गञ्जभवानीपुरमा भौतिक संरचना भत्काएर सडक विस्तार हुँदै

वीरगञ्ज, मंसिर १३ 
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटीपी) आयोजनाअन्तर्गत गञ्जभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको छ । सडक विस्तार तथा सुधारका लागि गढीमाई मेलालाई लक्षित गरी सडकको कामलाई तीव्रता दिन र सडक फराकिलो बनाउन भौतिक संरचनाहरू भत्काइएको हो । महागढीमाई नगरपालिकाका वडाध्यक्षहरू चन्दनकुमार साह र उपेन्द्रप्रसाद साहको उपस्थितिमा करिब सयवटा जति घरटहरा स्थानीय प्रहरी प्रशासनको सहयोगमा भत्काइएको छ ।

एसएनआरटीपी आयोजनाअन्तर्गत बारा जिल्लाको कलैयादेखि पूर्व मलाहीसम्म सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सो सडक १६ किलोमिटर निर्माण हुने भएकोले गञ्जभवानीपुर, मलाही र कोपवामा तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम बाँकी रहेको छ । पूर्वाधार विकास कार्यालय पर्साको सम्पर्क एकाइ कार्यालय बाराद्वारा सञ्चालित सो सडकको भौतिक प्रगति ७५ प्रतिशत अर्थात् वित्तीय प्रगति पौने ४४ प्रतिशत पूरा भएको एसएनआरटीपीका सूचना अधिकारी एवं इन्जिनियर दीपक मिश्रले बताए । कलैयादेखि पूर्व गञ्जभवानीपुर, बगडमपुर, गडहल, बसतपुरसम्म कालोपत्रे सडकको निर्माण कार्य शतप्रतिशत पूरा भएको उनले बताए । 

 

गञ्जभवानीपुर, मलाही र कोपवा टोलको बजारक्षेत्रमा करिब साढे तीन किलोमिटरको बाटोमा सामान्य विवाद रहेकाले सो समस्याको समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइएको इन्जिनियर मिश्रले जनाए । २०७३ माघ २३ गते सपनारशिवशक्ति जेभी कन्स्ट्रक्शनले १२ करोड ८१ लाख छ सय ५५ दशमलव ९७ रूपैयाँमा सो सडक २०७५ वैशाख १७ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । 

समयमा सडक निर्माण सम्पन्न नभएपछि पहिलो र दोस्रो म्यादसँगै आउने पुस १५ गते यो आयोजनाको नै म्याद समाप्त भइरहेको इन्जिनियर सञ्जयप्रसाद साहले बताए । उता सो सडक निर्माण गर्न एसएनआरटीपीले १८ फिटभित्र नालासहितको सडक निर्माण गर्ने प्रस्ताव पेश गरे पनि स्थानीय समितिले ३० फिटभित्रमा नालासहितको सडक निर्माण गर्ने सहमति गरेको छ । 

निर्माण हुन लागेको सडकको नक्शाअनुसार सडक निर्माण कार्य नभई समितिका नाता, गोता तथा सडकमा पर्ने आफन्तको घरका ठाउँमा काखापाखा हुने गरेका कारण सडक निर्माण कार्यमा ढिलाइ हुन पुगेको त्यसमा कार्यरत प्राविधिक, कर्मचारीहरूसँगै स्थानीय मोहित साह कानुले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस