावसायिक तालिमजस्ता कार्यक्रमहरूबाट लाखौँ नेपालीहरूलाई ढाडस दिनु परेको छ । अवकासप्राप्त कर्मचारीको अनुभव र सीप उनीहरूले पाएको व्यावसायिक ज्ञानको पनि सदुपयोग हुन जरुरी छ । निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, सेना, प्रहरी लाखौँ व्यक्तिहरू छन् सामाजिक सुरक्षामा समेट्नु पर्ने । यस अर्थमा सामाजिक सुरक्षाको दायरा ठूलो छ, वित्तीयरूपले दह्रो नभइकन यी सबैप्रति सहानुभूति राख्न कठिन हुन्छ ।

राजनीतिकरूपमा प्रभावहीन कार्यक्रम अघि सारेर सामाजिक सुरक्षा अभियानले सार्थकता पाउन सक्दैन । नीतिगत र कानुनी एवं नियमनकारी प्रारूप तयार हुनुपर्छ । सामाजिक सुरक्षालाई आर्थिक र सामाजिक विकासको पक्षमा जोड्नु पर्छ । छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिनु पर्छ । जोखिममा रहेकाहरूको पहिचान हुन जरुरी छ । आफ्नै घर, गाडी, बगैँचामा सरसफाइमा लागेकाहरूलाई, अझै झोला बोक्नेहरूलाई मात्र रकम वितरण गर्ने प्रथालाई बन्द गरिनुपर्छ । वित्तीयरूपले देशले धान्न सक्ने खालका सुरक्षा कार्यक्रमलाई बढावा दिइनु पर्छ । सामाजिक सुरक्षा भनेर सबैसँग लिइएको रकमको हिसाब र त्यस्तो रकमको सदुपयोगको लेखाजोखा गरिनु पर्दछ । सामाजिक सुरक्षा कोषको रकम पारदर्शी हुन जरुरी छ । आधारभूत सामाजिक संरक्षणमा सेवा सुविधाहरूका सबै नागरिकको पहुँच हुन जरुरी छ । समाज समतामूलक बनाउने ध्येय पूरा गर्न जरुरी छ ।

कार्यक्रम समावेशी र गुणस्तरीय हुन जरुरी छ, प्रभावकारी बनाई लोक कल्याणकारी समाजको सिर्जना गर्ने अभीष्ट पूरा गर्न जरुरी छ । युवाको जोस र जाँगरलाई सदुपयोग गर्नु पर्दछ । लैङ्गिक, जातीय छुवाछुत अर्थात् सामाजिक विभेदको अन्त्य हुनुपर्दछ । युवा परिचालनबाट मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता व्यावहारिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । हिंसापीडित महिलाहरूको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनःस्र्थापना केन्द्रहरूबाट उचित लाभ प्राप्ति हेतु लक्षित कार्यक्रम सञ्चालन गर्न सकिन्छ । महिलाविरुद्ध हुने हिंसा अन्त्य हुन जरुरी छ । बाल विवाह, तिलक, दाइजो प्रथा, छाउपडी एवं बोक्सीजस्ता कुरितिको अन्त्य हुनुपर्छ । सामूहिक उन्नयनमा सरकार पछि हट्नु हुन्न ।

बालश्रमको अन्त्य हुन पनि जरुरी छ । सबैको श्रमको महत्व र मूल्याङ्कन हुनु जरुरी छ । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नुपर्छ । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्न जरुरी छ । मानसिक रोगी, टुहुरा, असहाय बालबालिका, वृद्ध, अपाङ्ग व्यक्तिहरूको हेरचाह र सुरक्षा अझ बढी जरुरी छ, समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नति नभई मुलुक समृद्ध हुन सक्दैन । सबै नउठी एक्लो देश उठ्न सक्दैन । सुखी र समृद्धिको नारा केवल सपनी नारा मात्र बन्न पुग्छ ।

देशको सीमा भूगोलमा सीमित भएजस्तै सामाजिक सुरक्षा यतिमा सीमित हुन्न । कारण यो भावनात्मक कुरा पनि हो । सामाजिक सुरक्षा प्रणालीको एकीकृत ढाँचा यस्तो हो भने मापन गर्ने विषय होइन । यति हो कि राज्य यसमा दत्तचित्त भएर लाग्नु पर्छ । राज्य मात्र लागेर पुग्दैन । नागरिक समाज, उद्यमी, व्यवसायी, प्राज्ञिक वर्ग सबै लाग्नुपर्ने हुन्छ । व्यक्तिबाट परिवार, समाज, गाउँ, नगर, टोल हुँदै देश बन्ने हो र देशको अन्तर्राष्ट्रिय परिवेश निर्माण हुने हो । समग्र नागरिक सुरक्षित नभई सामाजिक सुरक्षाको अभियानले सार्थकता पाउँदैन । एकथरी समूह उठेर मात्र राज्य समृद्ध हुने होइन ।

राज्यले ज्येष्ठ नागरिकका लागि ठूलो लगानी गरेको हुन्छ, यिनको श्रम, सीप र मिहेनतलाई खेर जान दिनु हुन्न । हामीकहाँ आठ दशमलव १३ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकहरू छन् । अघिल्लो योजना अवधिमै सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकको संख्या १० लाख ४९ हजार आठ सय उन्नाइस पुगिसकेको थियो । बेसहारा ज्येष्ठ नागरिकहरूको संख्यासमेत हाम्रो मुलुकमा दिन पर दिन बढ्दै छ । संविधानमा ज्येष्ठ नागरिकरुको हकलाई मौलिक हकका रूपमा लिइएको छ । सार्वजनिक यातायातमा सिट संख्या र सहुलियत, सरकारी अस्पतालहरूमा वेड छुट्याउने, दुर्व्यवहारबाट पीडित ज्येष्ठ नागरिकहरूलाई राहत, सुरक्षा र स्वास्थ्य उपचारका विशेष स्थल तोकिनु जरुरी छ । यिनीहरूको आधारभूत हक अधिकारका साथसाथै सम्मानजनक र सन्तोषले जीवनयापन गर्न पाउने अवसरबाट यिनीहरूलाई वञ्चित गर्न मिल्दैन ।

ज्येष्ठ नागरिकको परिवार, समुदाय र समाज अनि राज्यको दायित्वको सबैले बोध गर्नुपर्ने हुन्छ । ज्येष्ठ नागरिप्रति हुने हिंसा र दुर्व्यवहार सह्य हुन्न । सबैबाट ज्येष्ठ नागरिकलाई संरक्षण दिइने परिवेश निर्माण हुन जरुरी छ । यसका लागि समूह समाजप्रति सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । पूर्वीय धर्म–दर्शनले जुन सभामा वृद्धहरूको उपस्थिति हुँदैन त्यो असलमा सभा हुनै सक्तैन भनेर भनेको छ । त्यस्तो परिवारलाई राज्यले, समाजले सम्मान दिनुपर्ने हुन्छ । परित्यक्त, हिंसापीडित, शारीरिक र मानसिकरूपले अशक्तहरूको अझ विशेष ख्याल गरिनु पर्ने हुन्छ । विपद् जोखिम, भूकम्प, बाढी, पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनु पर्ने हुन्छ । समयमा औषधिमुलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालनजस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मानजनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ ।

हामीकहाँ अशक्त हरूको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरूको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यावसायिक तथा सीपमूलक तालिमका प्रावधानहरूलाई प्रयोगमा ल्याएको देखिन्छ । तथापि पेशागत भौतिक संरचनाहरूलाई अपाङ्ग मैत्री बनाउन सकिएको छैन । दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरूप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।

पूर्वीय चिन्तनमा आशिर्वादको ठूलो महत्व छ सामाजिक सद्भाव र समन्वयका लागि । दशैँ यसको ठूलो प्रमाण हो । दशैंमा नारी शक्ति कुमारी/कन्यालाई देवी दुर्गाका रूपमा पूजा गर्ने चलन आदिम कालदेखि नै रहेको छ । हिमालयपुत्रीका रूपमा जन्मिएकी उमा स्वयं धर्तीरूपा मातृशक्ति हुन् । नवरात्रिमा कन्याको पूजा अधिक महत्वको रहेको छ भने अष्टमी र नवमीका दिनमा सर्वाधिक महत्व रहेको छ । कुमारीका प्रमुख नौ स्वरूपमध्ये कुमारी, त्रिमूर्ती, कल्याणी, रोहिणी, काली, चण्डिका, साम्भवी, दुर्गा र सुभद्रा हुन् । स्वरूप फरक भए पनि कार्य एकै देखिने कन्या बालसुलभा हुन् । राजर्षि जनकको संरक्षणमा हुर्केकी कन्या जानकी सीता रासेश्वरी श्रीकृष्णकी बालसखा श्रीराधारानी वृन्दावनका गोपकन्या, देवहुतीपुत्रीका रूपमा धर्ती अवतरित नवधाभक्ति स्वरुपिणी नवदुर्गा स्वयं देवीका अनेकौँ विभूति रूपहरू हुन् । कुमारी पूजामा आदि भौतिक दृृष्टिले २–१० वर्षभित्रकी रजस्वला नभएकी उत्तम कन्यालाई पूजायोग्य मानिएको छ ।

कन्या/कुमारी पूजाबाट कुलदेव इष्टदेव दुर्गासमेत प्रसन्न रही मनोकामना पूरा हुने, सम्पूर्ण आफ्ना कलुषित भावना दूर हुने हुनाले कुमारी पूजाको लागि सर्वप्रथम संकल्प गरिन्छ । गुरुवन्दना, दीपकलश पूजा, गणेशकोे पूजासहित कुमारीको प्रार्थना गर्दै जगतकी माता जगतद्वारा पुजित सर्वशक्तिस्वरुपिणी कुमारीदेवी मेरो पूजा ग्रहण गर भन्दै प्रार्थना गरिन्छ । जल, अघ्र्य, आसन, रक्तवस्त्र, सिंगारका सामान, चन्दन, सिन्दुर, गाजल, फलफूल, धूपबत्ती, नैवेद्य, भेटी, पानमसला अर्पण गरिन्छ । सुरुमा कुमारीको पाउ धोई शिरमा जलमार्जन गरिन्छ । उत्तम वस्त्र, गहना, माला, सौभाग्य आदि उपहार अर्पण गरी विधिविधानले कन्या/कुमारी पूजा गर्नाले जीवनका सबै अनिष्टहरू नाश हुन्छन् । कुमारको पनि पूजा गर्ने चलन भएका स्थानहरूमा कुमारको समेत पूजा गरी उनीहरूबाट टीकाप्रसाद ग्रहण गर्ने विधान रहेको छ । कन्यालाई कुमारी र कौमारी पनि भनिन्छ । स्वामी कुमार कात्तिकेयको शक्तिलाई कौमारी र कन्या/कुमारीलाई योगमायाका रूपमा पनि हेर्ने चलन छ ।

सुकर्म गर्नेका लागि देवीस्वरूपा कन्याले शुभफल दिने र दुष्कर्म गर्नेका लागि उनै देवीले दुर्बुद्धिका रूपमा अन्तरहृदयमा बसी कन्या सामान्य नारी मात्र नभएर लंकाजस्तो शक्तिसम्पन्न ऐश्वर्य र वैभवलाई खरानी पार्ने रावणजस्ता क्रोधीहरूलाई संहारकारी गुण सम्पन्न पनि गर्ने गर्छिन् । माता यशोदाको गर्भबाट बालसुलभा पुत्रीरूपमा जन्मिएर दुष्ट स्वभावको दुराचारी कंशको कालको संकेत गर्ने तिनै कन्या कंशले मार्न लाग्दा दुष्टको हातबाट छुटी आकाशमार्गले धावा बोल्दै सर्वकल्याणका लागि विश्वपुजिता विन्ध्यवासिनीका रूपमा पनि स्थापित बन्न पुग्छिन् ।

कन्यादान र कन्यापूजाले गृहस्थ पिता, दाजुभाइहरू सर्वगुणसम्पन्न सौभाग्यशाली तेजवृद्धिसहितका कल्याणमयी हुन्छन् । मनु महाराजले जहाँ स्त्रीको सम्मान र पूजा हुन्छ त्यहाँ सबै देवताहरू प्रशन्न हुन्छन् भन्नुभएको छ । मनुस्मृतिमा कन्यापूजाको विधान नारीधर्म नारीचरित्रको विशद व्याख्या भएको छ । अभिभावकले गुन्यूचोलो दिएर सर्वप्रथम नै देवीका रूपमा परिवारमा कुलको संरक्षिकाको रूपमा स्थापित देवीस्वरूपा कन्यालाई बिहे गरी कन्यादान गर्दा सम्पूर्ण २१ कुलसम्मका कुलपितृहरू उद्धार हुने बताइएको छ । कन्याको पेवा, दाइजो, धनमा लोभ गर्नु नहुने, बालबालिकाको घात गर्नु नहुने, उनीहरूको इच्छामा आघात पर्न दिन नहुने, गच्छेअनुसार दाइजो सामग्रीहरू दिनुपर्ने, बालशिक्षामा अधिक प्रेरित गर्नुपर्ने, विवाहपछि चाडपर्व विशेषमा निम्ता गरी छोरीबेटीहरूको आत्मसम्मानलाई कदर गर्नुपर्ने अत्यन्त राम्रो चलन पूर्वीय दर्शनलाई सबैले अनुकरण गर्नुपर्ने देखिन्छ । नारी पूज्या हुन्, बन्दनीया हुन्, उनलाई ढोग गर्ने चलन पूर्वीयदर्शनको अनुपम उदाहरण हो । स्त्रीधन, पेवामाथि कसैले पनि लोभ, लालसा गर्नु नहुने गरेमा दोषको भागी हुने, कुनै स्त्रीहरूको मर्यादामा ठेस पुग्न दिन नहुने, स्त्रीहत्या अक्षम्य अपराध हुने पनि पूर्वीय धर्मदर्शनको स्थापित मान्यता र परम्परा हो ।

काली र चण्डिका अनि किल्ला रक्षणका नामले दुर्गाका रूपमा चिनिएकी कन्या महिषमर्दिनीको अर्काे रूप हो । आफूमाथि पत्नीभावले हेरेपछि युद्धको हाँक दिने महिषासुर, उसका सेना चण्ड, मुण्ड, रक्तबीजदेखि शुम्भ, निशुम्भ र धुम्रलोचनसम्म विजय प्राप्त गरी एकछत्र सत्ता सञ्चालन गर्ने देवीलाई घोररूपा, रुद्रायणी, बज्रयोगिनी, दक्षिणकाली, उग्रतारा, शैलेश्वरी, मनकामना, गोरखकाली, ज्वालामुखी, बंगलामुखी, गुह्येश्वरी, शोभाभगवती, भैरवी, भद्रकाली, पञ्चकुमारी, संकटा, महाकालेश्वरी, दन्तकाली आदि नामले पुकारिन्छ ।

देवीदुर्गाको व्याख्या लंकामा रावणका सभास्थलमा शिवरूपी हनुमानले खुलेर गरेका छन् कि नारी भोगसाधनाकी विषय मात्र होइनन् अपितु नारी आवश्यक परेका बखत एकै पटक कालरात्रिका रूपमा रहेर खड्ग पनि उठाउने छिन् भनी हनुमानले गर्जना गरेका छन् । जबजब मानिसलाई आपत्, विपद्, विरह आइलाग्छ तबतब नारी हृदय कालरात्रि, उग्रचण्डी, महागौरीको साधना गरी शक्तिसम्पन्न, शक्तिसञ्चय गर्ने पूर्वीय परम्पराको थालनी सृष्टिको उषाकाल सत्ययुगबाटै आरम्भ भएको हो । हिरण्याक्ष हिरण्यकश्यपुरूपी मानवमा भएको क्रोध, आवेग, तनाव र रावणरूपी लोभमाथि विजय प्राप्त गर्न शक्तिकै उपासना जरुरी छ ।

स्यमन्तकमणिको प्रसङ्गमा कृष्णपिता वासुुदेव, देवकीबाट नवरात्रिको उपासना भई कालीसाधना भएको थियो भने दाशरथि रामले सीताको मिलनका लागि नवरात्रिभर देवी उपासना गरेका थिए । द्वापरयुगमा गुप्तवास बसेका बेला र वनवासका बखत धैर्यधारण गर्नेसक्ने शक्ति देवीबाटै प्राप्त गरेका थिए । गुप्तवासमा युधिष्ठिरले शक्तिसञ्चय गरेको प्रसंग महाभारतको उद्योगपर्वमा व्याख्या भएको छ । संकटबाट मुक्ति दिलाउने आफ्नो किल्ला अर्थात् सीमाना दूर्ग रक्षा गरी शत्रुपीडा हुन नदिने देवीको दुर्गाको स्वाभाव भएकाले गुप्तरूपमा रहेर गोप्यवास गुप्तवास पूरा गर्ने क्षमता प्रदान गर्ने उनै देवीको आद्यगुरु शंकराचार्यले दुर्गा पूजाबारे व्यापक चर्चा गरेका छन् । शंकराचार्यले देवीलाई ललितत्रिपुरासुन्दरीका रूपमा पुज्ने गरेको अनेकौं स्तुतिवन्दना गरेको चर्चा स्तुतिसाहित्यमा यत्रतत्र सर्वत्र पाइन्छ । शंकराचार्यका अनेकौं देवीस्तुतिमध्ये नवरात्रिमा हर घर–घरमा र शक्तिपीठहरूमा ‘देव्यापराधक्षमापनस्तोत्र’ स्तोत्र पाठ गरिन्छ जुन निकै सरल र भावुक मन्त्र देखिन्छ यी मन्त्रहरूले सन्तान कुसन्तान हुन सक्छन् तर देवी स्वरूपा आमा कहिल्यै कुमाता हुन सक्तिनन् भनिएको छ ।

शंकराचार्य मात्र होइन स्वामी रामकृष्ण परमहंश स्वयं नै देवीका उपासक थिए भने नास्तिकका रूपमा देखापरेका नरेन्द्र देवीकै उपासनाबाट स्वामी विवेकानन्दजस्तो परमहंश बन्ने सौभाग्य प्राप्त गरे । स्वामी विवेकानन्दको भव्य शालिक रहेको दक्षिण भारतक्षेत्र कन्याकुमारीक्षेत्रमा उनले आराधना गरिएकी कन्याकुमारीको भव्य र आकर्षक मूर्तिसहितको मन्दिर रहेको छ । जहाँबाट एउटै समुद्रबाट सूर्याेदय र सूर्यास्त हेर्न विश्वका साह्रा मान्छेहरू त्यहाँ जम्मा हुने गर्छन् । त्यसो त भारतका कलकत्तालगायत धेरै ठाउँहरूमा अनेकौं शक्तिपीठहरू रहेका छन् भने पहिलो शक्तिपीठिका नेपालको गुह्येश्वरी हो ।

प्रसिद्ध पशुपतिनाथको नित्यपूजा गर्दा प्रतिकात्मक देवी शक्तिस्वरूपा देवीको श्रीयन्त्रमा पूजा हुने गर्छ । पशुपतिनाथको उत्तरस्वरूप अद्र्धनारीश्वर वामदेवको हो । भोग र सुख यश र कीर्ति, साहस र पराक्रम सबै दिने श्रीदेवीलाई भूदेवी पनि भनिन्छ । अचल सम्पत्ति भूदेवी हो भने चल सम्पत्तिको नाम श्रीदेवी हो । नवरात्रिमा देवीका अनेकौंँ स्तुतिपरक भजन, भक्तिगान, देवीसूक्त, रात्रिसूक्त आदि पाठ पारायण पनि गरिन्छ । मानिसका मनमा हर्ष, श्री र विजयको नामले सर्वत्र स्थापित देवीले मानव अङ्गअङ्गमा रहेर संरक्षण गरेकी हुन्छिन् । हाम्रो मुलुकमा देवीस्थान, शक्तिपीठहरू अनगिन्ती छन् , पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म । राजधानीमा भन्नुपर्दा गुह्येश्वरी, भूवनेश्वरी, दक्षिणकाली, भद्रकाली, नरदेवी, जयवागेश्वरी, नक्सालभगवती, शोभाभगवती, कालिकास्थान आदि धेरै छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie